‘बारले राजनीति नगरोस्’

साझा बिसौनी संवाददाता
सुर्खेत, २७ साउन ।
नेपाल बार एसोशियसनमा राजनीति हाबी भएको उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिकुमार पोख्रेलले बताएका छन् । कानुन व्यवसायीहरू राजनीतिक दल पक्षपोषणमा लाग्ने गरेको उनले बताएका हुन् । कानुन व्यवसायी परिषद् कर्णाली प्रदेशद्वारा आइतवार आयोजित कार्यक्रममा मुख्य न्यायाधीश पोख्रेलले बारले कानुन व्यवसायीको पेशागत संगठनको मर्यादा जोगाउनुपर्ने बताए ।


उनले बार कानुन व्यवासायीहरूको संगठन भन्दा पनि राजनीतिक दलको संगठन जस्तो देखिएको पनि बताए । ‘कानुन व्यवसायीको पेसा र राजनीतिक पेसामा स्पष्ट हुनुपर्दछ’ उनले भने, ‘यदि राजनीतिक दलको संगठतका रूपमा अघि बढ्यो भने न्यायमा निष्पक्षता आउँदैन ।’ मुख्य न्यायाधीश पोख्रेलले कानुन व्यवसायीलाई सामाजिक अभियानता हुनुपर्नेमा व्यवसायी जस्तो कमाउने तिरै लागेको भन्दै गुनासो गरे । कानुन व्यवसायीहरूले पैसा कमाउनकै लागि मरिमेट्ने परिपाटी बदल्नुपर्ने उनको भनाइ थियो ।
परिषद्का पूर्वसदस्य ध्रुवकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला न्यायाधीश ध्रुवकुमार शाह, कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धर, वरिष्ठ अधिवक्ता भूषण मानन्धर, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका कानुन उपसचिव जंगबहादुर डाँगी, उच्च अदालतको सहन्यायाधिवक्ता सुरेन्द्रजंग शाही लगायतको सहभागिता
रहेको थियो ।

प्रकाशित मितिः   २८ श्रावण २०७५, सोमबार १२:४६