बालबालिकाको उज्यालो भविष्य निर्माणमा समर्पित
डुङ्गेश्वर गाउँपालिका–७ दैलखमा वि.सं. २०४५ साल भदौ १८ गते जन्मिएकी कृष्णा शाही सानैदेखि मिलनसार स्वभावकी थिइन् । बुबा गजबहादुर शाही र आमा गीता शाहीकी साइली छोरीको रूपमा जन्मिएकी कृष्णालाई न्यायाधीश बनाउने उनका बुबाको सपना थियो । पढाइमा सानैदेखि मध्यम थिइन् कृष्णा । उनले वि.सं. २०६० सालमा श्री सीता उच्च माध्यमिक विद्यालय अवलपराजुल दैलेखबाट एसएलसी पास गरेकी हुन् । ग्रामीण विकास विषय लिएर प्रविणता प्रमाणपत्र तहदेखि स्नातकोत्तरसम्म तत्कालीन वीरेन्द्रनगर बहुमुखी क्याम्पस सुर्खेतमा पढेकी कृष्णालाई मन्टेश्वरीतर्फ प्रेरित भने उनका श्रीमान् रमेशजङ्ग शाहीले गरेका हुन् । वि.सं. २०६४ सालमा क्याम्पस पढ्दा–पढ्दै प्रेम विवाह गरेकी कृष्णाले २०६८ सालमा साझेदारीमा लोटस् मन्टेश्वरी स्थापना गरिन् । वि.सं. २०७२ सालबाट भने एकल लगानीमा सोही मन्टेश्वरी सञ्चालन गरिरहेकी कृष्णाले आफ्नो पेसागत कथा हाम्रा सहकर्मी सीता वलीसँग यसरी सुनाइन्ः
म घरकी साइली छोरीको रूपमा वि.सं. २०४५ साल भदौ १८ गते जन्मिएकी हुँ । मेरो बुबाआमा व्यवसाय गर्नुहुन्थ्यो । हामी सबै नौ भाइबहिनी हौं । मेरो बुबाको सपना मलाई न्यायाधीश बनाउने थियो । मलाई भने निजामती जागीर खाने ईच्छा थियो । मैले वि.सं. २०६० सालमा सीता उच्च माध्यमिक विद्यालयबाट एसएलसी पास गरें । परिवारमा खासै दुःखका क्षण आएनन् । पढ्नुपर्छ भन्ने बुबा–आमाको सपना बमोजिम म पढ्दै गएँ । म उच्च शिक्षाको लागि दैलेखबाट वीरेन्द्रनगर आइपुगें । बुबाको र आफ्नो सपना पूरा गर्नकै लागि मैले संघर्ष गरेरै पढें । वि.सं. २०६४ सालमा पढ्दा–पढ्दै मेरो रमेशजङ्ग शाहीसँग प्रेम विवाह भयो । त्यसपछि म मेरो श्रीमान्कै सहयोगमा मन्टेश्वरी सञ्चालनतर्फ लागें । विवाहपछि मैले पढाइलाई सँगसँगै अगाडि बढाउँदै विद्यालय सञ्चालन गरेकी हुँ ।
अहिले ग्रामीण विकास विषयबाट स्नातकोत्तर सकेर कानुनमा एलएलबी पढ्दै छु । मेरो सपना निजामती जागिरको भए पनि बालबालिकासँग घुलमिल हुँदा–हुँदै आजभोलि मलाई यही पेसा नै प्यारो लाग्न थालेको छ । म सानोमा एकदमै मिलनसार र सबैसँग छिटो घुलमिल हुने स्वभावको थिएँ त्यसैले पनि मलाई यो पेसामा सजिलो भएको छ । मैले २०६८ सालमा ‘पार्टनरशीप’ मा लोटस मन्टेश्वरी सञ्चालन गरेकी हुँ । हामी तीन जना मिलेर करिब पाँच लाखको लगानीमा यो मन्टेश्वरी सञ्चालन गरेका थियौं । तर बीचमा केही प्राविधिक कारणले मैले एक्लैले यो मन्टेश्वरी सञ्चालन गर्नुपर्ने भयो । त्यसपछि मैले २०७२ सालबाट एक्लैले सञ्चालन गर्दै आएकी छु ।
अहिले करिब ३० लाख बराबरको सम्पत्ति विद्यालयको भएको छ । प्ले ग्रुपदेखि युकेजीसम्ममा मैले विद्यालय सञ्चालन गरेकी छु । ६ जना शिक्षिका, एक जना कार्यालय सहयोगी र एक जना गाडी चालकसहित आठ जना कर्मचारी राखेकी छु । ६० जना बालबालिकाहरू मेरो विद्यालयमा अध्ययनरत छन् । महिनामा एक लाख ५० हजार जति कमाइ हुन्छ । मलाई पैसा कति कमाएँ भन्दा पनि मैले कति जना बालबालिकाको भविष्य सुन्दर बनाउनमा मेरो योगदान भयो भन्ने कुरामा मलाई सधैं चिन्ता लाग्छ । चाहेको भए अन्य सरकारी विद्यालयमा ठूला कक्षासम्म पनि पढाउन सक्थें । तर मन्टेश्वरी नै मैले रोज्नुको कारण चाहीं साना बालबालिकाको सुनौलो भविष्य कोर्न कै लागि हो । हामी अभिभावक तथा शिक्षकहरू बालबालिकाहरूलाई १० किलो किताब र १० पाना गृहकार्य बोकाएर मानशिक तनाब दिन्छौं । त्यसले बालबालिकालाई मानसिक असर गर्छ । उनीहरूको पढाइप्रति नकारात्मक भावना पैदा हुन्छ । त्यो भन्दा थोरै भए पनि व्यवहारिक शिक्षातर्फ ध्यान दिन सक्यो भने बालबालिका सक्षम हुन्छन् ।
हामी कहिल्यै पनि सैद्धान्तिक शिक्षामा जोड दिंदैनौं । व्यवहारिक सिकाइ हाम्रो पहिलो प्राथमिकता हो । मेरो चार जनाको परिवार छ । श्रीमान् गैरसरकारी संस्थामा कार्यरत हुनुहुन्छ । मैले छोराछोरीको हेरचाहसँगै मन्टेश्वरी सञ्चालन गरिरहेकी छु । मलाई निजामती जागिर खान नसकेकोमा कुनै गुनासो छैन । किनकी यति धेरै अभिभावकहरूको माया पाएकी छु । म हाम्रा अभिभावकहरूप्रति सधैं ऋणी छु । मेरो ईच्छा भनेको मेरो विद्यालयबाट पढेर गएका बालबालिकाहरू देशको उच्च ओहोदामा पुगुन् भन्ने चाहन्छु । अब म मेरो पेसालाई परिवर्तन गर्ने पक्षमा छैन । मेरो जीवनको लक्ष्य भनेको लोटस् मन्टेश्वरीलाई अझ उत्कृष्ट कसरी बनाउने र बालबालिकाहरूलाई कसरी राम्रो सेवा दिने भन्नेतर्फ नै छ । यसमै मेरो जीवन समर्पित गर्न चाहन्छु ।
साझा बिसौनी ।