पहिरोले राजमार्ग अवरुद्ध
साझा बिसौनी संवाददाता
सुर्खेत, २८ साउन ।
अविरल वर्षापछि आएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिकास्थित गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको हो ।
सडक अबरुद्ध हुँदा यात्रुहरू बाटोमै अलपत्र परेका छन् । पहिरो पन्छाउने प्रयास जारी रहे पनि पहिरो आउनेक्रम नरोकिएकाले अबरुद्ध सडक खुलाउन नसकिएको सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर श्रवणकुमार महत्तराले जानकारी दिए । ‘सडक खुलाउनका लागि प्रासजारी राखेका छौं’ महत्तराले भने ‘निरन्तर पहिरो आएका कारण काम गर्न गाह्रो भएको छ ।’ उनले थपे ‘हामी तीन महिनादेखि सडकमै छौं, हिजो आएको पहिरो बिहान पन्छायौं फेरि दुई घण्टापछि पहिरो आयो ।’ कर्णाली राजमार्गमा दिनदिनै आउने पहिरोका कारण जेठदेखि नै एउटा स्काइभेटर र जेसीबी आधादर्जन कर्मचारी सडकमै बस्दै आएको महत्तराले जानकारी दिए ।
यता सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर दिपेन्द्र विष्टले पहिरो पन्छाउनका जेसीबी र लोडर गगनेतर्फ लागेको जानकारी दिए। विष्टले भने ‘गगनखोलाको साइड हाम्रो जिम्मामा पर्दैन तर विपतको समयमा हामी सहकार्य गरेर काम गर्छौं ।’ सडक अवरुद्ध हुँदा जुम्लातर्फ जाने र सुर्खेततिर आउने यात्रु एक घण्टाको पैदल हिँडेर यात्रा गर्न बाध्य भएका छन् । गगने खोलाको भिरबाट बर्सेनी पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध हुँदै आएको छ । यो वर्षको सुरुवातमै त्यसै ठाउँमा पहिरो जाँदा अहिलेसम्म ८ पटक भन्दा बढी सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी बिनोद शर्माले कर्णाली राजमार्गको दहिखोला र एसमोडको बीचमा पर्ने गगने खोलामा ठूलो पहिरो खस्दा जतिबेला पनि उद्दारामा खटिदै आएको जानकारी दिए । ‘गगने खोलामा निकै ठूलो चट्टानबाट पहिरो खसिरहन्छ ।’ शर्माले भने ‘छिनमा रोकिन्छ पहिरो सडक विभागको डोजरले पन्छाएर सडक खुल्छ, छिनमै वर्षा हुँँदा पुन पहिरो खस्छ र सडक अवरुद्ध हुन्छ ।’ साघुरो रोडका कारण कर्णाली राजमार्गको कालेखोला, सेरीघाट, झाम्ला मोड, सुनार खोला, छेडा, सिम्लेगाड, पिली, राचुली लगायतका ठाँउहरूमा पनि स–साना पहिरो खसेका अस्दा पनि सडक अवरुद्ध हुने गरेको छ ।
वर्षायाममा आउने पहिरोका कारण कर्णाली राजमार्गमा यात्रुहरूले वर्षौंदेखि सास्ती भोग्दै आएका छन् ।
साझा बिसौनी ।