कांगे्रसलाई ‘शून्य’ बनाउने दाबी

सुर्खेत, १५ कार्तिक ।
चुनावी तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्र सामेल वामगठबन्धनले सुर्खेतमा कांग्रेसलाई शून्य बनाउने दाबी गरेको छ । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेस पराजित हुने र आफूहरूले एकलौटी जित्ने दाबी वाम गठबन्धनले गरेको छ । केन्द्रमा चुनावी तालमेल गर्ने सहमति भएपछि सुर्खेतमा मंगलवार पहिलो पटक संयुक्त कार्यकर्ता भेला आयोजना गरेर गठबन्धनले यस्तो दाबी गरेको हो ।


संयुक्त कार्यकर्ता भेला आयोजना गरेर एमाले र माओवादी नेताहरूले यसपालीको निर्वाचनमा कांग्रेस पराजित हुने बताए । प्रदेश नम्बर ६ मा नै गठबन्धनले विजय प्राप्त गर्ने भन्दै नेताहरूले प्रदेश र प्रतिनिधिसभामा कांग्रेस शून्य हुने दाबी गरेका हुन् । भेलालाई सम्बोधन गर्दै एमालेका पोलिटब्यूरो सदस्य यामलाल कँडेलले भने, ‘गठबन्धन जोगाएर जाऔं, हाम्रा मतदाताको संरक्षण गरौं । कांग्रेस मुक्त जिल्ला त नभनौं, प्रदेश र प्रतिनिधिसभामा उसका जनप्रतिनिधि शून्य हुनेछन् ।’ वामपन्थीहरूको एकताबाट जनतामा उत्साह पैदा भए पनि कांग्रेस आत्तिएको भन्दै नेता कँडेलले यो पटक आफूहरूले एकलौटी जित्ने दाबी गरे ।
निर्वाचनपछि एमाले र माओवादी केन्द्रबीच पार्टी नै एकीकरण हुनेसमेत उनले स्पष्ट पारे । यसका लागि पनि निर्वाचनमा एकताबद्ध र संयुक्त रूपमा अभियानहरू सञ्चालन हुने उनले जानकारी दिए । उनले भने, ‘मान्छेहरूले गठबन्धन भत्काउन कसरत गर्दैछन्, विभिन्न बहानामा भोट माग्नेछन् । कसैले पनि दायाँबायाँ नगरौं, एमालेले गोलाकार भित्रको हँसिया हतौडामा र माओवादीले सूर्यमा ढुक्क भएर मतादान गरौं ।’ चुनाव जित्नका लागि मात्र नभइ, पार्टी एकता र समाजवाद स्थापनाका लागि गठबन्धन भएको उनको भनाइ छ । सुर्खेतको मात्र नभइ, समग्र प्रदेश नम्बर ६ को विकास र समृद्धिको खाका आफूहरूसँग भएकाले वाम गठबन्धनलाई मतदान गर्न उनले सबैसँग आग्रह गरे ।
यस्तै भेलालाई सम्बोधन गर्दै माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य नरबहादुर विष्टले समाजवादको लक्ष्य प्राप्त गर्ने साझा मुद्दामा एकमत भएपछि दुई पार्टीबीच एकता प्रक्रिया अगाडि बढेको बताए । उनले भने, ‘विगतमा हामीबीच केही तिक्तता होलान्, अब ती सबै बिर्सेर अगाडी बढौं । साना विषयमा अल्झेर उपलब्धी प्राप्त हुँदैन, चुनावबाट बहुमत
प्राप्त गरेर सहिदको सपना र जनताका आकांक्षा पूरा गर्न सकिन्छ ।’ उनले भने दुवै पार्टीका कार्यकर्ताहरूलाई उत्साहका साथ जनताको बीचमा जान आग्रह गरे । चुनावमा कांग्रेसले हार्दा जनताको जीत हुने भन्दै उनले व्यक्तिगत इच्छा र चाहनालाई थन्काएर चुनावमा होमिनुपर्ने उल्लेख गरे ।
जिल्लामा पहिलो पटक संयुक्त कार्यकर्ता भेलाको आयोजना गरेका एमाले र माओवादीले उम्मेदवारी दर्ताको दिन संयुक्त जुलुस लैजाने भएका छन् । यस्तै गाउँ तहसम्म संयुक्त प्रचारसमिति गठन गर्ने र एकैसाथ मत माग्न जाने तयारी गठबन्धनको रहेको छ । भेलामा जिल्लाभरका एमाले र माओवादीका अगुवा कार्यकर्ता सहभागी थिए । माओवादी सुर्खेतका संयोजक कृष्ण जिसीको अध्यक्षतामा भएको भेलामा एमाले नेताहरू बालाराम शर्मा र देवेन्द्र बिसीले पनि सम्बोधन गरेका थिए । कम्यूनिष्टहरू एक हुँदा जनताको मुक्ति सम्भव हुने र विकासले पनि गति लिने उनीहरूको भनाइ छ । यसका लागि पनि वामगठबन्धनलाई मतदान गर्नुपर्ने र जिताउनुपर्नेमा उनीहरूले जोड दिए ।
यसअघि एकले अर्काको विरोध गर्दै आएका एमाले र माओवादीका कार्यकर्ताहरूमा मंगलवार भने उत्साह थियो । संयुक्त रूपमा चुनावी अभियान सुरु भएसँगै उनीहरूले विगतमा तिक्ततालाई भुलेर विजयका लागि तयार हुनुपर्ने बताए । साथै उनीहरूले पार्टी नै एकीकरण हुने भएकाले अन्तरघात नहुने विश्वास गरेका छन् ।

प्रकाशित मितिः   १५ कार्तिक २०७४, बुधबार १५:४५