अझैं ओत लाग्न पाएनन् विस्थापित

साझा बिसौनी संवाददाता
सुर्खेत, २९ साउन ।
वीरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रमा त्रिपालमुनी बस्दै आएकी लक्ष्मी कामीको व्यथा उस्तै छ । चार वर्षअघि साउन २८ गते रातीको बाढीका कारण घरबारविहीन बनेकी उनी अहिले पनि च्यातिएको त्रिपालमुनी रात काट्न बाध्य छन् । पुनस्र्थापनाको आशमा चार वर्षदेखि उनको परिवारले यही त्रिपालमुनी कष्टकर जीवन विताइरहेको छ ।


मध्यरातमा भेरीमा आएको बाढीले तातापानीमा सुर्जा नेपालीको घरखेत सबै बग्यो । बल्लबल्ल ज्यान जोगाएको उनको परिवारले बावियाचौरमा रहेको जंगलमा चार वर्षदेखि छानामुनी बस्ने सपना बुनिरहेको छ । तर त्रिपालमुनी बस्दै आएको यो सुर्जाको परिवारले बुनिरहेको यही सपना वर्षातको पानी र हिँउदको शितले भिजाउने गरेको छ । थातथलोबाट विस्थापित भएको चार वर्ष बित्दा पनि यो परिवारले पनि घरको छानामुनी ओत लाग्न पाएको छैन । सरकारले पुनस्र्थापनाको प्रक्रिया अगाडि नबढाउँदा यो परिवारको छानामुनी बस्ने सपना अधुरै रहेको हो ।
गिरीघाटस्थित विस्थापित शिविरमा बस्दै आएका पहलमान पुन कयौं रात निदाउन सकेनन् । छाक काटेर जोडेको घरबारी भेरीमा आएको बाढीले बगायो । बुढेशकालमा जंगलमा त्रिपालमुनी रात काट्नु पर्दा उनलाई देशमा राज्य नभएको अनुभूति भइरहेको छ । उनी भन्छन्, ‘हामी विस्थापित भएको चार वर्ष बिते, आजसम्म हाम्रो पुनस्र्थापना हुन सकेन, राज्यले हामीलाई सौतेनी व्यवहार ग¥यो ।’ बाढीका कारण जिल्लाभर करिब नौ सय परिवार विस्थापित भएका थिए । तर हालसम्म पनि उनीहरूको पुनस्र्थापना नहुँदा अधिकांश परिवार त्रिपालमुनी कस्टकर जीवन बिताउन बाध्य छन् । पुनस्र्थापनाको आशमा गिट्टी कुटेर शिविरमा बस्दै आएका विस्थापितहरूले अहिले पनि छानामुनी ओत लाग्ने आशा भने मारेका छैनन् ।
गर्भवती र सुत्केरीको विजोग
विस्थापित शिविरमा बस्दै आएकी निर्मला नेपाली सुत्केरी भएको तीन साता मात्र भयो । नियमित स्वास्थ्य जाँच गराए पनि आर्थिक अभावका कारण उनले पोषिलो खानेकुरा पाउन सकेकी छैनन् । साउने झरीले त्रिपाल चुहीँदा उनलाई आफ्नो र बच्चाको शरिर पानीबाट जोगाउन मुस्किल हुने गरेको छ ।
त्रिपालकै बासमा आमा बनेकी निर्मलाले पोषणयुक्त खानेकुरा त परै जाओस्, छाक नै कसरी टार्ने भन्ने समस्याले थलिएकी छन् । त्रिपालमुनी रात काट्नपर्ने बाध्यताले चिसोका कारण उनी बिरामी परेकी छन् । शिविरमा पर्याप्त स्याहार नपाउँदा बच्चाको स्वास्थ्यमा पनि समस्या
छ । ‘खुट्टा सुनिएका छन्, नियमित टाउँको दुखेको छ’ उनले भनिन्, ‘बच्चालाई पनि खोकी र ज्वरोले सताएको छ, यस्तो बेलामा पनि घरभित्र बस्न पाएनौं ।’
निर्मला मात्रै होइनन्, शिविरमा बसेदेखि सुत्केरी भएका महिलाहरूमा विभिन्न रोगको समस्या देखिएको छ । वर्षा सुरु भएसँगै बाढीपीडित शिविरमा सुत्केरीलाई सास्ती भएको हो । शिविरका सुत्केरी महिलाहरूले आर्थिक अभावका कारण औषधि उपचारसमेत गर्न पाएका छैनन् । ‘हाम्रो शिविरमा चार वर्षमा आठ जना बालबालिका जन्मेका छन्’ शिविरमा बस्दै आएकी बिमला दमाईले भनिन्, ‘यो त्रिपालमा बेहाल भयो, गर्भवती र सुत्केरीको विजोग नै छ ।’
ऋणले थला परे विस्थापित
वीरेन्द्रनगरमा कर्कट पाताले छाएको तीन कोठे घर थियो वीरबहादुर नेपालीको । उनले सस्तोमा जग्गा पाएपछि ऋण तानेर ओत लाग्ने घर बनाएका थिए । बल्लतल्ल जोडेको त्यही घर बाढीमा बग्यो, उनको परिवार त्रिपालको शरणमा पुग्यो । घर बनाउँदा लागेको ऋण ज्याला मजदुरीबाट कमाएर तिर्ने योजना बनाएका उनले विस्थापित शिविरमा बसेदेखि ऋण तिर्न सकेका छैनन् ।
‘पटक–पटक बिरामी हुँदा भएको पैसा पनि उपचारमा सकियो’ वीरबहादुरकी पत्नी पवित्रा नेपालीले भनिन्, ‘ज्याला मजदुरीबाट आएको पैसालेले शिविरमा छाक टार्नै समस्या छ, अब त्यो ऋण कसरी तिर्ने ? साहुले सताउन थालेका छन्, कमाउने कुनै उपाय छैन ।’ वीरबहादुरको परिवार त उदाहरण मात्र हो, विस्थापित शिविरमा बस्दै आएका अधिकांश परिवार अहिले ऋणले थलिएका छन् ।
ज्यालादारी गरेर छाक टार्दै आएका विस्थापितलाई खर्चको जोहो गर्न हम्मे–हम्मे छ । ऋण झिकेरै पारिवारको दैनिक खर्च र उपचार खर्च गर्ने गरेको पीडितहरू बताउँछन् । अब पनि सरकारले पुनस्र्थापना नगरे आफन्तको ऋण तिर्न नसकिने र छाक टार्नै मुस्किल हुने उनीहरूले बताए । सरकारले जग्गा खरिदका लागि दिएको पहिलो किस्ता पनि विस्थापितले खानामा लागेको ऋण तिरेर सकेका छन् ।

