सुर्खेतमा वन विज्ञान क्याम्पसको माग

सुर्खेत, २९ साउन । (साबिस)
सुर्खेतको चौकुने गाउँपालिका–५ तोस्रास्थित वन विज्ञान क्याम्पस सञ्चालनका लागि अनुमति दिन केन्द्र सरकारसँग माग गरिएको छ । सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य नवराज रावतले संघीय संसदमार्फत् सरकारसँग उक्त माग राखेका हुन् ।
हाल कर्णाली र प्रदेश नम्बर सातमा वन विज्ञान सम्बन्धी उच्च शिक्षाका लागि क्याम्पस छैनन् । ‘गुणस्तरीय र प्राविधिक उच्च शिक्षा नीति नेपाल सरकारले लिएको छ’ उनले भने, ‘हरेक गाउँपालिका र नगरपालिकामा प्राविधिक शिक्षालय स्थापना गर्ने नीति अनरूप सुर्खेतमा वनविज्ञान क्याम्पस सञ्चालनका लागि अनुमति दिन सरकारसँग माग गर्दछु ।’ संसदको शून्य समयमा बोल्दै उनले वन विज्ञान क्याम्पस सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको जानकारी दिए ।
क्याम्पस सञ्चालनका लागि जनस्तरबाट १० कोठे भवन निर्माण सम्पन्न भइसकेको भन्दै उनले थप २५ विगाहको जग्गा व्यवस्थापन गर्न लागिएको बताए । वन विज्ञान क्याम्पसलाई आवश्यक जग्गा व्यवस्थापन गर्न वन मन्त्रालयमा फाइल पुगेको उनले जनाए । गुणस्तरीय र प्राविधिक शिक्षा नहुँदा रोजगारीका लागि विदेशिने युवा जनशक्ति बढ्दै गएको भन्दै उनले सरकारले तत्काल वनविज्ञान क्याम्पस सञ्चालन अनुमति दिनुपर्ने बताए । कर्णालीमा हाल वन विज्ञान क्याम्पस नहुँदा अध्ययनका लागि काठमाडौं जानुपर्ने बाध्यता छ ।

प्रकाशित मितिः   ३० श्रावण २०७५, बुधबार १५:४६