रारा किनारमा मन्त्रीपरिषद् बैठक

सुर्खेत, ३० चैत । (साबिस)
कर्णाली प्रदेश सरकारले उत्तरी नाका सञ्चालन गर्न केन्द्र सरकारसँग अनुरोध गरेको छ । ‘कर्णाली–रारा पर्यटन वर्ष’ उद्घाटनको पूर्वसन्ध्यामा शुक्रवार रारा किनारमा बसेको कर्णाली प्रदेश सरकारको चौथो मन्त्रीपरिषद् बैठकले कर्णालीको विकासका लागि उत्तरी नाका सञ्चालन गर्न आग्रह गरेको हो ।


मन्त्रीपरिषद्को बैठक पश्चात् प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुरोध पत्र बुझाउँदै प्रदेश सरकारले चीनसँग कर्णाली प्रदेशलाई जोड्न केन्द्र सरकारबाट सहयोग माग गरेको हो । कर्णाली प्रदेशसँग जोडिएका मुगुको नाक्चे नाग्ला, हुम्लाको हिल्सा नाका सञ्चालनका लागि केन्द्र सरकारले आवश्यक पहल गर्न अनुरोध गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवम् कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले बताइन् । प्रधानमन्त्री ओलीलाई मन्त्रीपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी गराउँदै कर्णालीको समृद्धिका लागि राष्ट्रिय गौरवका विकास योजना निर्माणमा केन्द्र सरकारबाट सहयोग मागिएको हो ।
सुर्खेत–हिल्सा प्रधानमन्त्री द्रुतमार्ग निर्माण, भेरी–कर्णाली करिडोर निर्माणलाई केन्द्र सरकारले प्राथमिकता दिन आग्रह गरिएको छ । थुप्रै पर्यटकीय सम्भावना रहेको कर्णाली प्रदेशमा पर्यटन व्यवसायलाई व्यवस्थित गर्न कर्णाली पर्यटन प्राधिकरण गठनका लागि केन्द्र सरकारले
पहल गर्नुपर्ने माग प्रधानमन्त्री समक्ष राखिएको प्रवक्ता केसीले बताइन् । कर्णाली प्रदेशको बस्ती र सहरी विकासका लागि गुरुयोजना निर्माण गर्ने निर्णय सेमत गरिएको छ । ‘छरिएर रहेको कर्णालीको बस्ती एकीकृत गर्न कर्णाली एकीकृत बस्ती विकास र व्यवस्थित सहरी विकास गुरुयोजना बनाउन पहल गर्न प्रधानमन्त्री समक्ष विशेष अनुरोध गरिएको छ’ प्रवक्ता केसीले भनिन्, ‘यहाँका सम्भावनालाई औल्याउँदै कर्णालीको विकासका लागि केन्द्र सरकारले बजेट विनियोजनामा कुनै कञ्जुस्याइ नगर्ने प्रधानमन्त्रीको भनाइ छ ।’
यसैबीच, आज (शनिवार) कर्णाली–रारा पर्यटन वर्ष २०७५ को उद्घाटन हुँदैछ । प्रधानमन्त्री ओलीले राराबाट पर्यटन वर्षको उद्घाटन गर्ने भएका हुन् । ओलीले आजै राराबाट राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ ।

प्रकाशित मितिः   १ बैशाख २०७५, शनिबार १६:१४