मानवअधिकारमैत्री कानुन बनाउने प्रतिबद्धता

सुर्खेत, २९ साउन । (साबिस)
कर्णालीमा मानवअधिकारमैत्री कानुन बनाउने प्रतिबद्धता जनाइएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले कर्णालीमैत्री कानुन निर्माण गर्ने प्रतिबद्धता जनाएका हुन् । ‘कर्णालीमा मानवअधिकारलाई रक्षा गर्ने कानुन बनाउँछौं’ उनले भने, प्रदेशले बनाउने कानुनमै कर्णालीका जनताको मानवअधिकारको ग्यारेन्टी हुनेछ, अभावको गर्वबाट मानवअधिकारको हनन् जन्मन्छ ।’
उनले विगतमा सीमित मान्छेहरूले ठेक्का जस्तो गरी कानुन निर्माण गरेकाले कर्णालीमा सधैं मानवअधिकार हनन् भएको बताए । उनले अभावकै कारण सबैभन्दा बढी मानवअधिकारको हनन् कर्णाली प्रदेशमै हुँदै आएको समेत दाबी गरे । उनले सामाजिक संस्कार र संस्कृति पनि मानवअधिकार कार्यान्वयनको बाधक भएको धारणा बताए ।
इन्सेकको आयोजनामा मंगलवार वीरेन्द्रनगरमा भएको एक कार्यक्रममा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मानवअधिकारको रक्षाका लागि कानुनको पूर्ण कार्यान्वयनमा जोड दिनुपर्ने बताए । ‘कानुन निर्माण गरेरमात्रै पुग्ने भए छाउपडी २०२० सालमै अन्त्य भइसक्यो तर कानुनको कार्यान्वयन गर्न नसक्दा समाजमा यसले जरो गाडेको छ’ उनले भने ।
त्यस्तै अनौपचारिक सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुवोधराज प्याकुरेलले नागरिकको तत्कालीन शान्ति सुरक्षालाई ध्यानमा राखी कानुन निर्माण गर्न प्रदेश सरकारलाई सुझाव दिए । ‘शान्ति सुरक्षाको ग्यारेन्टी हुन सकेमात्रै मानवअधिकारको मानअधिकारको ग्यारेन्टी हुन्छ ।’ प्याकुरेलले भने ‘कर्णालीको कानुन केन्द्रले सोचे जस्तो नहुन सक्छ, प्रदेशले नमुना कानुन बनाओस्, कहाँनेर बाँझिदो रहेछ हामी लढौला ।’ बाँझिन्छ भन्दैमा कानुन कमजोर नबनऔं सुझाव दिँदै प्याकुरलले जनताको कानुनमै मानवअधिकारको ग्यारेन्टी हुनुपर्ने धारणा राखे ।
त्यस्तै कर्णाली प्रदेश सरकारका मुख्यन्यायाधिवक्त विद्याभूषण मानन्धरले मानअधिकारलाई समेट्ने गरी रक्षात्मक कानुन निर्माण गर्नुपर्ने भनाइ राखे । त्यस्तै प्रदेश सरकारका कानुन सचिव एवम् कानुन मस्यौदा समितिका संयोजक कलानिधि पौडेलले प्रदेश सरकारले बनाउने कानुन कर्णालीको विकास र समृद्धिलाई समेट्ने खालको हुनुपर्ने बताए । मानवअधिकारमैत्री कानुन निर्माणमा प्रदेश सरकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम कर्णाली प्रदेश मुख्यन्यायाधिवक्तको कार्यालयको समन्वय र इन्सेक कर्णाली प्रदेशको आयोजनामा सम्पन्न भएको हो ।

प्रकाशित मितिः   ३० श्रावण २०७५, बुधबार १५:४५