दाजु–बहिनी नै मृगौला पीडित
साझा बिसौनी संवाददाता
दैलेख, २८ साउन ।
दैलेखको नौमूले गाउँपालिका–१ तोलीका एकै घरका दाजु र बहिनी मृगौला पीडित भएका छन् । ३६ वर्षीय दाजु दत्तप्रसाद ढकाल र २१ वर्षीया बहिनी नविना ढकालका दुवै मृगौलामा समस्या देखिएको हो । दुवै दाजु बहिनीको मृगौलामा समस्या भएपछि आर्थिक अभावमा उपचार हुनसकेको छैन ।
नौमूले गाउँपालिका–१ मा रहेको नेपाल आधारभूत विद्यालय अवलतोलिका शिक्षक रहेका दत्तप्रसाद ढकालले दुई वर्षअघि दवै मृगौलामा समस्या देखिएपछि भत्तपुरमा रहेको मानव अङ्ग प्रत्यारोपण गरेका थिए । उनलाई धर्मपत्नी सीता शर्मा अधिकारीले मृगौला दिएकी थिइन् । २०७२ साल भदौमा ३१ मा आफ्नो मृगौला प्रत्यारोपण गरेका उनलाई पुनः बहिनीको मृगौला फेल भएपछि आर्थिक समस्या परेको दाजु दत्तप्रसाद ढकालले बताए । चार महिना अगाडि दुवै मृगौला फेल भइ हाल काठमाडौं स्थित टिचिङ्ग अस्पतालमा डाइलोसिस गराइ रहेकी २१ वर्षीया नविनालाई मृगौला प्रत्यारोपणको तयारी गरे पनि आर्थिक अभावका कारण परिवारले उनको उपचार गर्न समस्या भएको बताएको छ ।
टिचिङ्ग अस्पतालमा हप्तामा दुई पटक डाइलोसिस गर्दै आएका नविनाको दुवै
मृगौला प्रत्यारोपणको लागि करिब २० लाखको हाराहारीमा रकम आवश्यक रहेको परिवारले कान्छा दाजु नविन ढकालले बताए । आफै मृगौला प्रत्यारोपण गरेका दाजु दत्तप्रसाद ढकालले तत्कालको लागि एउटा मात्र मृगौला प्रत्यारोपणको तयारी गरिएको भए पनि आर्थिक अभावका कारण गर्न नसकेको भन्दै सहयोगको याचना गरेका छन् । उनले भने ‘म आफै पनि मृगौला रोगी हुँदैहुँदै बहिनीलाई पनि उस्तै समस्या भयो आफ्नो त जेनचेत मृगौला प्रत्यारोपण गरें, बहिनीको उपचारमा समस्या भएको छ ।’ उपचारका लागि आफूसँग पैसा नभएको भन्दै सहयोगी मनहरूलाई सहयोग गरिदिन आग्रह गरेका छन् । आर्थिक अवस्था कमजोर रहेकी नविनाको उपचारमा हालसम्म करिब दुई लाखको हाराहारीमा खर्च भई सकेको छ । ‘अब मृगौला प्रत्यारोपण गर्न धेरै रकमको आवश्यकता छ’ उनका कान्छा दाजु नविन शर्माले भने, ‘आफूहरूको क्षमताले बहिनीको मृगौला प्रत्यारोपण गर्न असम्भव भएकाले आर्थिक सहयोग गर्ने मनहरूलाई एनएमबी बैंक सुर्खेत शाखामा दत्तप्रसाद जैसीको खाता नम्वर ०९२२४७००६३८२१४०००००१ मा जम्मा गर्न आग्रह गरे । दुवै मृगौलामा समस्या भएर डाईलसिस गराइरहेकी नविना मृगौला फेर्न पाए नयाँ जीवन पाइने अपेक्षामा छिन् ।
साझा बिसौनी ।