तरकारीबाटै वार्षिक ६ लाख

सुर्खेत, २० चैत ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ का कृषक जयलाल चौधरीलेले तरकारी खेतीबाट वार्षिक ६ लाख आम्दानी गर्दै आएका छन् । विगतमा ज्याला मजदुरी गर्दै आएका उनले व्यवसायिक तरकारी खेती गर्न थालेपछि मासिक मनग्य आम्दानी गर्न थालेका हुन् ।


३० कठ्ठा जमिन भाडामा लिएर उनले तरकारी खेती गर्दै आएका छन् । वीरेन्द्रनगर बजारको नजिकै रहेको पर्सेनीमा उत्पादन भएको कृषि वस्तुको बजारीकरणका लागि समेत समस्या नभएकाले उनी व्यवसायिक तरकारी खेतीतर्फ आर्कषित भएका हुन् । ज्याला मजदुरी गर्दै जीविकोपार्जन गर्दै आएका उनले ३० कठ्ठा जग्गामा तरकारी खेती गर्दै आएका छन् । वीरेन्द्रनगर–९ पर्सेनीमा डेढ कठ्ठा जमिन भएका चौधरीले ३० कठ्ठा जमिन भाडामा लिएर तरकारी खेती गर्दे आएका हुन् ।
मौसमी र बेमौसमी तरकारी खेतीमा अब्बल उनले तरकारी खेतीबाटै वार्षिक ६ लाख आम्दानी गर्ने गरेको बताए । ‘पहिले म ज्याला मजदुरी गर्थें पछि विस्तारै तरकारी खेती गर्न थालें र अहिले मनग्य आम्दानी गरिरहेको छु ।’ गरिबी निवारण कोषको सहयोगमा गठित सगरमाथा सामुदायिक संस्थाले समेत सहयोग गरेपछि उनको हौसला वढ्दै गएको उनले बताए । सगरमाथा सामुदायिक संस्थाबाट ५० हजार लिएर उनले थप व्यवसाय विस्तार गरेका हुन् । ‘पहिला पैसा चाहिएको बेला कसैले पत्याउँदैन्थे, अहिले सबैले आशा गर्छन । अप्ठ्यारो पर्दा छरछिमेकलाई सहयोग गर्छु । अहिले सबैको विश्वास जितेको छु’, उनले भने ।
आफ्नो सफलताको श्रेय भने उनी श्रीमतीलाई दिन्छन् । ‘तरकारी खेती गरेर अहिलेको अवस्थामा आइपुग्न श्रीमतीको ठूलो सहयोग छ’ उनले भने ‘श्रीमतीको सहयोग नपाएको भए, यति धेरै गर्न सक्दैनथें होला ।’ बेमौसमी तरकारी खेती गर्न गरिबी निवारण कोषले समेत सहयोग गर्दे आएको छ ।
सामुदायिक सस्थामा आवद्ध भएपछि तरकारी बिक्रीमा थप बल पुगेको उनको भनाइ छ । पहिले भन्दा तरकारीको बजार बढेको उनले बताए । स्वदेशमा काम पाइएन भन्दै विदेश जानेलाई सुझाव दिँदै उनले भने ‘दुःख सुख गरे गाउँमै सुन फलाउन सकिन्छ विदेश जानुपदैन । विदेशमा बगाउने पसिना स्वदेशमै बगाए नाम र दाम दुवै हुन्छ ।’ तरकारी खेतीलाई व्यसायिक रूपमा अघि बढाउन सरकारले किसानलाई नयाँ–नयाँ प्रविधिमा सुविधा, सस्तो ऋण र अनुदान आवश्यक पर्ने उनको भनाइ छ ।

प्रकाशित मितिः   २१ चैत्र २०७४, बुधबार ०८:१६