प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनः उम्मेदवारी दर्ता भोलि

सुर्खेत, १५ कार्तिक ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । जिल्ला निर्वाचन आयोग सुर्खेतले मंगलवार निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको जानकारी दिएको हो । दोस्रो चरणका लागि मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मनोनयन दर्ता भोलि बिहीवार हुनेछ ।


दोस्रो चरणमा मंसिर २१ गते हुने निर्वाचनका लागि भोलि बिहीवारका लागि उम्मेदवारहरूको मनोनयन दर्ता बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचन आयोग सुर्खेतले जानकारी दिएको छ ।
उम्मेदवारको बन्दसूची सार्वजनिक गर्ने मिति कार्तिक १७ गतेका लागि तोकिएको छ । दाबी विरोधका लागि कार्तिक १७ गते साँझसम्म हुनेछ । प्रतिनिधिसभाका लागि उम्मेदवार दिनेहरूका लागि १० हजार र प्रदेशसभाका लागि पाँच हजार शुल्क लाग्ने निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत मोहनसागर बस्यालले बताए ।
उम्मेदवारको बन्दसूचीमा समावेश उम्मेदवारको योग्यता सम्बन्धमा दाबी विरोध गर्न निवेदन दिने मिति कार्तिक १८ गते रहेको निवार्चन अधिकृत बस्यालले जानकारी दिए । चुनावको प्रचार–प्रसारका लागि सवारी साधनको प्रयोग गर्न नपाइने उनको भनाइ थियो । उनले कार्तिक १९ गते चुनाव चिन्ह प्रदान गरिने बताए ।
उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन ऐनले दिएको अधिकार प्रयोग गर्दै निर्वाचन आचारसंहितालाई सबै दल र कार्यकर्तालाई पालना गर्न आग्रह गरेका छन् । आचारसंहिता सुरक्षा निकाय, स्थानीय निकाय÷तह, सरकारी तथा अर्धसरकारी, सार्वजनिक संस्थानका कार्यालय तथा सार्वजनिक पद धारण गरेका व्यक्ति, पत्रकार र कर्मचारीलाई लागू हुनेछ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुनेको हकमा भने यो आचारसंहिता मनोनयन दर्ता भएको मितिदेखि लागू हुने निर्वाचन अधिकृत बस्याले बताए ।

प्रकाशित मितिः   १५ कार्तिक २०७४, बुधबार १५:४३