उत्पादन बढ्यो, आयात घट्यो

साझा बिसौनी संवाददाता
सुर्खेत, २ भदौं ।
पञ्चपुरी नगरपालिकास्थित बरैचे निवासी हरिकला अधिकारीले हिजोआज धानको साटो पिडालु खेती सुरु गरेकी छन् । कुनैबेला घरायसी प्रयोगका लागि मात्र पिडालु खेती गर्दै आएकी उनले पछिल्लो समय व्यवसायिक रूपमा नै यसको उत्पादनमा लागेकी हुन् । नजिकै हाट बजार लाग्ने र बिक्री गर्न कुनै समस्या नभएपछि उनले धान खेती हुने बारीमा अहिले पिडालुको खेती गर्न थालेको बताइन् ।


सालकोटका किसान धनीराम सापकोटा हरेक शनिवार बावियाचौरमा लाग्ने हाट बजारमा पुग्छन् । उनले यसरी नै बारीमा उत्पादन भएको टमाटर र खुर्सानी हाट बजारमा बिक्री गर्न थालेको तीन वर्ष भयो । पहिला बिक्री नहुने समस्याले उत्पादन खेर जाने गरेको सुनाउँदै उनले अचेल हाट बजारमा बिक्री गर्न समस्या नभएको बताए । हाट बजारमा ल्याएको दुई घण्टामा नै बिक्री हुने र भनेको मूल्य पाइने गरेको उनले सुनाए ।
पञ्चपुरी नगरपालिकाको बावियाचौरमा हरेक शनिवार लाग्ने हाट बजारका कारण पश्चिम सुर्खेतका किसानहरूलाई आफ्ना उत्पादनहरू बिक्री गर्न सहज भएको छ । त्यतिमात्र होइन, कृषि उत्पादनहरू साटासाट गर्ने गतिलो माध्यम पनि हाट बजार बनेको हो । यो हाट बजारमा हरेक शनिवार उत्पादन बिक्री गर्ने किसान र खरिद गर्ने सर्वसाधारणहरूको भीड नै लाग्दछ । हाट बजारमा खसीबोकादेखि सिन्कीसम्म बिक्रीका लागि ल्याउने गरिएको छ । किसानले बारीमा उत्पादन गरेका तरकारी र फलफूल मात्र होइन, बजारमा पाइने खाद्यान्न र दैनिक उपभोग्य सामानहरू पनि हाट बजारमा उपलब्ध हुन्छन् । यसले किसान र खरिदकर्तालाई निकट बनाएको छ भने दैनिक उपभोग्य वस्तुहरूको उपलब्धताले सस्तो मूल्यमा सामान पाउने गरेका हुन् ।
हाट बजारमै खसी खरिदका लागि पुगेका बराहताल–५ का नरेन्द्र खड्काले भने, ‘यो हाट बजारले हामीलाई सजिलो भएको छ, हामी किसानका घरघरमा पुग्नुपर्ने बाध्यता छैन । किसानले खसीबोका यहाँ ल्याउँछन्, हामी मोलमोलाई गरेर खरिद गर्छन् ।’ उनले हाट बजारबाट खरिद गरिएका खसीबोका पोखरा र काठमाण्डौसम्म लगेर बिक्री गर्ने गरेको बताए । व्यापारीहरू हाट बजारमा नै पुग्ने भएपछि किसानहरूलाई पनि बिक्री नहुने चिन्ता हराएको छ । बरु चाहेकै मूल्यमा नजिकै रहेको हाट बजारमा बिक्री हुन थालेपछि यस क्षेत्रका किसानहरू उत्पादन बढाउनेतर्फ लागेका छन् । डोकोमा हरियो तरकारी बोकेर हाट बजारमा आएकी चन्द्रा रावतले भनिन्,‘पहिला त बारीमा आफूलाई खान मात्र खेती गर्दथ्यौं, बिक्री गर्ने ठाउँ थिएन । अहिले त हाट बजारमै ल्याएर तरकारी बिक्री गर्छौं, घरमा चाहिने सामान किनेर घर जान्छौं ।’
यो हाट बजारमा किसानले उत्पादन गरेका तरकारी, फलफुल, जडीबुटी र पशुपंक्षी बिक्रीका लागि ल्याउने गरिन्छ । सबै उपभोग्य सामानहरू एकै स्थानमा पाउने भएकाले पनि स्थानीय बासिन्दा हाट बजार लाग्ने दिन शनिवार यहाँ पुगेर सामान खरिद गर्दै आएका हुन् । हाट बजार सञ्चालनमा आएपछि स्थानीय किसानले हिजोआज आफ्नो उत्पादन बढाएका छन् । विगतमा गुजराका लागि मात्र उत्पादन गर्दै आएका किसानले अहिले व्यवसायिक रूपमा नै उत्पादन गर्न थालेका हुन् । यसले बजारको माग पूर्णरूपमा धानेको छ भने, बाहिरबाट भित्रिने आयात पनि घटेको छ । बरु हाट बजारमा सस्तो मूल्यमा उपलब्ध हुने भएपछि व्यापारीहरूले खरिद गरेर बाहिर निर्यात गर्ने गरेका छन् । हाट बजारले किसानलाई सहज भएपछि स्थानीय बासिन्दाको आम्दानीमा पनि वृद्धि भएको छ ।
हाट बजारका कारण किसानको आयस्तरमा समेत वृद्धि भएपछि पञ्चपुरी नगरपालिकाले यसलाई थप व्यवस्थित बनाउने तयारी गरेको छ । हाल साताको शनिवार एकदिन मात्र सञ्चालन हुँदै आएको हाट बजारलाई अब हप्ताको दुईदिन बनाइने नगरपालिकाले जनाएको छ । नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापाले भने, ‘हाट बजारले स्थानीय उत्पादनमा वृद्धि भएको छ, बाहिरबाट आयात हुनै छोडेको छ । अब हामी हप्ताको दुई दिन हाट बजार सञ्चालन गर्ने योजनामा छौं, एक दिनले मात्र अपुग भयो ।’ किसानको आय–आर्जन बढाउन आफूहरूले थप कार्यक्रम सञ्चालन गर्न लागेको भन्दै उनले हाट बजारलाई व्यवस्थित बनाउने सकेमा स्थानीय उत्पादनको वृद्धि हुने र बिक्री वितरणमा पनि किसानलाई कुनै समस्या नहुने उनको भनाइ छ ।

प्रकाशित मितिः   ३ भाद्र २०७५, आईतवार १५:२४