पहिलो अधिवेशन अन्त्य

साझा बिसौनी संवाददाता
सुर्खेत, १८ वैशाख ।
कर्णाली प्रदेशको पहिलो संसद अधिवेशन मंगलवार सम्पन्न भएको छ । गत माघ २१ गतेदेखि सुरु भएको संसदको पहिलो हिउँदे अधिवेशन २२ वटा बैठकहरू बसेर सकिएको हो । मंगलवारको बैठकबाट आकस्मिक कोष सम्बन्धी विधेयक–२०७५ पारित भएसँगै पहिलो अधिवेशन अन्त्य भएको घोषणा गरिएको हो ।


आइतवार आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले संसदमा पेश गरेको विधेयक मंगलवार पारित गरिएको छ । प्रदेशसभा बैठकमा सहभागी सांसदहरूको सहमतिमा विधेयक सर्वसम्मत् पारित गरिएको हो । प्रदेशमा हुने आपतकालीन विपद् व्यवस्थापन, राहत तथा पुनस्र्थापनाका लागि मद्दत पुग्ने गरी विधेयक ल्याइएको हो ।
करिब तीन महिनासम्म सञ्चालन भएको अधिवेशनले सरकार सञ्चालनका लागि महŒवपूर्ण कामहरू सम्पन्न गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका अनुसार करिब तीन महिनासम्म गरेका कामकारबाहीको समीक्षा गर्दै बैठक सकिएको हो । यो अवधिमा प्रदेशको नामाकरण, राजधानी तोक्ने, आर्थिक कार्यविधि, संसद सञ्चालन नियमवली, चालु आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम, आर्थिक विनियोजन विधेयक पारित तथा संसदीय समितिको गठन लगायतका काम भएका छन् । हिउँदे अधिवेशन समापनका क्रममा प्रदेशसभा सदस्यहरूले सरकार सञ्चालनका क्रममा महŒवपूर्ण काम भएको बताए ।
तीन महिनाको समयवधिमा अस्थायी संसद भवनमा बिते पनि आगामी अधिवेशन स्थायी भवनमा बस्ने वातावरण मिलाउन सांसदहरूले सरकारको ध्यानाकर्षण गराए ।
आगामी बैठक संसद भवनको लागि छनौट गरिएको स्थानमा नै सञ्चालन गर्न सरकार गम्भीर हुनुपर्ने प्रदेशसभा सदस्य यामलाल कँडेलले बताए । प्रदेश नामाकरणसँगै राजधानी तोक्ने लगायतका काम कारबाहीमा अन्य प्रदेशभन्दा कर्णाली प्रदेश पहिलो भएको बताए ।
सांसद सीता नेपालीले पक्ष र विपक्ष भन्दा पनि एकमतका साथ पहिलो अधिवेशन सम्पन्न भएको बताइन् । संसद बैठकमार्फत् विभिन्न विधेयकसँगै विकास र समृद्धिका लागि चालु आवको बजेट पारित भएको भन्दै उनले केही विधेयकलाई अधिवेशनबाट अगाडि बढाएको बताइन् । कर्णाली प्रदेशको स्रोत पहिचान गरी यहाँका सम्भावनामा लगानीको वातावरण मिलाउन उनले सरकारलाई आग्रह गरिन् । कर्णाली–रारा पर्यटन वर्ष प्रभावकारी बनाउन पर्यटकीय क्षेत्र व्यवस्थित गर्न, प्रवद्र्धन गर्ने कार्यमा प्राथमिकता दिन उनले सरकारको ध्यानाकर्षण गराइन् ।
‘स्थानीय तहसँग प्रदेश सरकारले सहकार्य गरेर अगाडि बढोस्’ उनले भनिन्, ‘कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरलाई सुन्दर र व्यवस्थित बनाउन सरकारले पहल गरोस् ।’ उनले बहुजाति, बहुभाषिक कर्णाली प्रदेश भएकाले सबै जातजाति, धर्म, समुदायलाई समेट्ने गरी सरकारले कार्यक्रमहरू सञ्चालन गर्न सुझाव दिइन् ।
प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद हिमबहादुर शाहीले प्रदेशसभाबाट केही महŒवपूर्ण काम भएको बताए । उनले क–कसको कमजोरी हो भनी औंल्याउने भन्दा पनि समृद्धिका लागि अगाडि बढ्न सरकारलाई आग्रह गरे । उनले सरकारले सांसदहरूको मर्यादाबारे अन्यौलता कायम राखेको बताए ।
‘माननीयको सम्मान के ? माननीयको मर्यादा कहाँ छ, के छ’ उनले सरकारलाई प्रश्न गर्दै भने, ‘मन्त्रीका झण्डावाला गाडी छन्, माननीयहरू के गरिरहेका छन्, वर्तमान पस्थितिमा समीक्षा गरेर सरकार अगाडि बढोस् ।’
कर्णाली प्रदेशलाई गरिबीको उपमा दिएर भाषण गर्नुभन्दा पनि सम्भावना पहिचान गरी उपयोगतिर सरकारले ध्यान दिन उनले आग्रह गरे । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रदेश प्रमुखले प्रदेशसभा सचिवालयलाई बैठक स्थगित गर्न पत्र पठाएसँगै मंगलवार राती १२ बजेदेखि पहिलो अधिवेशन सम्पन्न भएको हो ।

प्रकाशित मितिः   १९ बैशाख २०७५, बुधबार १५:२६