छुवाछुतमुक्त बन्दै बराहताल

साझा बिसौनी संवाददाता
सुर्खेत, ३० साउन ।
सुर्खेतको बराहताल गाउँपालिकालाई जातीय भेदभाव तथा छुवाछुत मुक्त गाउँपालिका घोषणा गरिने भएको छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले बुधवार बराहतलाको कुनाथरीमा आयोजना गरेको एक कार्यशालामा बोल्दै गाउँपालिकाका अध्यक्ष तेजबहादुर वस्नेतले आफ्नो कार्यकालमा गाउँपालिकालाई जातिय विभेद तथा छुवाछुत मुक्त घोषणा गर्ने प्रतिबद्धता जनाएका हुन् ।
स्थानीयस्तरमा घट्ने जातीय भेदभाव तथा छुवाछुत सम्बन्धीको न्यायिक (प्रहरी र अदालती) प्रक्रियाका लागि सहकार्यमूलक कार्यशालामा बोल्दै अध्यक्ष वस्नेतले घोषणाका लागि छिट्टै योजना निर्माण गरिने बताए । ‘हामीले पहिलदेखि नै एउटा सोच बनाएका थियौं साविकको कुनाथरीलाई जातिय विभेद तथा छुवाछुत मुक्त घोषणा गर्ने’, अध्यक्ष वस्नेतले भने, ‘अब योजना बनाएर गाउँपालिकालाई नै घोषणा गर्ने योजना बनाऔं ।’ पहिले बस्ती बस्तीबाट जातिय भेदभाव तथा छुवाछुत अन्त्य गर्ने र त्यसपछि गाउँपालिकाबाटै निर्मूल गर्ने योजना अध्यक्ष बस्नेतले सुनाए । उपाध्यक्ष शोभा शर्माले जातिय भेदभाव र छुवाछुत अन्त्यका लागि सबैले आ–आफ्नो ठाउँबाट प्रण गरेर लाग्नुपर्ने बताइन् । जातीय छुवाछुत अन्त्यका लागि अशिक्षा र गरिबीलाई पनि सँगसँगै अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।
कार्यशालामा कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता गीताकुमारी कोइरालाले जातिय भेदभाव र तथा छुवाछुत अन्त्यका लागि संविधानमा भएको व्यवस्थाका साथै जातीय भेदभाव तथा छुवाछुत कसुर सम्बन्धी ऐनले जातीय भेदभाव र छुवाछुतलाई अपराध मानेको बताउँदै यस्तो कसुर गर्नेलाई कानुन संवत कारबाही गर्नुपर्ने बताइन् । जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी कसुर गर्नेलाई ऐन अनुसार तीन महिनादेखि तीन वर्षसम्म कैद वा एक हजार रूपैयाँदेखि पच्चीस हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाँय हुनसक्ने बताउँदै अधिवक्ता कोइरालाले यस सम्बन्धी उजुरी गर्नका लागि प्रहरी, स्थानीय निकाय र सिधै दलित आयोगमा उजुरी गर्न मिल्ने व्यवस्था रहेको
जानकारी दिइन् । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सुर्खेतका अध्यक्ष रुद्रबहादुर कार्कीले जातीय भेदभाव र छुवाछुत अन्त्यका लागि सबैको साझा संकल्प जरुरी रहेको बताए । सचिव भीमबहादुर परियारले जातिय भेदभाव र छुवाछुत अन्त्य घोषणा गरी बराहताललाई नमुना गाउँपालिका बनाउन सुझाव दिए । कार्यक्रममा वडा अध्यक्षहरू तथा मानव अधिकार पैरवी सञ्जालका सदस्य, प्रहरीचौकीका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम संयोजक इन्द्रबहादुर रसाइलीले कार्यक्रमको सहजीकरण गरेका थिए । युरोपियन युनियनको आर्थिक सहयोगमा फिनचर्च एड, मिडिया एड्भोकेसी ग्रुप र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले कार्यन्वयन गरिरहेको साझा आवाज परियोजना अन्तर्गत कार्यशालाको आयोजना गरिएको हो ।

प्रकाशित मितिः   १ भाद्र २०७५, शुक्रबार १३:४३