राउटे अब गुराँसका बासिन्दा

परिचयपत्र बाँडिदै, दुई वर्षभित्र एकीकृत बस्ती

साझा बिसौनी संवाददाता
सुर्खेत, २४ असार ।
जंगलमा फिरन्ते जिवन बिताउँदै आएका राउटेहरूलाई अब स्थायी बासिन्दाको परिचयपत्र उपलब्ध गराइने भएको छ । कर्णाली प्रदेशका विभिन्न जंगलमा बस्दै आएको राउटे समुदायलाई दैलेखको गुराँस गाउँपालिकाले स्थायी बासिन्दाको परिचयपत्र उपलब्ध गराउन लागेको हो । योसँगै अब राउटेहरू गुराँस गाउँपालिकाका स्थायी बासिन्दा बन्ने भएका हुन् ।


हाल राउटे समुदाय जंगलमा घुमन्ते जीवन बिताउँदै आएको छ । यही क्रममा पछिल्लो समय राउटेहरू गुराँस गाउँपालिकाको वडा नम्बर ८ गर्चे खोलाको किनारमा बसिरहेका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले राउटेलाई स्थायी बासिन्दाको परिचयपत्र वितरण गर्न स्वीकृति दिइसकेको छ । मन्त्रालयको स्वीकृतिपछि परिचयपत्र बाँड्ने प्रक्रिया अगाडि बढाइएको गाउँपालिकाले जनाएको छ । परिचयपत्र छपाइको काम सम्पन्न भएको र केही दिनभित्र वितरण हुने गाउँपालिकाका अध्यक्ष खेमराज वलीले बताए ।
राउटेले हालसम्म कुनै पनि सरकारी परिचयपत्र लिएका छैनन् । नागरिकतासमेत नलिएका राउटेलाई स्थायी बासिन्दाको परिचयपत्र वितरण गरेपछि सामाजिक सुरक्षा भत्ता वितरणमा पनि सहज हुनेछ । गुराँस गाउँपालिकाका अध्यक्ष वलीले भने, ‘आजसम्म राउटेहरू जंगलमा घुमन्ते भए, अब उनीहरू स्थायी बासिन्दा हुनेछन् । हामी गुराँसका नागरिकको रूपमा राउटेलाई परिचयपत्र बाँड्दैछौं, यसले उनीहरूलाई समाजमा स्थापीत गर्न सहयोग पुग्नेछ ।’ परिचयपत्रमा राउटेको नाम, थर र ठेगाना उल्लेख गरिनेछ । जसमा अब ठेगाना दैलेखको गुराँस गाउँपालिका वडा नं. ८ उल्लेख गरिने भएको हो । ‘राउटेहरू काम गर्न जहाँ पनि जान सक्छन्, घुम्दै नयाँ ठाउँमा पनि पुग्लान’ अध्यक्ष वलीले भने, ‘तर उनीहरू गुराँसका नागरिक हुनेछन्, स्थायी बासिन्दा बन्नेछन् ।’
राउटेलाई समाजमा घुलमिल गराउन र शिक्षा दिन आवश्यक व्यवस्था पनि अगाडि बढाइएको छ । यसका लागि तीन जना कर्मचारी नियुक्त गरिएको छ । राउटेलाई शिक्षा प्रदान गर्न एक जना शिक्षक, स्वास्थ्य उपचारका लागि अहेव र उनीहरूको निगरानीका लागि एक जना सहयोगीको पनि व्यवस्थापन गरिएको गाउँपालिकाले जनाएको छ । राउटेलाई गुराँसमै रोक्नका लागि हरसम्भव प्रयास गरिने अध्यक्ष वलीले बताए । यसका लागि शिक्षा, स्वास्थ्य र सामाजिक सेवा वितरण कार्यलाई प्रभावकारी बनाइने उनले बताए । अध्यक्ष वलीले भने, ‘राउटेलाई समाजमा स्थापित गराउन जरुरी छ, विस्तारै हामी उनीहरूलाई शिक्षा प्रदान गर्नेछौं । अबको दुइ वर्षभित्र एकीकृति बस्ती पनि बसाल्ने हाम्रो योजना छ, यसका लागि गाउँपालिकाले आवश्यक नीतिसमेत बनाएको छ ।’
अहिले एक सय ४९ जनाको संख्यामा राउटेहरू जंगलमा बस्दै आएका छन् । स्थायी बसोबास नहुँदा राउटेलाई सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता वितरणमा पनि समस्या हुँदै आएको छ । अर्कोतर्फ फिरन्ते जीवनका कारण राउटे बालबालिकाहरू शिक्षाबाट पनि वञ्चित छन् । घुमन्ते भएकै कारण राउटेले पछिल्ला दिनमा भरपर्दो स्वास्थ्य उपचार र खाद्यान्न समेत पाउन सकेका छैनन् । परिचयपत्र वितरण भएपछि यी सबै समस्याहरू समाधान हुने अपेक्षा गरिएको छ । ‘अब राउटेको नाममा आर्थिक चलखेल रोकिने छ, आफूखुशी सहयोग बाँड्ने काम बन्द हुनेछ’ गाउँपालिकाका अध्यक्ष वलीले भने, ‘परिचयपत्रका आधारमा सहयोग बाँडिनेछ, राउटेले पनि नागरिक भएको अनुभूति गर्नेछन् ।’
यता गाउँपालिकाको यो निर्णयपछि राउटे समुदायमा पनि खुशी छाएको छ । राउटेका मुखिया सूर्यनारायण शाहीले आफूहरूलाई भत्ता लिन ठाउँ–ठाउँ धाउनुपर्ने र समयमै नपाइने समस्या अब टर्ने बताए । ‘समयमा भत्ता पाउँदैनथ्यौं, मेरा जनतालाई छाक टार्न समस्या हुन्थ्यो’ राउटे मुखिया शाहीले भने, ‘अब भत्ताका लागि कहाँ जाने भन्ने पीर पनि रहेन, अब समयमै भत्ता पाउने भयौं । जनतालाई सजिलो होला भन्ने लागेको छ, सरकारले राउटेका लागि राम्रै गर्ला ।’ राउटेसँग अनौपचारिक छलफल र सहमतिपछि गाउँपालिकाले उनीहरूलाई स्थायी बासिन्दाको परिचयपत्र वितरण गर्न लागेको हो ।

प्रकाशित मितिः   २५ असार २०७५, सोमबार १४:२४