८० प्रतिशत खेतीयोग्य जमिन सिँचाइविहीन

सुर्खेत, २ असोज ।
मध्यपश्चिममा साढे चार लाख हेक्टर भन्दा बढी खेतीयोग्य जमिन अझैं सिँचाइविहीन छन् । कूल खेतीयोग्य जमिनमध्ये ८० प्रतिशत जमिन सिँचाइ सुविधाबाट वञ्चित भएको पाइएको छ ।


मध्यपश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालयको तथ्यांक अनुसार यस क्षेत्रमा पाँच लाख ८५ हजार दुई सय ३९ हेक्टर जमिन खेतीका लागि योग्य छ । तर त्यसमध्ये चार लाख ६६ हजार नौ सय ३७ हेक्टर जमिनमा भने अझै पनि सिँचाइ पुग्नसकेको छैन । जसले गर्दा खेतीयोग्य जमिनमध्ये एक लाख ३५ हजार सात सय ७० हेक्टर जमिनमा खेती नै हुनसकेको छैन भने खेती गरिएको जमिनमा पनि सिँचाइ अभावले लगानी अनुसारको उत्पादन लिन नसकिएको जनाइएको छ ।
यस क्षेत्रका १५ जिल्लाको कूल खेतीयोग्य जमिन पाँच लाख ८५ हजार दुई सय ३९ हेक्टर मध्ये अहिले एक लाख १८ हजार तीन सय दुई हेक्टर जमिनमा मात्र वर्षभरी सिँचाइ पुगेको छ । यो कूल खेतीयोग्य जमिनको २० प्रतिशत मात्र हो । ८० प्रतिशतभन्दा धेरै जमिनमा सिँचाइको अभाव रहेको छ । सिँचाइ अभाव भएका ठाउँमा खेतीका लागि आकाशे पानीको भर पर्नुपर्ने अवस्था रहेको छ । कूल खेती योग्य जमिनमध्ये हाल चार लाख ४९ हजार चार सय ६९ हेक्टर जमिनमा मात्र खेती गरिएको छ । खेतीयोग्य जमिन भए पनि सिँचाइको अभावका कारण बाँकी जमिन खेतीविहीन बनेका हुन् ।
पाँच वटा सिँचाइ आयोजना सञ्चालनमा
मध्यपश्चिमका १५ जिल्लामा सिँचाइ आयोजनाहरू नै न्यून रहेको पाइएको छ । क्षेत्रीय सिँचाइ निर्देशनालयका अनुसार मध्यपश्चिम क्षेत्रमा अहिले पाँच वटा सिँचाइ आयोजनाहरू सञ्चालन भइरहेका छन् । मझौला सिँचाइ आयोजना, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, नयाँ प्रविधिमा आधारित सिँचाइ आयोजनाहरू मध्यपश्चिमका १५ वटै जिल्लाहरूमा सञ्चालन भइरहेका छन् ।
समुदाय व्यवस्थित कृषि क्षेत्र सिँचाइ आयोजना रुकुमको चौरजहारीमा सञ्चालन भइरहेको छ भने कर्णाली अञ्चल सिँचाइ विकास कार्यक्रम भने कर्णाली अञ्चलका पाँच जिल्लामा सञ्चालन भइरहेका छन् । यी सिँचाइ आयोजनाहरू सम्बन्धित जिल्लाका सिँचाइ डिभिजन र सव–डिभिजन कार्यालयहरूलाई सञ्चालन गर्न जिम्मा दिइएको क्षेत्रीय सिँचाइ निर्देशनालयका लेखाअधिकृत प्रकाश पौडेलले जानकारी दिए । मध्यपश्चिमकोे खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउन यी पाँच योजना सञ्चालन भए पनि खेतीयोग्य जमिनमा सिँचाइ गर्न अपुग रहेको तथांकले देखाएको छ । क्षेत्रीय कृषि निर्देशनालयका प्राविधिक सहायक दिपेन्द्र श्रीवास्तवले खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था गर्नसके मध्यपश्चिमको उत्पादन क्षमता बढ्नुका साथै किसानहरूको आर्थिक अवस्थामा सुधार ल्याउन सकिने बताए । सिँचाइ सुविधाका लागि केही जमिनमा विकल्प नभए पनि धेरै मौसमी सिँचाइको जग्गामा सिँचाइ सुविधाको सम्भावना रहेको उनको भनाइ छ । सिँचाइ अभावकै कारण खाद्यान्न उत्पादनमा ह्रास आउने गरेको छ ।
त्यस्तै सुर्खेत, दैलेख र कालिकोट जिल्लाहरूमा खेतीयोग्य जमिनको आधा भन्दा बढी जमिनमा सिँचाइ अभाव रहेको छ । सुर्खेत जिल्लाको कूल खेतीयोग्य जमिन ५५ हजार दुई सय हेक्टर रहेपनि अहिले १२ हजार दुई ७६ हेक्टर जमिनमा मात्र सिँचाइ भइरहेको छ । यो तथ्यांकलाई हेर्दा सुर्खेत जिल्लामा अझै पनि ४२ हजार नौ सय २४ हेक्टर जमिनमा सिँचाइ अभाव रहेको छ । त्यस्तै दैलेखमा कूल खेतीयोग्य जमिन ४३ हजार एक सय २१ हेक्टर रहेको छ । कूल खेतीयोग्य जमिन मध्ये अहिले दुई हजार पाँच सय ७६ हेक्टर जमिनमा मात्र सिँचाइ भइरहेको छ भने ४० हजार पाँच सय ४५ हेक्टर खेतीयोग्य जमिनमा अझै सिँचाइ पुग्नसकेको छैन ।
कालिकोटको कूल खेतीयोग्य जमिन १७ हजार नौ सय ८४ हेक्टर जमिन भए पनि दुई हजार पाँच सय नौ हेक्टर जमिनमा मात्र सिँचाइ भइरहेको छ । यो तथ्यांकलाई हेर्दा कालिकोटमा १५ हजार चार सय ७५ हेक्टर खेतीयोग्य जमिनमा अझैसम्म सिँचाइ पुग्नसकेको छैन ।

प्रकाशित मितिः   ३ आश्विन २०७४, मंगलवार १५:५९