माग पूरा नभएपछि तालाबन्दी

साझा बिसौनी संवाददाता
पञ्चपुरी, ३१ साउन ।
आफ्ना माग पूरा नभएपछि विद्यापुर जनता बहुमुखी क्याम्पसमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् । मध्यपश्चिमाञ्ल विश्वविद्यालले विद्यापुर जनता बहुमुखी क्याम्पसलाई आङ्गिक क्याम्पसको मान्यता दिने भएपछि क्याम्पस व्यवस्थापन समितिले गरेको निर्णयका विरुद्ध विद्यार्थी संगठनहरू आन्दोलित बनेका थिए ।
साउन ९ गते अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र अनेरास्ववियु क्रान्तिकारी विद्यापुरले मनोमानी रूपमा नियम मिचेर गरिएका नियुक्ती खारेज गरिनुपर्ने लगायतका माग क्याम्पस समक्ष राखेका थिए । यस्तै विभिन्न विद्यार्थी संगठनहरूले प्रेस विज्ञप्तीमार्फत् तीन दिने अल्टिमेटम दिइ ध्यानाकर्षण समेत गराएका थिए । आफूहरूको अल्टिमेटमलाई बेवास्ता गरी मागहरू सम्बोधनमा क्याम्पस प्रशासनले कुनै चासो नदेखाको भन्दै विद्यार्थीले तालाबन्दी गरेका हुन् ।
अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), अखिल क्रान्तिकारी (विप्लप निकट), अनेरास्ववियु छैठौं, नेपाल क्रान्तिकारी विद्यार्थी संघ र अनेरास्वावियु पाँचौंले आंगिक क्याम्पस समायोजनको पूर्वसन्ध्यामा क्याम्पसमा ताला लगाएका छन् । तालाबन्दीपछिको प्रेस विज्ञप्तीमा सुर्खेतको पश्चिम क्षेत्रमा शिक्षाको विशिष्ट पहिचान बोकेको विद्यापुर जनता बहुमुखी क्याम्पसमा राजनीतिकरण गर्न थालिएकाले त्यसका विरुद्ध आफूहरूको कदम भएको जनाइएको छ । संयुक्त विद्यार्थी संगठनले बारम्बार ध्यानाकर्षण गराउँदा गराउँदै पनि राजनैतिक पूर्वाग्रही ढंगले क्याम्पस नियमावलीको ठाडो उलंघन गरिएको आरोप संगठनहरूले लगाएका छन् । क्याम्पस समायोजन प्रक्रिया र कर्मचारी प्राध्यापकको नियुक्ति प्रक्रियाका सन्दर्भमा नियम विपरित कार्य भइरहेकाले त्यसलाई रोक्न र विधिसम्मत काम गर्नुपर्ने माग उनीहरूको छ । विद्यार्थी संगठनहरूले क्याम्पसको विधानलाई मनोमानी ढङ्गले संशोधन गरी नियमावली विपरित विज्ञापन बिना नै नियुक्ति गरिएका कर्मचारी र प्राध्यापकहरूलाई तत्काल खारेज गर्न माग गरेका छन् ।
यसैगरी मावि र निमाविमा पूर्णकालीन अस्थायी दरबन्दीमा कार्यरत शिक्षकहरूको राजिनामा अगावै क्याम्पसले पूर्णकालीन अस्थायी नियुक्ति दिएका प्राध्यापकहरूको नियुक्ति बदर गर्न समेत माग गरिएको छ । विद्यार्थीले प्रेस विज्ञप्तीमार्फत् क्याम्पसको नियमावली बमोजिम उमेरको हदबन्दी नाघेका र योग्यता नपुगेका प्राध्यापकहरूको नियुक्ति तत्काल खारेज गर्नुका साथै मप विश्वविद्यालयबाट पठाइएको अनुगमन समितिको मिलोमतोमा पटक पटक गरिएको प्राध्यापक र कर्मचारीको नियुक्ति तत्काल खारेज गर्न समेत माग गरेको छ । आफुहरूका न्यायपुर्ण र जायज मागहरू प्रति अझै बेवास्ता गरे कडारूपमा चरणवद्ध रूपमा आन्दोलनहरू अगाडि बढाइने विद्यार्थी संघर्ष समितिका अध्यक्ष जगतराज ढकालले बताए ।

प्रकाशित मितिः   १ भाद्र २०७५, शुक्रबार १३:४९