पञ्चपुरीमा ‘ब्रेक–थु्र’ परियोजना लागू

जगतदल जनाला बिक
पञ्चपुरी, ३ भदौ ।
सुर्खेतको पञ्चपुरी नगरपालिकामा आइतवारदेखि ‘ब्रेक–थ्रु’ एक्सन परियोजना लागू गरिएको छ । यूएसएआईडीको आर्थिक तथा प्राविधिक सहयोगमा जोन हप्पिस युनिभर्सिटी सेन्टर फर कम्युनिकेसन (जेएचयु सिएफसी)द्वारा परियोजना सञ्चालन गरिएको हो ।
परियोजनाको शुभारम्भ गर्दै पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले परियोजनाले नागरिकको बानी व्यवहारमा रूपान्तरण ल्याउने बताए । बावियाचौरमा भएको परियोजना शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले चेतनाको हिसाबमा पछि परेको समुदायलाई यो परियोजनाले थप सहयोग पु¥याइ चेतनशील बनाउने बताए । उनले पैसा मात्रै ठूलो नभएको बताउँदै यस्ता सामाजिक रूपान्तरण जस्ता कार्यक्रमलाई नगरले समन्वय गरी प्राथमिकता दिएको बताए ।
‘हामीले पूर्वाधार विकास सहित समाज रूपान्तरणको अभियाननमा समेत लागेका छौं’ उनले भने, ‘समृद्ध नगर बनाउन समाजको चौतर्फी विकास हुन जरुरी छ ।’ उनले परियोजनाले चाहेको जस्तो परिणाम दिन नगरले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । प्रमुख थापाले नगरपालिकाले नगरको बृहत्तर हितका लागि आउने सबैसँग सहकार्य गर्न आफूहरू तयार रहेको बताए । परियोजना अन्तर्गत स्वास्थ्य विकासका लागि संस्थागत विकास गर्ने, तिनै तहका सरकारसँग समन्वय गर्ने र सामाजिक व्यवहारको क्षेत्रमा काम गर्ने यूएसएआईडीकी प्रशासन प्रबन्धक विज्ञ यमुना शर्माले जानकारी दिइन् । उनका अनुसार यो परियोजनाले कर्णालीका चार वटा स्थानीय तहमा काम गर्नेछ । सामाजिक व्यवहार परिवर्तनद्वारा स्वास्थ्य प्रणाली सुधारमा सहयोग गर्ने उद्देश्यले कर्णाली प्रदेशको जुम्ला र सुर्खेतमा सञ्चालन हुने परियोजनका कार्यक्रम विशेषज्ञ थानेश्वर कोइरालाले बताए । उनका अनुसार यो परियोजना सुर्खेतको बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकामा आगामी २० महिनासम्म लागू गरिनेछ । परियोजनाले जोखिममा रहेका महिलाहरू तथा घरपरिवारका मातृ तथा नवजात शिशु स्वास्थ्य, किशोरावस्थाको स्वास्थ्य, पोषण र परिवार नियोजन सम्वन्धी आवश्यकतालाई सम्बोधन गर्न सामाजिक तथा व्यवहार परिवर्तन सञ्चार प्रणालीलाई सुदृढ गर्ने अपेक्षा गरिएको छ । कार्यक्रममा कर्णाली स्वास्थ्य निर्देशनालयका विनोद आचार्य, चेतनिधी वाग्ले, जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका सूचना अधिकारी बसन्तमान श्रेष्ठ, नगर उपप्रमुख, वडाअध्यक्षहरू लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   ४ भाद्र २०७५, सोमबार १५:४०