‘पहिले म्याराडोना र अहिले मेस्सी मनपर्छ’

मैले हेरेको पहिलो विश्वकप सन् १९८६ को हो । त्यतिबेला घरमा टेलिभिजन थिएन । छिमेकी मामाको घरमा टिभी थियो । त्यहाँ गएर हेरेको सम्झना छ । त्यो पनि लाइभ नभइ रेकर्डेड हो जस्तो लाग्छ ।

दिलिपसिंह ठकुरी

म १२÷१३ वर्षको थिएँ । त्यतिबेला हाम्रोतिर फुटबलको चर्चा भर्खर–भर्खर हुन थालेको थियो । फुटबलका अरु प्राविधिक पक्षहरू थाहा थिएन । खुट्टाले बल हानेर गोल गर्ने खेल्ने खेल हो भन्ने मात्रै बुझेका थियौं । भलिबल प्रायः सबैतिर खेलिन्थ्यो । शारीरिक उचाइ बढी हुनेहरू भलिबल खेल्थे । हामी अलिक साना भएकाले पनि फुटबलतर्फ लाग्यौं । त्यतिबेला अरु खेलहरू पनि खासै थिएनन् । कि भलिभल नभए त्यसको विकल्प फुटबल नै थियो ।
सोही विश्वकप हेरेपछि म अर्जेन्टिनाका डियगो म्यराडोनाको फ्यान भएँ । उसको खेलकौशल अरुकोभन्दा निकै उत्कृष्ट थियो । उसको खुट्टामा बल प¥यो भने खेल हेर्न लायक र आकर्षक हुन्थ्यो । सर्वकालीन सर्वोत्कृष्ट फुटबल खेलाडीको रूपमा सबैभन्दा पहिला ब्राजिलका पेले र अर्जेन्टिनाका म्याराडोनाको नाम लिइन्छ । तर मलाई लाग्छ उनीहरूको खेलमा आकाश–जमिनको फरक थियो । पेले पनि उत्कृष्ट खेलाडी हुन् तर म्याराडोनाको खेलकौशल आकर्षक थियो । उक्त विश्वकपमा म्याराडोनाको खेल हेरेपछि म अर्जेन्टिनाको फ्यान भएँ । अहिले पनि म अर्जेन्टिनाकै फ्यान हुँ । मलाई अर्जेन्टिनाको खेल्ने शैली निकै मनपर्छ । त्यही विश्वकपमा म्याराडोनाले हातले गोल गरेका थिए ।
सफलता र कुशलता दुई फरक कुरा हुन् । कतिपय खेलाडीहरूले निकै सफलता प्राप्त गरेका छन् तर कतिपय कुशल खेलाडीहरूले पनि सफलता प्राप्त गरिरहेका छैनन् । अर्जेन्टिनाकै लियोनल मेस्सी कलात्मक र कुशल खेलाडी हुन् । तर विश्वकपमा उनले आफ्नो देशलाई कप जिताउन सकेका छैनन् । मलाई भने म्याराडोना र मेस्सीजस्तै कुशल खेलाडी मनपर्छ । जसको खेल कलात्मक हुन्छ । पोर्चुगलको क्रिस्टियानो रोनाल्डो पनि अहिलेका चर्चित खेलाडी हो । तर उसको खेलकौशल भने त्यति राम्रो छैन । उसले बल पायो भने गोल गर्नसक्छ तर खेलमा कलात्मकता छैन । तर नेपालमा भूकम्प जाँदा उसले नेपाललाई सहयोग गरेकाले उसको मानवीय स्वभावको भने म फ्यान हुँ ।
अहिलेको विश्वकपमा धेरै उत्कृष्ट टिमहरू छन् । त्यसमध्ये पनि मलाई मन पर्ने अर्जेन्टिना विश्वकपको दावेदार टिम हो । उसको खेलशैली मलाई मनपर्छ । मेस्सीजस्ता महान् खेलाडी टिममा छन् । तर मेस्सी एक्लै उत्कृष्ट भएर हुँदैन । उनलाई अरु खेलाडीहरूले पनि साथ दिनुपर्दछ । अरु खेलाडीहरूले साथ दिएमा मेस्सीले अर्जेन्टिनालाई विश्वकप जिताउन सक्दछन् । अर्जेन्टिनाको डिफेन्स लाइन कमजोर छ । अर्जेन्टिनाका खेलाडीहरू ‘हिट’ छन् तर टिमले पछिल्लो समय महŒवपूर्ण उपलब्धि हासिल गर्न सकिरहेको छैन ।
अर्जेन्टिनाबाहेक ब्राजिल, जर्मनी, स्पेन लगायतका टिम पनि विश्वकप जित्नसक्ने दावेदार टिम हुन् । उनीहरूसँग पनि उत्कृष्ट खेलाडीहरू छन् ।

प्रकाशित मितिः   २५ जेष्ठ २०७५, शुक्रबार १७:२०