अर्गानिक प्रदेश बनाउन मल उपहार

साझा बिसौनी दैनिक
सुर्खेत, १६ वैशाख ।
कर्णाली प्रदेश सरकारलाई स्पेनका नागरिक कलाउडीयोले अर्गानिक मल उपहार दिएका छन् । तरकारी खेतीमा बढ्दो विषादीको प्रयोग रोक्न कलाउडीयोले स्थानीयस्तरमा उत्पादन भएको मल उपहार दिएका हुन् । कर्णाली प्रदेश सरकारको पहिलो मन्त्रीपरिषद् बैठकले यस प्रदेशलाई अर्गानिक प्रदेश बनाउने निर्णय गरेको छ । उक्त निर्णयलाई कार्यान्वयन गर्न आग्रह गर्दै फोहोरमैला व्यवस्थापन विज्ञसमेत रहेका कलाउडीयोले नेपालमा आर्गनिक कृषि खेतिका लागि कर्णालीमा समस्या नरहेको बताए ।
आइतवार प्रदेश राजधानी वीरेन्द्रनगरमा भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री विमला केसीलाई मल उपहार दिँदै उनले फोहोर व्यवस्थापन गर्नसके विषादीमुक्त प्रदेश बनाउन सकिने बताए । ‘फोहोर व्यवस्थापन हुन नसक्दा वातावरण प्रदुषण भएको छ’ स्पेनी नागरिक कलाउडीयाले भने, ‘मानसिकतामा परिवर्तन ल्याउनसके विषादीरहित प्रदेश बनाउन सकिन्छ । जसका लागि जनचेतना फैलाउनुपर्छ ।’ नेपाल भ्रमणका क्रममा सुर्खेत पुगेका उनले अर्गानिक प्रदेश बनाउने सरकारको निर्णयलाई घचघच्याउन मल उपहार दिएको बताए ।
मल उपहार ग्रहण गर्दै मन्त्री केसीले सरकारले अर्गानिक प्रदेश बनाउन पहिलो चरणमा भौतिक निर्माणलाई प्राथमिकता दिएको बताइन् । ग्रीन सीटी कम्पोष्ट प्लान्टका प्रमुख कर्यकारी निर्देशक ललित भट्टराईले वीरेन्द्रनगर बजार क्षेत्रमा उत्पादन हुने फोहोर व्यवस्थापबाटै अर्गानिक मल उत्पादन थालिएको बताए ।

प्रकाशित मितिः   १७ बैशाख २०७५, सोमबार १५:२८