वार्षिक ६ हजार युवालाई रोजगारी

साझा बिसौनी संवाददाता
सुर्खेत, २७ साउन ।
युवालाई स्वरोजगार बनाउनमा कर्णालीमा प्रदेश सरकारले विशेष योजना ल्याउने भएको छ । रोजगारीका लागि युवाहरू विदेश पलायन हुन थालेपछि यसलाई रोक्न प्रदेश सरकारले युवा लक्षित स्वरोजगारका कार्यक्रम तगा योजना सञ्चालन गर्ने भएको हो । जसअन्तर्गत हरेक वर्ष ६ हजार युवालाई स्वरोजगार बनाउने योजना रहेको प्रदेश सरकारले जनाएको छ ।


सामाजिक विकास मन्त्रालयले यहाँका बेरोजगार युवालाई स्वरोजगार बनाउन युवा रोजगार कार्यक्रम तयार पारिएको जनाएको छ । यसका लागि विभिन्न सीपमूलक तालिम तथा प्राविधिक शिक्षा प्रदान गरिनेछ । यस्तै यहाँका सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा र क्षमता अभिवृद्धि तालिममार्फत् युवाहरूलाई रोजगारी दिने गरी बजेट विनियोजन गरिएको र नीतिसमेत पारित भएको सामाजिक विकास मन्त्री दल रावलले बताए ।
कर्णाली प्रदेशका पहाडी र हिमाली जिल्लाहरूबाट रोजगारीका लागि भारत लगायतका तेस्रो मुलुकमा जाने युवाहरूको संख्या बढ्दो छ । युवा जनशक्ति विदेश पलायन हुने र यसले प्रदेशको समृद्धिमा नै बाधा पुगेको भन्दै अब स्वदेशमा नै युवालाई रोजगारी उपलब्ध गराइने प्रदेश सरकारको भनाइ छ । यसका लागि सामाजिक विकास मन्त्रालयले युवालक्षित नीति ल्याउन लागेको मन्त्री रावलले जनाए । मन्त्री रावलले भने, ‘युवालाई विदेश पठाएर प्रदेशलाई समृद्ध बनाउन सकिन्न, यसका लागि युवालाई गाउँमै रोक्नुपर्छ । सरकार युवलाई स्वदेशमै रोजगारी उपलब्ध गराउन विशेष योजना ल्याउँदैछ, हरेक वर्ष प्रदेशका ६ हजार युवालाई हामी स्वरोजगार बनाउनेछौं ।’
हाल कर्णालीमा कति युवा बेरोजगार छन् भन्ने बारेमा प्रदेश सरकारसँग कुनै तथ्यांक भने छैन । तर सीपमूलक तालिम र प्राविधिक शिक्षालाई प्राथमिकता दिएर वार्षिक ६ हजार युवालाई स्वरोजगार बनाउने लक्ष्य अनुसार नै नीति निर्माण भइरहेको बताइएको छ । उच्च शिक्षाबाट वञ्चित युवालाई क्षमता अभिवृद्धि तालिम प्रदान गरिने र उनीहरूलाई रोजगार बनाइने मन्त्री रावलले बताए । ‘क्षमता अभिवृद्धिमार्फत् उद्योग कलकारखानाका लागि दक्ष युवा उत्पादन गर्ने योजना प्रदेश सरकारको छ’ उनले भने, ‘विद्यालयमा प्राविधिक शिक्षा दिएर प्रदेशमा चाहिने प्राविधिक दक्ष जनशक्ति उत्पादन गर्ने नीति सरकारको हो ।’ कर्णालीका १० वटै जिल्लामा गठित जिल्ला युवा समितिमार्फत् युवालक्षित कार्यक्रम लागू गरिनेछ ।
प्राविधिक तालिम पश्चात युवाहरूलाई स्वरोजगार बनाउन व्यवसायिक रणनीति पेश गरे विना धितो ऋण दिने नीति प्रदेश सरकारले ल्याउन लागेको मन्त्री रावलले बताए । सरकारले युवालाई स्वरोजगारमा आकर्षण गर्न व्यवसायिक योजनाका आधारमा ऋण दिने भएको हो । मन्त्री रावलका अनुसार आगामी पाँच वर्षमा कर्णालीमा बेरोजगारको संख्या शून्य पार्ने नीति सरकारले लिएको छ । ‘कृषि, पर्यटन, जलविद्युतलगायका प्रचूर सम्भावनालाई उपभोग गर्न वर्षेनी ६ हजार युवालाई रोजगारी लगाउने नीति सरकारले ल्याउँदैछ’ मन्त्री रावलले भने, ‘पाँच वर्षभित्र कर्णालीको कोही युवाले पनि विदेशिनु र बेरोजगार बस्नु पर्दैन ।’ यसका लागि सरकारले पहिलो चरणमा कर्णाली प्रदेशमा बेरोजगार युवाको तथ्यांक संकलन गर्नेछ ।
तथ्यांकका आधारमा आवश्यक कार्यक्रमहरू स्थानीय तहमा सञ्चालन गर्ने योजना प्रदेश सरकारको छ । युवा समितिमार्फत् कर्णालीका हरेक स्थानीय तहमा लागू हुनेगरी युवा स्वरोजगार कार्यक्रम लागू गरिने भएको हो । संघीय संरचना अनुसार कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा श्रम कार्यालय स्थापना हुने मन्त्री रावलले जानकारी दिए । कार्यालय स्थापना भएसँगै वैदेशिक रोजगारी सम्बन्धी कामहरू प्रदेश राजधानीबाटै हुनेछन् । जसका लागि संघीय सरकारसँग समन्वय भइसकेको उनले बताए । यसैबीच, राष्ट्रिय युवा परिषद् जिल्ला युवा समितिका अध्यक्ष टेकेन्द्रकुमार बस्नेतले युवालाई देशभित्रै स्वरोजगार बनाउन नसके विकास सम्भव नभएको बताए । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आइतवार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उनले समृद्धिका लागि युवा पलायन रोक्नुपर्ने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक छविलाल सिग्देल, वीरेन्द्रनगर नगरपालिकाका कार्यवहाक प्रमुख मोहनमाया ढकाल लगायतले युवाहरूको उपस्थिति थियो । दिवसका अवसरमा रक्तदान कार्यक्रम पनि सम्पन्न गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतसँगको सहकार्यमा राष्ट्रिय युवा परिषद् जिल्ला युवा समितिले रक्तदान आयोजना गरेको थियो । कार्यक्रमबाट १० पोइन्ट रगत संकलन गरिएको छ ।

प्रकाशित मितिः   २८ श्रावण २०७५, सोमबार १२:४८