‘संस्कृत पढ्न भागेर भारत पुगें’

वीरेन्द्रनगर–६ सुर्खेत निवासी माधव भट्टराई समाजसेवी हुन् । वि.सं. २०१५ माघ १३ गते बुबा गौरीलाल भट्टराई र आमा कौशिला भट्टराईको कोखबाट जन्मिए । वि.सं. २०४० सालदेखि वि.सं. २०४४ सालसम्म जनस्वास्थ्य कार्यालय सुर्खेत अन्तर्गत स्वास्थ्य कार्यकर्ता भएर काम गरेका भट्टराई सामाजिक कार्यमा सक्रिय छन् । धार्मिक कार्यक्रमहरू अझै बढी सक्रिय हुने उनी अद्यात्ममार्फत् समाजमा हुने विभिन्न विकृती र विसंगति हटाउन आवाज उठाउने गर्छन् । तत्कालीन समयमा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ को वडा नागरिक मञ्चको संयोजक भएर तीन कार्यकालसम्म काम गरेका भट्टराइले अहिले गायत्री शक्तिपीठ बुलबुले, विपसेना केन्द्र लगायतका संघ–संस्थामा सहभागी भएर सामाजिक कामहरूमा सक्रिय छन् । उनै भट्टराईले साझा बिसौनी सहकर्मी मुना हमालसँग आफ्नो बाल्यकालको सम्झना यसरी साटेका छन्ः


मेरो जन्म वीरेन्द्रनगरको मनिकापुरमा भयो । म घरको कान्छो छोरा । बाल्यकालमा दुःखको अनुभव गर्नु नै परेन । बुबाआमा खेती किसानी गर्नुहुन्थ्यो । हिउँदको समयमा माथि ढाप भन्ने ठाउँमा बस्थ्यौं । अहिले त त्यहाँ जंगल छ । गोठीकाँडा लगायतको बस्ती वि.सं. २०२३ सालमा यहाँ उपत्यकामा झरेपछि हाम्रो परिवार पनि मनिकारपुर आएर बसेको हो । त्यसभन्दा अघि ६ महिना माथि र ६ महिना यहाँ उपत्यकामा बस्नुपर्ने हुन्थ्यो । पहिले यो सुर्खेत उपत्यकामा औलो लाग्ने गर्दथ्यो ।
हामी वि.सं. २०२३ सालमा उपत्यकामा आएका हौं । त्यसपछि म लाटीकोइलीमा पढें । बाल्यकालमा जानेर वा नजानेर धेरै भुलहरू भएका छन् । घरमा नपुग्दो केही थिएन । सबै पुग्ने । खेतबारीभरी तरकारी, मकै, फलफूलहरू हुन्थे । तर साथीहरूसँग मिलेर बाटोमा हिँड्दै गर्दाखेरी अरुको चोरेर खान मन लागिहाल्ने । धेरै पटक मकै चोरेर काँक्रेबिहार जंगलमा लगी पोलेर खाएको सम्झना ताजै छ । कहिले काहीं मकैका मालिकले थाहा पाइहाल्थे । लखेट्ने पनि गर्थे । एक दिन चोर्दाचोदै लखेटिहाले । हामी भागेर काँक्रेबिहार जंगलतिर गयौं । एक जना भाई अलि सानै थियो । दौडिन नस्कने भएकाले उसलाई भेटाएछन् । सम्झाइ बुझाइ गरेर छोडे । विद्यालयमा कहिले काहीं भागेर पनि हिँडिन्थ्यो । बुबाको खल्तीबाट पैसा चोरेर खाजा खान्थ्यौं । विद्यालयबाट भागेर सुर्खेत एयरपोर्टमा जहाज हेर्न जान्थ्यौं ।
म सानोमा जिद्धि स्वभावको थिएँ । आफ्नै अनुुकूल चल्ने । अरुले भनेको कुरामा सहमत नहुने । आफूभन्दा साना साथीहरूले भनेको मानिहाल्थे । ठूलाले भनेको अलि नमान्ने । त्यसकारण म आफूले भनेको नमान्ने साथीहरूसँग संगत नै गर्दैन थिएँ । आफू भन्दा ठूलासँग त झन् कहिले पनि साथ गरिनँ । मैले कक्षा आठसम्म लाटीकोइलीमा पढें । धेरै नै रमाइलो भयो, विद्यार्थी जीवनमा । पढाइमा त्यति धेरै नराम्रो पनि थिइनँ । ठीकै मध्यम थिएँ । घरको काम भने मैले गर्नुपरेन । त्यसबेलामा पनि घरमा सबै पुग्दो छ मैले किन काम गर्नुप¥यो भन्ने लाग्थ्यो । बरु रहरले साथीहरूसँग गाइगोठालो जान्थें । तर घरमा गाइगोठाला गएको थाहा हुँदैनथ्यो । एक दिन रुखमा चढेर टाटा टिप्दै थिएँ । तलबाट एक जनाले भोर्लाकोे लहरा तान्दासँगै म पनि खसें । एक छिन त बेहोस नै भएछु । पछि ब्यूँझिदा डर लाग्यो । साथीहरूले मरेको भए यही छोडेर जान्थ्यौं, कसैलाई थाहा हुन्थेन भन्दा जीवन आखिर के रहेछ भन्ने पनि लाग्यो ।
