‘सरकार र गैससबीच साझेदारी आवश्यक’

साझा बिसौनी संवाददाता
सुर्खेत, १ भदौ ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले सरकार र गैरसरकारी संघ–संस्था (गैसस)बीच साझेदारी हुनुपर्नेमा जोड दिएका छन् । सुन्दर नेपाल संस्थाको २२औं वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि रावलले कर्णाली प्रदेशका सबै सूचकहरू अत्यन्तै नाजुक अवस्थामा रहेकोले सरकार र गैरसरकारी निकाय मिलेर सुधार गर्नुपर्नेमा जोड दिए । उनले केही गैरसरकारी संस्थाहरूले आफ्नो सीमित उद्देश्य पूरा गर्नका लागि समुदायहरूको माग भन्दा फरक ढङ्गबाट कार्यक्रम गरेको भन्दै उनले सरकारसँग समन्वय गरेर मात्र काम गर्न आग्रह गरे । उनले कर्णाली प्रदेशलाई अब समृद्ध प्रदेश बनाउनका लागि सरकारको तर्फबाट ५ वर्षभित्रमा सूचक तयार गर्ने साथै सोही अनुरूप गैरसरकारी संस्थाहरूले पनि आफ्ना कार्यक्रमहरू पारदर्शी ढङ्गमा सञ्चालन गर्नुपर्ने बताए ।
कार्यक्रमका विशेष अतिथि वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकालले अन्य विकासहरू सरह समाज रूपान्तरणसहित सामाजिक विकासहरूको पनि आवश्यकता रहेको औंल्याइन् । ढकालले विकासदेखि लिएर समाज रूपान्तरण कार्य आफैमा चुनौती भएको हुनाले राष्ट्रले लिएको समृद्ध विकासका कार्यहरूमा सबैको सहयोग अत्यन्तै जरुरी रहेको बताइन् ।
संस्थाका अध्यक्ष हेमप्रकाश भुषालको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव पूर्णा सापकोटाले आर्थिक वर्ष २०७४/२०७५ को प्रगति प्रतिवेदन पेश गर्दै संस्थाले समाजमा पिछडिएका वर्गहरूको जीवनस्तरमाथि उठाउन समाजमै बसेर समूह पद्धतिद्वारा ज्ञान, सीप, क्षमताको अभिवृद्धि गरी सामुदायिक विकास कार्यमा जनसहभागितामूलक कार्यक्रम गर्दै आइरहको बताइन् । हाल संस्थाले सुर्खेत, जाजरकोट र दैलेख जिल्लामा रही कृषि, स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन प्रवद्र्धन कार्यक्रम (पहल), अनुकूलन, ग्रामीण खानेपानी तथा सरसफाइ सुधार, नागरिक समाज, पारस्परिक जवाफदेहिता, साझेदारी विकास, दिगो स्वास्थ्य तथा पूर्ण सरसफाई, गरिबी निवारण लगायत १४ वटा परियोजना सञ्चालन गर्दै आइरहेको उनले जानकारी दिइन् ।
यसैगरी संस्थाकी कोषाध्यक्ष माया सापकोटा लामिछानेले आर्थिक वर्ष २०७४/२०७५ को कुल ७ करोड २९ लाख ४१ हजार १ सय २८ रूपैयाँ र चालु आर्थिक वर्ष २०७५÷०७६ को कुल ११ करोड २६ लाख ३८ हजार ८ सय ७१ रूपैयाँ बराबरको अनुमानित आय–व्यय प्रस्तुत गरेकी थिइन् । सो कार्यक्रममा जिल्ला समन्वय अधिकारी दुर्गाप्रसाद चालिसे, सिम्ता गाउँपालिकका उपाध्यक्ष चन्द्रकला शाही, नेपाली कांग्रेस सुर्खेतका कोषाध्यक्ष अनन्त पौडेल, संस्थाका प्रमुख सल्लाहकार बुद्धिप्रसाद सापकोटा, गरिबी निवारण कोषका केशवराज ढुङ्गेल लगायतको सहभागिता रहेको थियो ।
सोही अवसरमा शिक्षा क्षेत्रमा अतुलनीय कार्य गर्दै आइरहेको भन्दै जनज्योति माध्यमिक विद्यालय बड्डिचौरका प्रधानाध्यापक नारायण प्रसाद सिग्देल, २०७४÷०७५ मा संस्थामा रही राम्रो कार्य सम्पादन गर्ने पुरुषतर्फ अनुकूलन परियोजनाका कृषि प्राविधिक विमल कोइराला, महिलातर्फ कृषि तथा खाद्य आयोजनाकी कृषि प्राविधिक तुल्सा गुरुङ्ग र सांगितीक क्षेत्रमा लामो समयदेखि आवद्ध भइ योगदान पु¥याउने दिनेश गौतमलाई दोसल्लासहित प्रशंसा–पत्रद्वारा सम्मानित गरिएको थियो ।
साथै शुक्रवार सम्पन्न संस्थाको २२ औं चुनावी साधारणसभामा हेमप्रकाश भुषालकै अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति चयन भएको छ । जसको उपाध्यक्षमा पूर्णा सापकोटा, सचिवमा हिरामणि पौडेल, सह–सचिवमा प्रेमराज पाठक, कोषाध्यक्षमा माया सापकोटा लामिछानेका साथै सदस्यहरूमा द्रोपता सुनार र मोहन सिं रानामगर सर्वसम्मत् चयन भएका छन् ।

प्रकाशित मितिः   २ भाद्र २०७५, शनिबार १५:१५