महिला र बालबालिका हराउने क्रम बढ्दो
हराएका मध्ये आधा भेटिंदैनन्, हराउने मुख्य कारण वैदेशिक रोजगार
साझा बिसौनी संवाददाता
सुर्खेत, २६ साउन ।
सुर्खेतमा पछिल्लो सयम महिला तथा बालबालिकाहरू हराउनेक्रम बढ्दै गएको छ । हराएका मध्ये अधिकांश महिलाहरू फेला नै नपर्ने गरेका छन् । प्रहरीको तथ्यांक अनुसार गएको आर्थिक वर्षमा जिल्लामा तीन सय ६७ जना महिला तथा बालबालिकाहरू हराएका छन् । हराएका मध्ये आधा मात्र फेला परेको प्रहरीले जनाएको छ ।
आफन्तको निवेदनपछि हराएकाहरूको खोजी गरिएको प्रहरीको भनाइ छ । जसमा एक सय ९६ जना महिला तथा बालबालिका मात्र फेला परे । उनीहरूलाई आफन्तको जिम्मा लगाए पनि बाँकीको पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी श्यामसिंह चौधरीले हराएका मध्ये पनि महिला धेरै छन् । जम्मा हराएका मध्ये दुई सय ६ जना महिला थिए । जसमा एक सय १३ जना महिलालाई सम्पर्कमा ल्याएर परिवारलाई बुझाइएको छ । यस्तै सुर्खेतमा मात्रै गत आवमा ७८ बालक र ४३ बालिका हराएका थिए ।
ती मध्ये ४९ जना बालक र ३४ जना बालिका फेला परेका छन् भने अँझै ३८ जना बालबालिका बेपत्ता नै छन् । फेला पर्न नसकेका महिला तथा बालबालिकाहरूको खबर के कस्तो छ भन्ने सम्बन्धित निकाय नै बेखबर छ । प्रहरीलाई पनि कुनै जानकारी छैन । डीएसपी चौधरीका अनुसार विशेष गरी २०६२÷०६३ पछि जिल्लामा महिला तथा बालबालिकाहरू हराउने क्रम बढीरहेको छ । गत आर्थिक वर्षको तथ्यांक हेर्दा जिल्लाका एक सय ३१ महिला तथा बालबालिका फेला पर्न बाँकी छन् ।
उमेर पुगेका र विवाह भएका केही युवतीहरू अन्यन्त्रै विवाह गरेर गएको हुनसक्ने अनुमान गरिएको छ । प्रहरी कार्यालयमा हराएको निवेदन आए पनि फेला परेको जानकारी नआउने भएकाले हराएकाहरूको तथ्यांक बढी हुने गरेको प्रहरीको भनाइ छ । महिला तथा बालबालिकाहरू हराएको वा बेचिएकाको उजुरी पर्दासमेत उनीहरूको खोजी कार्य प्रभावकारी छैन । ‘हराए भनेर हामी कहाँ उजुरी त आउँछन्, तर फेला परेमा परिवारले हामीलाई खबर नै गर्दैनन्’ डीएसपी चौधरीले भने, ‘कतिपय महिला र किशोर–किशोरीले भागी विवाह गर्छन्, तर परिवारलाई खबर नगर्नाले पनि हराउनेको संख्या बढी देखिएको हुनसक्छ ।’
पछिल्लो समय वैदेशिक रोजगारीमा गएका पुरुषहरूका श्रीमती नै धेरै रहेको जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका केन्द्रकी प्रमुख मन्जु चौधरी बताउँछिन् । ‘हप्तामा दुई÷तीन जना महिलाहरू हराएको उजुरी आउने गर्दछन्, अधिकांश पुरुष विदेशमा भएकाहरूका श्रीमतीहरू हराएकै उजुरी हुन्छन्’ उनले भनिन् । लामो समयसम्म पति विदेशमा रहँदा पठाएको पैसा हिनामिना गरेको र पति घर फर्किने समयमा रकम लिएर भागेको भन्दै परिवारले उजुरी दिने गरेका छन् । प्रहरीले खोजी गरी फेला पारेकाहरू तथ्यांकमा हुने तर परिवारकै सम्पर्कमा आएपनि परिवारले प्रहरीलाई खबर नगर्दा तथ्यांकको सूची लामो भएको चौधरीको भनाइ छ । हराएर फेला परेकाहरूको बयानका आधारमा सामाजिक सञ्जालमार्फत् सम्पर्क गरी विभिन्न रोजगारीको बहानामा भाग्ने गरेको पाइएको छ ।
यस्तै हराएको उजुरी पर्ने बित्तिकै उनीहरू कहाँ गए भनेर पत्ता लगाउन कलडिटेल नै हेर्न सहज हो । तर कल डिटेल जाँच गर्नका लागि अदालतको आदेश कुर्नुपर्ने र त्यो आदेश आउँदासम्म धेरै समय बित्ने भएका कारण पनि तत्काल कारबाहीमा जान नसकिएको चौधरीको भनाइ छ । हराउनेमध्ये केही बेचबिखनमासमेत परेको पाइएको छ । केही महिला र बालिकालाई यौनशोषणका लागि र बालकहरूलाई श्रमशोषणमा लगाउने गरेका छन् । प्रहरीसँग हालसम्म कसले बेपत्ता पारे भन्ने कुनै जानकारी छैन । महिला तथा बालबालिका तस्करीका लागि दर्जनौं संघ–संस्थाहरू कार्यरत भए पनि यसरी हराउनेहरूलाई सम्पर्कमा ल्याउने कार्यमा भने खासै काम गरेको देखिएको छैन ।
साझा बिसौनी ।