एमयूमा विद्यार्थीको अनशन तोडियो

साझा बिसौनी संवाददाता
सुर्खेत, २४ असार ।
विभिन्न माग राख्दै गत बुधवारदेखि आमरण अनशनमा बसेका मध्यपश्चिमाञ्चल विश्वविद्यलाय (एमयू) इन्जिनियरिङ्ग संकायका विद्यार्थीहरूले अनशन तोडेका छन् । विश्वविद्यालय र विद्यार्थीहरूबीचमा सहमति भएपछि आइतवार साँझ उनीहरूले आमरण अनशन तोडेका हुन् । विद्यार्थी र विश्वविद्यालयबीचमा आइतवार १७ बुँदे सहमति भएको छ ।
सहमति अनुसार इन्जिनियरिङ्ग संकायको बीई हाइड्रोपावरको पूर्ण पाठ्यक्रम तयार गरेर चौथो समेस्टरबाट लागू गर्ने, उपलब्ध स्रोत साधनको पूर्ण रूपमा प्रयोग गरेर प्रयोगात्मक ल्याबहरूको तीन महिनामा व्यवस्थापन गर्ने सहमति भएको छ ।
यस्तै, इन्जिनियरिङ्ग संकायमा अध्ययनरत पिछडिएका क्षेत्र, दुर्गम, महिला, दलित, जनजाति, गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न डीनको संयोजकत्वमा दुई सदस्यीय समिति गठन गर्ने र संकाय अन्तर्गतका कार्यक्रमलाई मुसुम प्रणालीमा सञ्चालन गर्नेलगायतका सहमति समेत भएको छ ।
सहमतिपछि सघर्ष समितिका सदस्य निकुञ्ज पाण्डेले अनशनरत विद्यार्थीलाई जुस खुवाएर अनशन ताडेको जानकारी दिए । उनले शैक्षिक सुधारका लागि गरिएको सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएको समेत बताए ।

प्रकाशित मितिः   २५ असार २०७५, सोमबार १४:२२