आर्थिक गणना हुँदै

सुर्खेत, ३० चैत ।
सार्वजनिक रूपमा सञ्चालनमा आएका धार्मिक संस्थाहरूमा पनि व्यवसायिक आर्थिक गणना गरिने भएको छ । आज (शनिवार) देखि सुर्खेत लगायत देशभर सुरु हुने आर्थिक गणनाका क्रममा व्यापारिक प्रतिष्ठानसँग धार्मिक संस्थाहरूको पनि आम्दानी विवरण संकलन गरिने भएको हो ।
व्यवस्थित रूपमा सञ्चालित मठ मन्दिर, गुम्वा, मस्जित, मदरासा लगायतका धार्मिक संस्थानको आर्थिक कारोबारबारे तथ्यांक संकलन गरिने भएको हो । औपचारिक रूपमा आर्थिक क्रियाकलाप गर्ने भएकाले धार्मिक संस्थानहरूमा पनि आर्थिक कारोबारबारे तथ्यांक संकलन गरिने आर्थिक गणना कार्यालय सुर्खेतले जनाएको छ ।
कार्यालयका अनुसार जिल्लाका नौ वटा स्थानीय तहमा गणकहरू परिचालन गरिसकिएको जनाएको छ । निजी तथा सार्वजनिक व्यापरिक संस्थानहरूको आर्थिक कारोबारको तथ्यांक संकलन गर्न जिल्लाभर ४२ जना गणक र ६ जना सुपरीवेक्षकहरू परिचालन गरिएको हो । स्थानीय तहगत रूपमा सञ्चालनमा रहेका आर्थिक कारोबार गर्ने संस्थाको विवरण संकलनका क्रममा दर्ता नभएका व्यापारिक संस्थानहरूको पनि तथ्यांक लिइनेछ । कृषि, वन तथा मत्स्य अन्तर्गत वर्गीकृत दर्ता नभएका प्रतिष्ठानहरू, सार्वजनिक प्रशासन र रक्षा, अनिवार्य सामाजिक सुरक्षा अन्तर्गत स्वास्थ्य, शिक्षा, रोजगारदाताका रूपमा घरपरिवाका घरयासी क्रियाकलापहरू, गैर–सरकारी संस्था, नियोगका क्रियाकलापहरूको तथ्यांक संकलन नगरिने तथ्यांक कार्यालयका प्रमुख लक्ष्मण कँडेलले बताए ।
उनका अनुसार आर्थिक गणनाका क्रममा स्थलगत रूपमा स्थायी बसोबास गर्ने, आर्थिक कारोबार गर्ने र आय–आर्जन गर्ने संस्थानहरूमा तथ्यांक लिइने भएको हो । गणनापछि जिल्लामा के कति आर्थिक कारोबार छ भन्ने बारे जानकारी हुने भएकाले सरोकारवाला निकायले ढुक्कसँग आम्दानी विवरण दिन उनले आग्रह गरे । व्यक्तिगत आम्दानी विवरण गोप्य राखिने भएकाले पनि कारोबारबारे व्यापारीले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
आजदेखि जेठ १५ गतेसम्म आर्थिक गणनाको तथ्यांक संकलन कार्य सञ्चालन गरिने छ । व्यापारिक संस्थानहरूलाई करको दायरामा ल्याउन नभइ विवरणात्मक रूपमा तथ्यांक संकलन थालिएको प्रमुख कँडेलले बताए । सुर्खेत उद्योग वाणिज्य संघको समन्वयमा जिल्ला आर्थिक गणना कार्यालय सुर्खेतले आजदेखि नौ वटा स्थानीय तहमा आर्थिक गणना गर्ने भएको हो ।

प्रकाशित मितिः   १ बैशाख २०७५, शनिबार १६:११