कर्मचारी नहुँदा बावियाचौर इलाका प्रशासनको सेवा बन्द

साझा बिसौनी संवाददाता
सुर्खेत, १३ साउन ।
संघीयताको मुलमर्म नै जनतालाई नजिकबाट सेवा प्रवाह गर्नु हो । यही मान्यता अनुसार अहिले प्रदेश र स्थानीय सरकारमार्फत् सरकारी सेवा र सुविधा जनताको आँगनमा पु¥याउने कसरत भइरहेको छ । तर पश्चिम सुर्खेतका नागरिकलाई लक्षित गरी बावियाचौरमा स्थापना भएको इलाका प्रशासन कार्यालयको सेवा भने बन्द भएको छ ।
करिब डेढ वर्षअघि बावियाचौरमा त्यस क्षेत्रका नागरिकलाई सज रूपमा सरकारी सेवा उपलब्ध गराउन इलाका प्रशासन कार्यालय स्थापना भएको थियो । तर संघीय संरचनामा अधिकार सम्पन्न मानिएका स्थानीय तहले काम सुरु गरिरहँदा संघीयतालाई नै चुनौती दिनेगरी इलाका प्रशासन कार्यालयको सेवा बन्द गरिएको छ । ईलाका प्रशासनबाट सेवा उपलब्ध हुन नसकेपछि त्यस क्षेत्रका नागरिकहरू हिजोआज नागरिकता र अन्य प्रशासनिक कामका लागि वीरेन्द्रनगरमा धाउन बाध्य भएका हुन् ।
ईलाका प्रशासनमा आवश्यक कर्मचारी नहुँदा सेवा नै बन्द भएको हो । अधिकृतस्तरको कार्यालय प्रमुख नहुँदा विगत तीन सातादेखि ईलाका प्रशासन कार्यालयबाट हुने दैनिक कामकाज नै प्रभावित भएको हो । २०७३ चैतदेखि प्रशासनिक सेवा दिँदै आएको कार्यालयमा गत असार २४ गतेदेखि कार्यालय प्रमुखको पद रित्त रहेको छ । ईलाका प्रशासन कार्यालयमा प्रमुख नहुँदा नागरिकता बनाउने, सिफारिस र आवश्यक अनुगमन लगायतका प्रशासनिक काम बन्द भएका हुन् । स्थानीय सरकार आँगनमा आएको अनुभूति गरिरहेका सर्वसाधारणहरू ईलाका प्रशासनबाट सेवा नपाउँदा निराश बनेका छन् । केही समयसम्म आँगनबाटै नागरिकता र प्रशासनिक सेवा लिएका पश्चिम सुर्खेतका बासिन्दा ईलाका प्रशासनको सेवा बन्द भएपछि पहिलेकै सास्ती भोग्न बाध्य भएका छन् ।
जिल्ला प्रशासन कार्यालयबाट खटिएका कायममुकाम प्रमुख प्रकाश न्यौपानेको अवधि सकिएसँगै इलाका प्रशासनमा प्रमुखको पद रित्त हुन पुगेको छ । अधिकृत न्यौपाने कायममुकायमको अवधि पूरा भएपछि सरुवा भएका हुन् । कानुन अनुसार कायममुकायको जिम्मेवारी तोकिएको ६ महिनासम्म मात्रै निजामती कर्मचारीले काम गर्न पाउने प्रावधान छ । सोही अनुसार न्यौपाने यही साउन २ गतदेखि पर्यटन, वन तथा वातावरण मन्त्रालय हाजिर भएका छन् । अधिकृत न्यौपानेको सरुवासँगै ईलाका प्रशासनबाट प्रवाह हुने सेवा पनि बन्द भएको पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले बताए । विगतमा ईलाका प्रशासनबाटै सेवा लिएका सर्वसाधारणहरू नागरिकता बनाउनका लागि एकदिन लगाएर सदरमुकाम वीरेन्द्रनगर पुग्नुपर्ने बाध्यता रहेको उनले जानकारी दिए ।
‘कर्मचारी अभावका कारण ईलाका प्रशासनको सेवा बन्द भएको छ, हामीले यसबारेमा जिल्ला प्रशासनमा पनि अवगत गराएको छौं’ उनले भने, ‘ईलाकामा हुने सामान्य कामका लागि पनि जिल्ला प्रशासन पुग्नुपर्ने बाध्यता हटेन, सरकारले कर्मचारी नखटाउँदा हामीले पाएको सुविधा पनि खोसियो ।’ अधिकृत नहुँदा सेवा नपाएका सर्वसाधारणलाई जिल्ला प्रशासन कार्यालयलेसमेत काम नगर्ने गरेको उनले आरोप लगाए । ‘इलाकाबाटै नागरिकतालगायतका सिफारिस हुने भन्दै वीरेन्द्रनगर पुगेको सेवाग्राही बावियाचौर नै फिर्ता आउने गरेका छन्’ उनले भने, ‘पटक–पटक जानकारी गराउँदा पनि कर्मचारी आउनेबारेमा कुनै जानकारी नै छैन ।’
जिल्ला प्रशासन कार्यालय अनुसार न्यौपानेलाई कायममुकायम पठाउनुपूर्व नन्दा पौडेलले प्रमुखको जिम्मेवारी सम्हालेकी थिइन् । साविकको क्षेत्रीय प्रशासन कार्यालयमा पौडेलको सरुवा भएपछि काजमा न्यौपानेले ईलाका प्रशासनमा प्रमुखको जिम्मेवारी सम्हालेका थिए । प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले ईलाका प्रशासन कार्यालय बावियाचौरका लागि आवश्यक दरबन्दी पूरा गर्न गृहमन्त्रालयमा जानकारी गराइ सकिएको बताए । उनका अनुसार ईलाका प्रशासनमा कार्यालय प्रमुख रिक्त रहेसँगै जिल्ला प्रशासन कार्यालयबाट नागरिकता बनाउने, सिफारिस गर्नेलगायका कामहरू गर्दै आएको बताए । सेवाग्राहीको चाप अनुसार गुणस्तरीय र सरल सेवा प्रवाह प्रशासनबाट भएको उनको
दाबी छ । कार्कीका अनुसार इलाका प्रशासनले नागरिकता बनाउने, मतदाता नामावली बनाउने, अद्यावधिक गर्ने, सिफारिस गर्ने, अनुगमन गर्नेलगायका काम गर्दै आएको थियो । तर हाल कार्यालय प्रमुखसहित प्रयाप्त दरवन्दी नहुँदा इलाकाको सम्पुर्ण सेवा बन्द भएको हो । इलाका प्रशासन कार्यालयका लागि एकजना अधिकृत, तीनजना सुब्बा, एकजना कम्प्यूटर प्राविधिक, एकजना लेखापाल र कार्यालय सहयोगको दरवन्दी हो । तर हाल एकजना सुव्वासहित चारजना कर्मचारीको भरमा कार्यालय सञ्चालनमा छ । तर प्रमुख नहुँदा सेवा भने बन्द नै छन् । साउन महिनाभित्रै पदपूर्ती गर्न गृहमन्त्रालयमा ताकेता गरिएको प्रजिअ कार्कीले जानकारी दिए ।

प्रकाशित मितिः   १४ श्रावण २०७५, सोमबार १५:१७