नियमावली विपरितका नियुक्ती रोक्न माग
साझा बिसौनी संवाददाता
सुर्खेत, २७ साउन ।
सुर्खेतको विद्यापुर जनता बहुमुखी क्याम्पसमा मनोमानी ढङ्गले शिक्षक नियुक्ति गरेकोप्रति विभिन्न ६ विद्यार्थी संगठनले विरोध गरेका छन् । आइतवार संयुक्त विज्ञप्ती निकाली उनीहरूले क्याम्पस प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
चार बुँदे माग राख्दै विद्यार्थी संगठनहरूले तीन दिनभित्र आफ्ना माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । विरोध जनाउनेमा अनेरास्ववियु, अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी (बिप्लव), अनेरास्ववियु छैटौं, अनेरास्ववियु पाँचौं र नेपाल क्रान्तिकारी विद्यार्थी संगठन रहेका छन् । विज्ञप्तीमा क्याम्पसको विधानलाई मनोमानी ढंगले संशोधन गरी नियमावली विपरित गरिएको कर्मचारी तथा प्राध्यापकको नियुक्ति खारेज हुनुपर्ने, उमेरको हद नाघेका र योग्यता नपुगेकाहरूको नियुक्ति खारेज हुनुपर्ने लगायतका माग छन् ।
मध्यपश्चिमाञ्चल विश्व–विद्यालयमा आङ्गिक हुन लागेको पूर्वसन्ध्यामा विश्वविद्यालयबाट भएको अनुगमनमा समेत मिलेमतो भएको विज्ञप्तीमा उल्लेख छ । सोही विषयमा सोमवार मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारलाई ध्यानाकर्षण गराउने कार्यक्रम रहेको अखिल क्रान्तिकारी सुर्खेतका संयोजक जगतराज ढकालले बताए ।
साझा बिसौनी ।