सल्लाहकार समितिको बैठक

सुर्खेत, ३१ साउन । (साबिस)
भेरीगंगा नगरपालिकामा सञ्चालित सोलार मुस परियोजनाको सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ । सुन्दर नेपाल संस्थाले सञ्चालन गरेको दोस्रो चरणको यो परियोजना सम्पन्न भएपछि समितिको बैठक बिहीवार सम्पन्न भएको हो । परियोजना सम्पन्न भएसँगै भेरीगंगाको लेखपराजुलका बासिन्दा लाभान्वित भएको बैठकले निश्कर्ष निकालेको छ ।
यो परियोजना अन्तर्गत सोलारको प्रयोग गरेर पम्पिङ प्रविधिमार्फत् स्थानीयलाई खानेपानी उपलब्ध गराइएको छ । जसबाट लेखपराजुलस्थित देवस्थल र ठूलो भ¥याङमा खानेपानीको सुविधा उपलब्ध गराइएको छ । करिब साढे तीन सय मिटर अग्लो स्थानमा पानी पम्पिङ गरेर लगिएको हो । योसँगै स्थानीयले वर्षौंपछि आगनमै खानेपानी र सिँचाइ सुविधा पाएका हुन् । विभिन्न दातृ निकाय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र स्थानीयको श्रमदानबाट खानेपानी आयोजना सम्पन्न भएको हो ।
प्राविधिकहरूले आयोजनाको स्थलगत अध्ययन गरेको प्रतिवेदन सल्लाहकार समितिको बैठकमा प्रस्तुत गरेका थिए । नगरपालिकाका मेयर भुपेन्द्रबहादुर चन्दको अध्यक्षतामा सम्पन्न बैठकले अब उक्त परियोजना सम्पन्न भए पनि स्थानीयले आयोजनाको संरक्षण गर्ने निर्णय गरेको छ । यस्तै मेयर चन्दले अब नगरपालिकाले आवश्यक बजेट उपलब्ध गराएर आयोजनाको दीर्घकालीन संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता जनाए । यस्तै उपमेयर रेणु आचार्यले परियोजनाबाट स्थानीयले खानेपानीको सुविधा पाएको भन्दै स्थानीयको श्रमदान र लगावको प्रशंसा गरिन् ।
विभिन्न वडाका अध्यक्ष, खानेपानी आयोजना उपभोक्ता समितिका पदाधिकारी र सरोकारवालाहरूको बैठकमा सहभागिता थियो । सो अवसरमा सुन्दर नेपाल संस्थाका कार्यकारी निर्देशक भुपेन्द्र कँडेलले परियोजना सम्पन्न गर्न स्थानीयले सक्रिय सहयोग गरेको बताए । साथै उनले अब लेखपराजुलमै तेस्रो चरणको परियोजना संचालन गर्ने योजना रहेको सुनाए । सोलार मुस परिेयोजना सम्पन्न भएसँगै लेखपराजुलमा खानेपानीको समस्या टरेको र सिचाइँको सुविधा समेत उपलब्ध भएको उनले जानकारी दिए । बैठकमा सरोकारवालाहरूले अब आयोजनाको संरक्षणमा ध्यान दिन आग्रह गरे ।

प्रकाशित मितिः   १ भाद्र २०७५, शुक्रबार १३:४८