कांग्रेसद्वारा संसदमा अवरोध
साझा बिसौनी संवाददाता
सुर्खेत, २४ जेठ ।
कर्णाली प्रदेशको संसदमा विपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले अवरोध गरेका छन् । बिहीवार संसद बैठक सुरु भए लगत्तै कांग्रेस सांसदहरूले बैठक अवरुद्ध गरेका हुन् । तत्काल रातो किताब उपलब्ध गराउनुपर्ने र गत वैशाखमा उद्घाटन भएको कर्णाली–रारा पर्यटन वर्षको हिसाब सार्वजनिक गर्नुपर्ने माग गर्दै कांग्रेसका सांसदहरूले बैठक चल्न दिएनन् ।
बिहीवार दिउँसो ३ बजे संसद बैठक सुरु भए लगत्तै कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आफूहरूका माग पूरा नहुँदासम्म संसद चल्न नदिने बताए । चालु आर्थिक वर्षको तीन महिनाका लागि संसदबाट बजेट पारित भएको दुई महिनासम्म पनि रातो किताब उपलब्ध नगराइएको र कर्णाली–रारा पर्यटन वर्षको उद्घाटनमा खर्च भएको रकम हालसम्म पनि सार्वजनिक नगरिएको भन्दै उनले सरकारको आलोचना गरे । बैठकमा सांसद शाहीले नीति तथा कार्यक्रम सदनमा पेश हुनेबारेमा आफूहरूलाई जानकारीसमेत नदिएकाले बैठक चल्न नदिने बताएपछि कांग्रेसका सांसदहरूले उठेर विरोध जनाए ।
बैठकमा कांग्रेस सांसदहरूले उभिएर विरोध गरेका थिए । सभामुख राजबहादुर शाहीले बारम्बार संसदमा उठेका सवालमा सम्बन्धित पक्षसँग छलफल गर्ने आश्वासन दिँदै कांग्रेस सांसदहरूलाई बस्न आग्रह गरे । तर कांग्रेस सांसदहरूले नमानेपछि आधा घण्टाको लागि बैठक स्थगित गरिएको थियो । बिहीवार नै भएका अनौपचारिक छलफलमा सरकार र विपक्षीबीच कुरा नमिलेपछि संसद बैठक सूचना टाँसेर शुक्रवार दिउँसो तीन बजेसम्मका लागि स्थगित गरिएको हो । सरकारले शुक्रवारको संसद बैठकमा आगामी आर्थक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम पेश गर्ने तयारी गरेको छ । तर कांग्रेस बैठक चल्न नदिने अडानमा रहेकाले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम नै प्रभावित हुने सम्भावना छ ।
आफूहरू प्रतिपक्षमा रहे पनि यसअघि प्रदेश समृद्धिका लागि सरकारसँग मिलेर काम गर्ने बताउँदै आएको कांग्रेस सरकारले नीति तथा कार्यक्रमबारे संसद र कार्य व्यवस्था परामर्श समितिलाई जानकारी नै नदिएको भन्दै आक्रोशित बनेको हो । बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता शाहीले भने, ‘चालु आर्थिक वर्षको तीन महिनाका लागि बजेट पारित भएको धेरै भयो, हालसम्म हामीलाई रातो किताब नै दिइएको छैन । पहिलाका नीति तथा कार्यक्रम अनुसार सरकार अगाडि बढेको छैन, यस्तो अवस्थामा अब नयाँ नीति तथा कार्यक्रम चाहिँदैन ।’ आफूहरूका माग पूरा नभएसम्म बैठक चल्न नदिने कांग्रेसको भनाइ छ । कर्णालीमा संसद बैठक सुरु भए यता पहिलो पटक संसद अवरुद्ध भएको हो ।
प्रदेश सरकारले शुक्रवार आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम संसदमा पेश गर्ने तयारी गरेको छ । तर यसबारेमा संसदको कार्य व्यवस्था परामर्श समितिलाई जानकारी दिनुपर्ने हुन्छ ।
सोही आधारमा नै कार्य व्यवस्था परामर्श समितिले संसद बैठकको कार्यसूची तयार पार्छ । तर सरकारको नीति तथा कार्यक्रमबारे आफूहरूले संचारमाध्यमबाट जानकारी पाएको सांसदहरूले बताएका छन् । कार्य व्यवस्था परामर्श समितिका सदस्यसमेत रहेका सांसद धर्मराज रेग्मीले भने, ‘बैठकको कार्यसूची कार्य व्यवस्था परामर्श समितिले नै बनाउने हो, तर हामीलाई नीति तथा कार्यक्रमबारे ल्याउनेबारे जानकारी भएन ।’
साझा बिसौनी ।