हामी भेरीको छालसम्म पुग्थ्यौं । वनमा धेरै मात्रामा फलफूल पाइने गर्थे । अहिले आएर हामीले ठूलो गल्ति नै गरेका रहेछौं भन्ने लाग्छ । त्यतिबेला जथाभावी रुख बिरुवा काट्दा पनि कसैले केही भन्दैनथ्यो । अहिलेको जसरी कसैले खबरदारी पनि गर्दैन थिए । हामी केटाकेटी नै भएका कारण रुख चढ्न नसक्ने । बनमा बेलौती, ज्यामु, अमिलो लगायतका फलफूल धेरै हुन्थे । एक दिनको सम्झना छ, हामीले एकै दिन एकसय रुख काटेर त्यसरी फलफूल खाएका थियौं । त्यसबेलामा खेलहरू डन्डीबियो, कपर्दी, खोपी, गुच्छा लागायत खेलहरू खेल्थ्यौं । मैले घरको काम भने गरिनँ । बरु सामाजिक कामहरूमा ध्यान जान्थ्यो । मेरो जिद्दी र आफू अनुकूल अघि बढ्ने स्वभाव भएकाले अरुले अन्याय गरे भने मैले त्यो सहदैन्थेँ । त्यसकारण अन्यायको विरुद्धमा बोलिहाल्थेें । ८ कक्षा पास भएपछि म पढ्ने भनेर १४ वर्षकै उमेरमा भारत गएँ । एक सय ५० रूपैयाँ जम्मा गरेको थिएँ । नेपालगञ्जसम्म हिँडेर जानुपथ्र्यो । त्यसपछि टे«नमा । घरमा कसैलाई पनि थाहा नै नदिएर गएँ । भारतमा गएर संस्कृत पढेर धार्मिक मान्छे बन्ने उद्देश्य थियो । त्यही भएर होला अहिले म धेरै धार्मिक छु । मैले त्यहाँ आफुुले भनेको जसरी पढ्न पाइनँ । सुरुमा एउटा आश्रममा बसेर पढें । संस्कृत विश्व विद्यालयमा पढ्थें । त्यहाँ दुई÷चार महिना बसेर पढेपछि त्यहाँ मान्छेहरूसँग मेरो कुरा मिलेन । अहिले लाग्छ म मा धैर्यता थिएन होला ।
ब्राम्हाणले लगाउने दौरासुरुवाल लगाउँथे । त्यहाँ आश्रममा जुनमा गए पनि खान र बस्न सहज पाइन्थ्यो । टे«नमा चढेर पैसा नदिए सिधै जेल बस्नुपथ्र्यो । तर म सानै भएकाले कसैले छाड्दिनु यति सानोलाई पनि किन जेल हाल्नु भन्थे । म टे«न चढेर ठाउँ–ठाउँ जान्थेँ । भाडा दिनलाई पैसा हुँदैनथ्यो । जेल हाल्छु भनेर भन्थे । एक दिन झण्डै जेल जानुपरेको थियो । म त्यहाँ आश्रमबाट हिँडे । पटनाबाट बनारस जाने बेलामा टे«नकै एक जनाले यो त बाहुनको छोरा हो जस्तो छ भन्यो । अनि उसले बाहुनको छोराले खाना पकाउँछन् भनेपछि उनीहरूले मलाई एउटा प्रस्ताव राखे । तिमीलाई हामी भान्से गराउँछौं । खाना पकाउन सबै आउँछ कि नाइ भनेर सोधे । जेल जानु भन्दा यिनिहरूसंगै जान ठिक भनेर गएँ । बस्ने र खानाको ठेगान नभएपछि उनीहरूसँगै जानुपर्छ भन्ने सोचेर गएँ । उनीहरूसंग तीन दिन जति बसेको हुँला । एक दिन मलाई तरकारी किन्न भनेर २० रूपैयाँ दिएर पठाए । म जान लागेको थिएँ । त्यहाँ एक जना बुढी आमा हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, ‘यसरी पैसा र साइकल लिएर नपठाउनु भागेर गइहाल्ला ।’ मैले जुन कुरा सोचेकै थिइनँ, उहाँले त्यही कुरा सम्झाउनुभयो । मैले पनि उहाँले भनेजस्तै गरें । साइकल २० रूपैयाँमा बेचें, तरकारी किन्न दिएको २० रूपैयाँ पनि थियो । त्यही पैसाले म बनारस पुगें । त्यहाँ एउटा आश्रममा बसें । यसरी चार÷पाँच वर्ष बित्यो पछि बुबाहरू गएर खोजेर ल्याउनुभयो ।
सुर्खेत आएर फेरि कक्षा ९ बाट जन माविमा पढेको हुँ । म मा धार्मिक चेतना थियो । कुलतमा कहिले पनि लागिनँ । कक्षा १० सम्म पढेपछि मैले स्वास्थ्य कार्यकर्ता भएर काम गर्ने अवसर पाएँ । वि.सं. २०४४ सालसम्म मैले स्वास्थ्य कार्यकर्ता भएर काम गरें । अहिले विभिन्न संघ–संस्थामा आवद्ध भएर सामाजिक कामहरू गरिरहेको छु ।