बाल संरक्षण केन्द्रलाई सहयोग

साझा बिसौनी संवाददाता
सुर्खेत, ३० साउन ।
वीरेन्द्रनगर १० मा रहेको नवजीवन बाल संरक्षण केन्द्रका बालबालिकाहरूका लागि खाद्यन्न सहयोग गरिएको छ । सुर्खेत बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर–६ सुर्खेतले आफ्नो १७औं स्थापना दिवसको अवसरमा केन्द्रमा रहेका बालबालिकाहरूका लागि खाद्यान्न वितरण गरेको हो ।
सहकारी संस्थाका उपाध्यक्ष पूर्णबहादुर नेपालीले सडकमा रहेका बालबालिकाहरूलाई विना शर्त यसरी संस्थागत रूपमा पालन–पोषण गर्ने कार्य आफैमा चुनौतीपूर्ण रहेको हुँदा केन्द्रलाई सहकारीले सहयोग स्वरूप खाद्यन्न वितरण गरेको बताए । राज्यले गर्नुपर्ने कार्य कुनै व्यक्ति र स्थानीयहरूले गरेकोमा खुशी व्यक्त गर्दै उनले बालबालिकाहरूका लागि भेदभाव रहित जनचेतना जगाउन पनि आवश्यक रहेको बताए । उनले समाजमा अरु पनि अनाथ र बेसाहारा बालबालिका रहेको भन्दै उनीहरूको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने बताए ।
कार्यक्रमका बोल्दै नेपालीले २०५८ सालमा स्थापना गरिएको सुर्खेत बहुउद्देश्यीय सहकारी संस्थाले बचत संकलन गरी कर्जा लगानी गर्ने कार्य मात्र नभइ सामाजमा रहेका बृद्ध–बृद्धा, बाल–बालिका सहित असाहय व्यक्तिहरूलाई विभिन्न सहयोग गर्ने गरेको जानकारी पनि दिए । स्वास्थ्य, सरसफाई, वातावरण संरक्षणका विभिन्न जनचेतना मूलक कार्यक्रमहरू गर्दे आईरहेको समेत बताए ।
यसैगरी कार्यक्रमका प्रमुख अतिथि एवम् नवजीवन बाल संरक्षण केन्द्रका अध्यक्ष गोकुल गुरुंगले केन्द्रमा धेरै व्यक्ति, संघ–संस्थाले नगदी, लत्ता–कपडा, खाधान्न, मौसमी तरकारी जस्ता सामग्रीहरू दिएर सहयोग गरेकाले नै आफूहरूलाई केन्द्र सञ्चालन गर्न सजिलो भएको बताए ।
केन्द्रले अहिले ३८ जना बालबालिकालाई संरक्षण दिइरहेको छ । सहकारीले एक सय केजी चामल, ४० केजी दाल, २० लिटर तेल, २ पेटी चाउचाउ र एक पेटी बिस्कुट वितरण गरेको सहकारीका शिक्षा उपसमितिका संयोजक मिलन श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मितिः   ३१ श्रावण २०७५, बिहीबार १३:४३