राज्यले अन्याय गरेको गुनासो

साझा बिसौनी संवाददाता
सुर्खेत, ३१ साउन ।
सरकारले आफूहरूमाथि अन्याय गरेको गुनासो गर्दै विद्यालय कर्मचारीहरूले वीरेन्द्रनगर नगरपालिकालाई ध्यानाकर्षण गराएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद् वीरेन्द्रनगर नगरकार्य समिति सुर्खेतले विभिन्न नौं बुँदे मागसहित वीरेन्द्रनगर नगरपालिकालाई ध्यानाकर्षणपत्र बुझाएको छ ।
राज्यले अनुदानमा तलव भत्ता पाउँदै आएका विद्यालयका कर्मचारीलाई बेवास्ता गरेकाले ध्यानाकर्षण गराइएको समितिका अध्यक्ष देवकुमार वलीले जानकारी दिए । नगर शिक्षा, ऐन, नियमावली तयार गर्दा नेपाल विद्यालय कर्मचारी परिषद्को समेत प्रतिनिधित्व हुनुपर्ने माग परिषद्ले अघि सारेको छ ।
सम्पूर्ण सामुदायिक विद्यालयमा प्रचलित शिक्षा ऐन अनुसार दरबन्दी सिर्जना गर्नुपर्ने, कार्यरत कर्मचारीलाई विद्यालय सहयोग समिति वा विद्यालय व्यवस्थापन समिति तथा प्रधानाध्यापकले दिएको नियुक्तलाई अनुमोदन गर्दै दरबन्दीमा समायोजन गर्न सरकारसँग
माग गरिएको छ । त्यस्तै, विद्यालयमा कार्यरत कर्मचारीलाई तहगत रूपमा निर्धारण गरी निजामती कर्मचारी वा शिक्षक सो सरह समायोजन गर्नुपर्ने, विद्यालय समायोज गर्दा शिक्षक सरह विद्यालय कर्मचारीलाई पनि समायोजन गर्नुपर्ने, कर्मचारीलाई नियमानुसार बढुवाको व्यवस्था गरिनुपर्ने लगाएतका माग राख्दै ध्यानाकर्षण पत्र बुझाएको छ । समितिले बिहीवारै नगरशिक्षा शाखामा समेत उक्त ध्यानाकर्षण पत्र बुझाएको छ ।

प्रकाशित मितिः   १ भाद्र २०७५, शुक्रबार १३:४९