समितिले काम थाल्यो
बाढीपीडितको पुनस्र्थापनका लागि कर्णाली प्रदेश सरकारले गठन गरेको उच्चस्तरीय समितिले काम सुरु गरेको छ । साउन ६ गतेको मन्त्रिपरिषद्को बैठकबाट गठित समितिले जिल्लामा रहेका बाढी पीडित शिविरमा पुगेर प्रारम्भिक अध्ययन थालेको हो ।
जिल्लामा रहेका १० वटा विस्थापित शिविरमा पुगेर वास्तविक पीडितको पहिचान र उनीहरूको अवस्थाबारे लगायतको तथ्यांक संकलनको काम थालिएको समितिका सदस्य यज्ञप्रसाद ढकालले बताए । बाढीका घरबारविहीन बनेका वास्तविक पीडितहरूलाई पुनस्र्थापना गर्न प्रदेश सरकारले जग्गा उपलब्ध गराउने भएको छ । जसका लागि समितिले दोस्रो चरणमा जग्गाको खोजी गर्नेछ ।
‘शिविर आसपासमा पुनस्र्थापनाका लागि उपयुक्त जग्गाको खोजी हुँदैछ’ ढकालले भने, ‘पहिलो चरणमा तथ्यांक संकलन गरेका छौं, करिब नौ सय ७१ परिवारलाई पुनस्र्थापना गर्नुपर्ने अवस्था छ । हामी जतिसक्यो चाँडो विस्थापितलाई छानामुनी ल्याउने छौं, यसका लागि अहिले समितिले काम तीव्र पारेको छ ।’ विस्थापितको वास्तविक तथ्यांक नहुँदा व्यवस्थापनमा चुनौती भएको सदस्य ढकालले बताए ।

प्रकाशित मितिः   ३० श्रावण २०७५, बुधबार १५:५०