पच्चीस घर पहिरोको जोखिममा

साझा बिसौनी संवाददाता
दैलेख, २ भदौ ।
दैलेखको नारायण नगरपालिका १ स्थित सिन्की गाजुलका २५ घर पहिरोको उच्च जोखिममा परेका छन् । गत वर्षको वर्षातसँगै आएको पहिरोले सिन्की गाजुलका तीन जना परिवारका सदस्यले ज्यान गुमाए । यो वर्ष पनि त्यही घर पुनः जोखिममा छ । बाँचेका परिवार विगत एक महिनादेखि आफन्तको घरमा शरण लिन पुगेका छन् ।
सानो टहरा र टिनको छाना राखेर निर्माण गरिएका एकतले बस्तीमा वादी समुदायका ५५ घर छन् । जग्गा नै भिरालो भएका कारण हरेक वर्ष बस्ती पहिरोको जोखिममा पर्ने गरेको छ । नमूना बस्तीमा यो वर्षको वर्षातसँगै २५ घर जोखिममा रहेका छन् । लगातारको वर्षातले घरभन्दा माथिबाट पहिरो आएपछि बस्ती जोखिममा परेको हो । वर्षापछि आएको पहिरो कारण समुदायका सबै चिन्तित भएको पवा वादीले बताइन् । उनका अनुसार पहिरो जोखिम बढेसँगै १५ भन्दा बढी परिवारले घर खाली गरेर अन्यत्र गरेका छन् । विगत तीन वर्षदेखि हरेक वर्षातमा पहिरोको चपेटामा पर्दै आएको यो समुदायको लागि अझै दिगो व्यवस्थापन हुन सकेको छैन् । जिल्ला प्रशासन, जिल्ला प्रहरी र नारायण नगरपालिकाले विभिन्न पहल थालेको भए पनि उचित स्थानको अभाव भएका कारण बस्ती अन्यत्र सार्न समस्या भएको नारायण नगरपालिका–१ का वडा अध्यक्ष तीर्थनारायण श्रेष्ठले बताए ।
वर्षातका बेला पाल प्रदान गर्दै आएका छौं । पालले मात्र समस्या समाधान नहुने भएकोले जग्गा भएका र स्थायी रूपमा पूर्जा पाएकाहरूलाई आ–आफ्नो स्थानमा स्थान्तरण गराउने र बाँकी पूर्जाविहीनहरूलाई उचित बासस्थानको व्यवस्थापनको तयारीमा नारायण नगरपालिका रहेको वडा अध्यक्ष श्रेष्ठले बताए । विभिन्न ठाउँमा पहिरो वर्षातले दैलेख सदरमुकामको गणेशचौकमा रहेको अजित श्रेष्ठको घर भत्किएको छ । घरमा पसल गर्दै आएकी ममता श्रेष्ठको सामान स्थानीय बासिन्दाहरूको पहलमा उद्दार गरिएको छ भने पसलमा करिव पाँच लाख बराबरको क्षति भएको बताइएको छ । नारायण नगरपाकिला १ मा रहेको तारा थापाको घर पूरै भत्किएको छ । घरभित्रका सबै सामानहरू पुरिएका छन् । घरमा कोही व्यक्ति नभएकोले मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । लगातारको वर्षातसँगै दैलेखका विभिन्न स्थानहरूमा पहिरो खसेपछि यातायातका साधानहरू समेत अवरुद्ध भएका छन् ।
कर्णाली राजमार्गका विभिन्न स्थानहरूमा पहिरो खसेका कारण घण्टौँसम्म सडक अवरुद्ध हुँदैरखुल्दै गरेका छन ्। दैलेख सदरमुकाम हुँदै महावु जाने सडक, दैलेख सदरमुकाम हुँदै भगवतीमाई गाउँपालिका जाने मध्यपहाडी राजमार्ग अन्तर्गतको सडक र दैलेख सदरमुकाम हुँदै नौमूले जाने सडकसमेत अवरुद्ध भएको छ ।

प्रकाशित मितिः   ३ भाद्र २०७५, आईतवार १५:२१