भेरी–बबई डाइभर्सनको कार्यालयमा तालाबन्दी

साझा बिसौनी संवाददाता
सुर्खेत, १८ वैशाख ।
राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सनको कार्यालयमा तालाबन्दी गरिएको छ । आयोजना निर्माणका क्रममा स्थानीय बासिन्दा र कामदारहरूबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै मंगलवार तालाबन्दी गरिएको हो । आयोजना निर्माणका लागि प्रभावित र मजदुरहरूसँग विगतमा भएका सहमतिहरू कार्यान्वयनमा आयोजनाले बेवास्ता गरेको भन्दै भेरीगंगा नगरपालिका–५ हात्तीखालस्थित आयोजनाको कार्यालयमा तालाबन्दी गरिएको छ ।


विगतका सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने मागसहित स्थानीयबासीहरूका तर्फबाट सरोकार समिति र मजदुर युनियनले संयुक्त रूपमा तालाबन्दी गरेका हुन् । आयोजना निर्माण गर्दा अति प्रभावित स्थल भेरीगंगा नगरपालिका–५ हात्तीखाल र गेरुबानीमा दीर्घकालीन रूपमा शुद्ध खानेपानी योजना निर्माण सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म खानेपानी निर्माण सम्बन्धी कुनै पनि पहल नथालेको सरोकार समितिको आरोप छ । यस्तै विद्युत सिँचाइ लिफ्टिङ्गको दीर्घकालीन समस्या समाधान गर्नुपर्ने, आयोजना निर्माण क्षेत्रमा रहेको जनता प्रावि र सरस्वती प्राविमा ध्वनी तथा वायु प्रदूषणरहित पर्खाल व्यवस्थापन गर्नुपर्ने माग सरोकार समितिले राखेको छ ।
हात्तीखाल र गेरुवानी अन्तर्गत पर्ने मूल सडक तथा रिङ्गरोडमा पक्की नालासहित विभिन्न खोलाहरूमा आवश्यकता अनुसार कल्र्भड तथा ह्युमपाइप तत्काल व्यवस्था गर्नुपर्ने माग गरिएको छ । बाढी प्रभावित क्षेत्रमा दीर्घकालीन तटबन्धनको तत्काल व्यवस्था गर्ने सहमति भए पनि हाल कुनै पहल थालनी नगरेकोले आयोजनाले विगतमा भएका सम्झौताहरू कार्यान्वय गर्ने आफूहरू विश्वस्त नभएको प्रभावितहरूको भनाइ छ । प्रभावित क्षेत्रमा स्थायी रूपमा बसोबास गर्ने स्थानीय बासीहरूका लागि उपयोगी सीपमूलक, कृषि तथा पशुपालन, स्वरोजगारमूलक तालिम सञ्चालन गर्न स्थानीय समुदायको माग छ ।
यस्तै खेलमैदान र पिकनिक पार्क निर्माण गर्नुपर्ने पनि माग गरिएको छ । विभिन्न बाहानामा आयोजना तथा चाइनिज कम्पनीबाट निकालिएका दक्ष तथा अदक्ष कामदारहरूलाई प्रत्यक्ष कामदारको रोहवरमा सहमति गरी तत्काल रोजगारी दिनुपर्ने माग मजदुर युनियनको छ । उनीहरूले काम गरिहेका कामदारलाई रोजगारीबाट निकालिएकोमा आपत्ति जनाउँदै पुनः काम दिन माग पनि गरेका छन् । यस्तै, कामदार तथा श्रमिकहरूको मासिक रूपमा एक दिन बिदा दिनुपर्ने र दिनको पूर्ण तलबभत्ता उपलब्ध गराउनुपर्ने माग मजदुरहरूका छन् ।
यता आयोजनाका निर्देशक शिवकुमार बस्नेतले असन्तुष्ट पक्षले हाल राखेका मागहरू पहिले नै पूरा भइसकेको र केही प्रक्रियागत रूपमा रहेकोले आयोजनालाई प्रभावित पार्न तालाबन्दी गरिएको आरोप लगाए । ‘हामी स्थानीय र मजदुरको मागप्रति संवेदनशील छौं, त्यसैले केही पहिले नै पूरा गरिसकेका छौं र केही माग पूरा हुने चरणमा छन्’ उनले भने, ‘नेपालमै नमुनाका रूपमा रहेको प्रोजेक्टको धमाधम काम भइरहेको अवस्थामा यसरी तालाबन्दी गर्नु राम्रो होइन, चित्त नबुझेको कुरा छफफल गर्नुप¥यो । यसरी तालबन्दी गरेर काम कसरी अगाडि बढ्छ ?’ उनका अनुसार हाल भेरी–बबई डाइभर्सन आयोजनाको सुरुङ्ग निर्माण कार्य मंगलवारसम्म चार किलोमिटर सम्पन्न भइसकेको छ ।

प्रकाशित मितिः   १९ बैशाख २०७५, बुधबार १५:२४