राजश्व छुटबारे महिला अनभिज्ञ

सुर्खेत, ४ पुस ।
सरकारले महिलालाई आत्मनिर्भर बनाउन लघु तथा घरेलु उद्योग सञ्चालनमा सहुलियतको व्यवस्था गरेको छ । महिलाहरूले आयआर्जनका लागि सञ्चालन गर्ने लघु तथा घरेलु उद्योग दर्ता गर्दा लाग्ने राजश्वमा छुट दिने उल्लेख छ । तर जिल्लामा यही सहुलियतको बारेमा महिलाहरू अनभिज्ञ छन् । जसका कारण महिलाहरूले राज्यले प्रदान गर्दै आएको यो सेवा लिन सकेका छैनन् ।


महिलाको नाममा लघु तथा घरेलु उद्योग दर्ता गर्दा लाग्ने राजश्वमा छुट पाइने भए पनि यहाँका महिलाहरू यसबारेमा जानकार नै छैनन् । सरकारी सेवाबारे जानकारी नहुँदा महिलाहरू यो सुविधाबाट वञ्चित हुन पुगेका छन् । यसको परिणाम जिल्लामा महिला उद्यमीहरूको संख्या बढ्न सकेको छैन । अर्कोतर्फ महिलालाई लघु उद्यमबाट आत्मनिर्भर बनाउने सरकारी योजनासमेत अलपत्र परेको छ । सरकारी सहुलियतबारे प्रचार नहुँदा लक्षितवर्गले यसको उपभोग गर्न नसकेका हुन् ।
सरकारले दिएको सहुलियत लिने महिला उद्यमीहरूको संख्या जिल्लामा न्यून रहेको छ । सरकारले जारी गरेको औद्योगिक व्यवसाय ऐन २०७३ अनुसार लघु उद्यम र महिला उद्यमीहरूलाई विशेष सहुलियत र अधिकार दिएको छ । ऐन अनुसार महिलाको स्वामित्वमा उद्योग दर्ता गर्दा रजिष्ट्रेशन शुल्कमा ३५ प्रतिशत छुट हुने र बौद्धिक सम्पत्ति सम्बन्धी उद्योग दर्ता गर्दा २० प्रतिशत सहुलियत हुने व्यवस्था गरिएको छ । तर सुर्खेतमा भने चालु आर्थिक वर्षमा १० जना महिला उद्यामीले मात्रै छुटका लागि निवेदन दिएका छन् । घरेलु तथा साना उद्योग विकास समितिमा चालु आवमा दर्ता भएका उद्योग मध्ये ६६ वटा उद्योग महिलाका नाममा दर्ता भएका छन् । समितिको तथ्यांक अनुसार चालु आवमा लघु उद्योग, घरेलु र साना उद्योग गरी ६ सय १५ वटा उद्योग जिल्लामा थपिएका छन् ।
जसमध्ये ७५ वटा लघु उद्योग, दुईसय ५५ घरेलु उद्योग, दुई सय ५५ साना उद्योग र उत्पादनमूलक ३० उद्योग दर्ता भएका छन् । उक्त उद्योगबाट आठ लाख ६५ हजार दुई सय ५० रूपैयाँ राजस्व संकलन भएको घरेलु तथा साना उद्योग विकास समितिका टोपेन्द्र बिसीले बताए । कार्यालयको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाले व्यवसाय सञ्चालनका लागि सस्तो ब्याजदरमा ऋण दिएकाले महिला उद्यमी बढे पनि उद्योग दर्तामा छुट भने कमैले मात्र लिने गरेका हुन् । महिलालाई घरेलु तथा साना उद्योग दर्ता गर्दा छुट लिने महिला उधमीहरूको संख्या न्यून रहेको बताइएको छ । ग्रामीण क्षेत्रमा देखिएको गरिबी न्यूनीकरणका लागि स–साना उद्योगको धेरै ठूलो भूमिका रहने भएकाले पनि सरकारले छुट दिदै आएको घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख शम्भुप्रसाद पौडेलले बताए ।
‘साना उद्योग कम लगानीमा नै सञ्चालन गर्न सकिन्छ’ उनले भने, ‘अर्कोतर्फ कमजोर आर्थिक अवस्था भएका महिलालाई आत्मनिर्भर बनाउन सरकारले छुट पनि दिने गरेको छ ।’ सरकारले महिलाका नाममा उद्योग दर्ता भए छुट दिने गरे पनि आवश्यक जानकारी नभएकाले र आवश्यक कागजातको झण्झटले कमै महिला उद्यमीले दर्ता राजस्वमा छुट लिने
गरेको उनको भनाइ छ । उद्यममा लागेका महिला आत्मनिर्भर बन्दा महिलामाथि हुने हिंसामा कमी आएको महिला अधिकारकर्मीहरू बताउँदै आएका छन् । आर्थिक अवस्था कमजोर हुँदा महिलामाथि हिंसा बढिरहेको उनीहरूको आंकलन छ । आर्थिक रूपमा सवल भए महिला लघु तथा घरेलु उद्योग अन्तर्गत ढाकाकपडा, टेलरिङ, ब्यूटीपार्लर, मोबाइल मर्मत, ड्रेस डिजाइन, वर्कसप, फर्निचर, भेनियर, जुस र वाइन फर्निचर पर्छन् । यस्तै हस्तकला, मुढा, कुचो उद्योग, चिया उद्योग, दुग्ध प्रशोधन परिकार, पशुपालन, अचार, आलु चिप्स, खाडी कपडा, अलैंची प्रशोधन, नेपाली हाते कागज, अदुवा प्रशोधन, होटल, ट्रेकिङ र प्याराग्लाइडिङ पनि यसैमा पर्छन् । अगरबत्ती, चाउचाउ बनाउने, खुकुरी बनाउने, चक बनाउने, छालाका विभिन्न तयारी वस्तु, छाला प्रशोधन, जुत्ता सिलाइ तथा मर्मत, झोला बुनाइ, छ्वाली हस्तकला, ढाकी बुनाइ र डोरी बनाउने पनि लघु तथा घरेलु उद्योगभित्र पर्छन् । यस्तै पुरुषका लागि कपाल कटाइ, बेकरी, धातुका भाँडाकँुडा, माटाका भाँडा बनाउने, मोटरसाइकल मर्मत, मौरीघार निर्माण, मौरीपालन र मह प्रशोधन उद्योगहरू पनि सुर्खेतमा बृद्धि भएका छन् ।

प्रकाशित मितिः   ५ पुष २०७४, बुधबार १५:५१