‘वैकल्पिक ऊर्जाको विकल्प छैन’

साझा बिसौनी संवाददाता
सुर्खेत, १७ जेठ ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा तत्काल उज्यालो बनाउन वैकल्पिक ऊर्जाको विकल्प नभएको बताएका छन् । नवीकरणीय ऊर्जा प्रवद्र्धनमा प्रदेश सरकारको भूमिका सम्बन्धी कार्यशाला गोष्ठीमा उनले भौगोलिक कठिनता र पूर्वाधार विकास भइनसकेकोले ठूला आयोजनाहरू निर्माण गर्न असम्भव भएकाले वैकल्पिक ऊर्जाको विकल्प नभएको बताएका हुन् । ‘कर्णालीको बस्ती हेर्दा सबै ठाउँमा विद्युत पु¥याउन महंगो पर्ने देखिन्छ, तर राष्ट्रिय प्रशारण लाइन नपुग्दासम्म अँध्यारोमै बस्ने कुरा पनि भएन,’ उनले भने, ‘तत्कालीन आवश्यकता पूर्तिका लागि वैकल्पिक ऊर्जाको नै प्रयोग उत्तम हुन्छ, त्यसका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग प्रदेश सरकारले मिलेर योजना तयार पार्नेछ ।’
प्रदेशको घरधुरी संख्या र तिनलाई कति ऊर्जा आवश्यक पर्दछ भन्ने पहिचान गरेरै तत्कालीन आवश्यकता टार्न साना आयोजना र सौर्य ऊर्जालाई नै प्राथमिकता दिनुपर्ने बताए । ‘जलविद्युत उत्पादन क्षमताका हिसाबले कर्णाली सबैभन्दा धनी छ, तर अझै पनि टुकी र दियालोको साहारामा घर उज्यालो बनाउनुपर्ने विडम्बना छ’ उनले थपे, ‘आवश्यकताका आधारमा वैकल्पिक ऊर्जाको पहुँच पु¥याउँदै कर्णाली उज्यालो बनाउन सकिन्छ, त्यसका लागि केन्द्रसँग मिलेर प्रदेश सरकारले आवश्यक योजना तयार पार्नेछ ।’
उनले प्रदेश राजधानीमै विद्युतको मुख्य समस्या भएकाले वैकल्पिक ऊर्जा प्रवद्र्धनसँग प्रदेश सरकार मिलेर एक मेगावाट सम्मेको सोलार पावर राख्नपर्ने बताए । उनले कर्णाली विकासका लागि भनेर सहयोग गर्न आउने दातृ निकायलाई पनि अब पूर्वाधार विकासमै लगानी गर्न आग्रह गरे । ‘सहयोगी निकायहरूले पोषण र खाद्य अधिकारका नाममा चामल बाँड्नुभयो, यसले हाम्रा जनता कृषि उत्पादन गर्न छाडेर अल्छी भए,’ उनले भने, ‘उत्पादनका क्षेत्रमा लगानी गर्नुहोस्, आफैमा सबै चिज हुँदा आत्मनिर्भर बन्नेछन् र गरिबी आफै हट्नेछ ।’
कार्यक्रममा प्रदेश सभामुख राजबहादुर शाहीले पनि कर्णालीजस्तो विकट क्षेत्रमा राष्ट्रिय प्रशारण लाइन जडान गर्न खर्चिलो हुने भएकाले तत्काल साना आयोजनाहरूलाई एकीकृत गर्नुपर्ने धारणा राखे । यस्तै नेकपाका प्रदेश सांसद यामलाल कँंडेलले कर्णाली उज्यालो बनाउन नयाँ मोडेलमा योजना निर्माण गर्नुपर्ने बताए । ‘हामी पुरानै मोडेलबाट लगानी गर्दा धेरै योजनाहरूमा असफल भयौं, अब पनि खर्च गर्नकै लागि कार्यक्रम गरेर हुँदैन,’ उनले भने, ‘गोष्ठी र सेमिनारमा सीमित नभइ लामो समयसम्म उपलब्धी प्राप्त हुने गरी योजना निर्माण गरौं ।’ कर्णालीका ग्रामीण क्षेत्रमा स्थानीय ग्रेडलाईन निर्माण गरी सबै ठाउँमा विद्युत लाइन पु¥याउनुपर्ने उनको भनाइ थियो । यस्तै, प्रदेश सांसद जीवनबहादुर शाहीले विद्युत विना अन्य पूर्वाधार विकास र औद्योग स्थापना नहुनेभएकाले प्रदेश सरकारको प्राथमिकता ऊर्जा उत्पादनमै हुनुपर्ने बताए ।

प्रकाशित मितिः   १८ जेष्ठ २०७५, शुक्रबार १६:३०