जापान पठाइदिन्छु, भन्दै लाखौं ठगी

सुर्खेत, २ असोज ।
लेखफर्सा सुर्खेतका प्रेम सलामी रोजगारीको खोजीमा थिए । १० लाख रूपैयाँ खर्च गरेर जापान जान पाइने खबर उनको कानमा प¥यो । उनलाई यस्तो खबर सुनाउने साथीभाइले भीसाका लागि अग्रीम पैसासमेत बुझाइसकेका थिए । जापान गएर मनग्य कमाइ गर्न सकिने लोभले उनी पनि हौसिए । सहकारीबाट ऋण गरेर एक लाख रूपैयाँ बुझाए । तर उक्त एक लाख रूपैयाँ बुझाएको तीन वर्ष बितिसक्दा पनि उनी जापान उड्न पाएनन् । बरु हालै मात्र उनले आफू ठगिएको चाल पाए ।
यसरी ठगिनेमा प्रेम सलामी एक्लै भने होइनन् । उनीसँगै सुर्खेत र बाँकेका २० जना युवा ठगिएका छन् । बुटवल उपमहानगरपालिका १८ का गुरूप्रसाद चालिसेले उनीहरूलाई जापान पठाइदिन्छु भन्दै पैसा ठगेका हुन् । उनले २० जनाबाट प्रतिव्यक्ति एक लाख रूपैयाँको दरले रकम लगेका छन् । ‘नक्कली डिमाण्ड लेटर र एग्रीमेन्ट पेपर देखाएर जापान पठाइदिन्छु भन्दै पैसा उठायो’ ठगिएका सलामीले भने, ‘तर झुटो आश्वासन देखाएर ठगेको रहेछ ।’ उनका अनुसार चालिसेले २०७१ कात्तिकदेखि चैत्र मसान्तसम्म २६ जनाबाट जनही एक लाखको दरले रकम असुलेका थिए । उनीहरूले चालिसेको बैंक खातामा पैसा जम्मा गरिदिएका थिए । जसको भौचर पीडितहरूसँग सुरक्षित छ ।
पैसा खातामा जम्मा गरिदिएको भौचरबाहेक पीडितहरूसँग अरु कुनै कागज वा प्रमाण छैन । विश्वासकै आधारमा पैसा बुझाएको उनीहरूले बताएका छन् । ‘कामदार भीसामा जापान पठाउँछु भन्यो, विश्वास गरेर पैसा बुझायौं’ पीडित मिथुनकुमार चन्दले भने, ‘पैसा बुझाएको लामो समयसम्म पनि भीसा नआएपछि सोधखोज गर्दा उसले त हामीलाई ठगेको रहेछ ।’ बुझाएको पैसा फिर्ता माग्दा पनि अहिलेसम्म नपाइएको उनले जनाए । तर चालिसेले पटक पटक पैसा दिन्छु भनेर झुक्याएको उनी बताउँछन् । ‘केही व्यक्तिहरूलाई त चेक पनि दिएको छ तर खातामा पैसा नै छैन’ उनले भने ।
पीडितहरूले सोमवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी आफूहरू ठगिएको भन्दै दिएको पैसा फिर्ता गराउन पहल गरिदिन आग्रह गरेका छन् । ठगिएका २० जना युवाहरूले पत्रकार सम्मेलन गरी न्यायका लागि पहल गरिदिन अनुरोध गरेका हुन् । उनीहरूले अब प्रहरीमा उजुरी दिने तयारी गरिएको जानकारी दिए ।

प्रकाशित मितिः   ३ आश्विन २०७४, मंगलवार १५:५८