बराहताल कप रनि·शिल्ड सुरु

साझा बिसौनी संवाददाता
सुर्खेत, ६ फागुन ।
बराहताल गाउँपालिकास्तरीय रनिङ्गशिल्ड प्रतियोगिता आइतवारदेखि बराहताल गाउँपालिका वडा नं. ८ को जनजागृति माध्यमिक विद्यालय दमारमा सुरु भएको छ । जिल्ला समन्वय समिति सुर्खेतका अध्यक्ष छविलाल सिग्देलले आइतवार प्रतियोगिताको उद्घाटन गरेका हुन् ।


प्रतियोगिता उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका सिग्देलले खेलकुद प्रतियोगिताले शैक्षिक विकासका साथसाथै विद्यार्थीहरूको प्रतिभा ऊजागर गर्न र स्वास्थ्यका लागि समेत महŒवपूर्ण हुने बताए । गाउँपालिकाका प्रमुख तेजबहादुर बस्नेतले बराहताल गाउँपालिकाका विभिन्न विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूको खेलकुद क्षमताको विकास गर्नका लागि प्रतियोगिताले सघाउ पु¥याउने धारणा राखे ।
त्यसैगरी गाउँपालिका उपप्रमुख शोमा रेग्मी शर्मा, नेकपा एमालेका प्रतिनिधि ताराकेशर गौतम, नेकपा माओवादी केन्द्रका बलबहादुर कठायत लगायत विभिन्न निकायका प्रतिनिधिहरूले बराहताल गाउँपालिकाको शैक्षिक विकासमा सबै एकजुट भएर लाग्नुपर्ने धारणा राखेका थिए ।
सोही अवसरमा विद्यालयका संस्थापक अध्यक्ष, संस्थापक प्रधानाध्यापक लगायतलाई दोसल्ला ओढाएर सम्मानसमेत गरिएको छ । वडास्तरमा सञ्चालन भएको प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीहरूमध्ये गराइएको फाइनल प्रतियोगितामा गाउँपालिकाका विभिन्न ४२ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको विद्यालयका प्रधानाध्यापक टीकाराम सुवेदीले जानकारी दिए । प्रतियोगिता फागुन ८ गतेसम्म सञ्चालन हुनेछ । बराहताल गाउँपालिकाको आर्थिक सहयोगमा जन जागृति माध्यमिक विद्यालयले उक्त प्रतियोगिताको आयोजना गरेको हो ।
दुई लाखको अक्षयकोष त्यसैगरी बराहताल गाउँपालिका वडा नं. ८ निवासी प्रकाश गौतमले आमा डम्मरकुमारी गौतमको नाममा सोही विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । हाल अमेरिकामा अध्ययनरत गौतमले आमाको नाममा दुई लाख २२ हजार दुई सय २२ रूपैयाँ रकम सहयोग गरेर अक्षयकोष स्थापना गरेका हुन् ।
उक्त रकम गौतमका आमा डम्मरकुमारी गौतम, बुबा यक्षबहादुर गौतम र दाइ दिपक गौतमले आइतवार विद्यालयलाई हस्तान्तरण गरेका छन् । उक्त अक्षयकोषबाट जन जागृति माध्यमिक विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गरिने जनाइएको छ ।

प्रकाशित मितिः   ७ फाल्गुन २०७४, सोमबार १५:३१