‘झुप्रा खानेपानीको चुनावले राजनीतिक रहर जगायो’

उनले ३२ वर्ष नौ महिनासम्म सरकारी सेवामा रहेर बिताए । जागिरबाट अवकाश पाएसँगै दुई वर्ष पहिले झुप्रा बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सदस्य पदमा निर्वाचित भए । त्यही बेलाबाट उनलाई राजनीतिक रहर जाग्यो । उनी राम्रो विचार र सकारात्मक सोच भएको पार्टीको खोजीमा थिए । अन्ततः केहीदिन पहिला मात्र उनी नयाँ खुलेको विवेकशील साझा पार्टीमा होमिए । एकाएक विवेकशील साझा पार्टी सुर्खेतको जिल्ला संयोजक बनेका उनै ओमदत्त रेग्मीसँग उनको राजनीतिक यात्रा, अबको योजना र आगामी कार्यदिशाबारे हाम्रा सहकर्मी गीता थापाले कुराकानी गरेकी छन् । प्रस्तुत छ, रेग्मीसँग गरिएको कुराकानीको सारांशः

एकाएक राजनीतिमा होमिनुभयो नि ?
म परिवर्तनको खोजी गरिरहने मान्छे हुँ । त्यो मौका एकास्सी मिल्यो । मैले यसभन्दा अगाडि कुनै पार्टीमा आस्था राखे पनि सदस्यता भने लिएको थिइन । अहिले साझा पार्टीको जिल्ला संयोजक भएर नै राजनीतिमा लागें । साझा पार्टी नयाँ पार्टी हो, नयाँ सोचका साथ सकारात्मक कुराको खोजी गर्ने पार्टी भएकाले पनि म यस पार्टीमा एकाएक नै होमिए भन्नुपर्छ ।
सरकारी सेवाबाट निवृत्त भएर बसेको मान्छे राजनीतिमा लाग्ने प्रेरणा कहाँबाट मिल्यो ?
मैले दुई वर्ष पहिला झुप्रा बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा सदस्य पदमा उम्मेदवारी दिएँ । र निवार्चित पनि भएँ । त्यो पनि मेरा लागि राजनीतिमा लाग्ने प्रेरणा नै हो । त्यतिबेला म पार्टीबाट गएको थिइन । बाहिर पार्टीगत रूपमा गएको देखिए पनि म स्वतन्त्र रूपमा नै उठेको थिएँ । यसैबीचमा साझा पार्टीको जन्मभयो । यो पार्टी अन्य पार्टी भन्दा फरक विचारधारा बोकेको र सबै पार्टीमा रहेका राम्रा कुरालाई समेटेर आएको पार्टी भएकाले यो पार्टी नै मेरा लागि उपयुक्त हो भन्ने लाग्यो । विवेकशील साझा पार्टीमा औपचारिक रूपमा प्रवेश गरेर राजनीतिमा होमिएँ ।
यसअघि नेपाली कांग्रेसप्रति आस्थावान हुनुहुन्थो, अहिले साझा पार्टी नै किन रोज्नुभयो ?
नेपाली कांग्रेसभित्र वीपी कोइरालाका राम्रा विचार सबै साझा पार्टीमा समावेश गरिएको छ । फेरि म नेपाली कांग्रेसमा आस्था राख्ने व्यक्ति थिएँ । तर पार्टीको सदस्यता लिएर राजनीति गरेको भने थिइन । यसैबीचमा सबै पार्टीका राम्रा विचारधारा बोकेको र राम्रा विचारहरू समावेश गरी आएको नयाँ पार्टी साझा पार्टी मलाई मनप¥यो । साझा पार्टीको विद्यान र दर्शन अरुभन्दा व्यवहारिक छ । प्रजातान्त्रिक पद्दतिमा विश्वास राख्ने पार्टी हो यो । विधिको शासन हुनुपर्छ भन्ने मान्यता यो पार्टीले बोकेको छ । त्यही भएर नै मैले साझा पार्टी रोजेको हुँ ।
कांग्रेसभित्र स्थान बनाउन नसकेर नयाँ पार्टीमा लाग्नुभएको त होइन ?
नेपाली कांग्रेसभित्र गुट र उपगुट धेरै छन् । नेपाली कांग्रेसमा लाग्ने व्यक्तिले सम्भावना पहिल्याउन जान्नुपर्छ । फेरि मलाई पदको लोभ थिएन । मलाई त सकारात्मक सोच राख्ने र पार्टीलाई स्वच्छ बनाउने पार्टी मनपर्ने भएकाले साझा पार्टीमा आएको हुँ । म नेपाली कांग्रेसमा स्थान पाइन भनेर साझा पार्टीमा आएको भने होइन । कुनै सार्वजनिक पद लिने र माथिसम्म पुग्ने मेरो लोभ पनि छैन । हामीले त युवाहरूलाई माथीसम्म जाने टेका बनाइदिने हो । अब हामी भन्दा पनि युवालाई माथि पु¥याउने हाम्रो लक्ष्य र उद्देश्य हो । त्यही टेको बन्ने मेरो प्रयास हो ।
पार्टीको जिल्ला संयोजक बन्नुभएको छ, के छन् त आगामी योजना ?
हाम्रो पार्टीको आगामी योजना भनेको भर्खरै पार्टी विस्तार हुँदैछ । हामी यसैमा लागि परिरहेका छौं । हाम्रो योजना अब टोल, वडा र स्थानीय तहसम्म पार्टीको संगठन समिति गठनको प्रक्रिया अगाडि बढाउने हो । असोजको दोस्रो हप्तासम्म स्थानीय तहको सबै संयोजक तोकिसक्ने योजना छ र, मंसिर १० गतेको चुनावको पनि तयारी गरिरहेका छौं । अहिलेको मुख्य योजना भनेकै संगठन विस्तार र आउँदो चुनावको तयारी नै हो ।
केन्द्र र प्रदेशसभाको निर्वाचन आउँदैछ, उक्त चुनावमा कसरी जाने योजना बनाउनु भएको छ ?
चुनावमा जानको लागि स्थानीय तहको संयोजक तोकिपछि त्यही समिति परिचालन गरेर चुनावको व्यापक प्रचार–प्रसार गर्ने तयारीमा छौं । टोल, वडा र स्थानीय तहमा संयोजकसहित समिति गठन भइसकेपछि सल्लाह गरेर प्रदेश र केन्द्रको उम्मेदवारको घोषणा पनि गर्नेछौं ।
संगठन बलियो नबनाइ चुनाव जितिदैन, संगठन कसरी मजबुद बनाउनुहुन्छ ?
यो एकदमै सही कुरा उठाउनुभयो । संगठन बलियो नभएसम्म कुनै पनि काम गर्न सम्भव हुँदैन । यसअघिको स्थानीय तहको चुनावमा पनि काठमाडौंबाट फरक–फरक पार्टीबाट उम्मेदवार दिएर पनि अन्य पार्टी भन्दा अग्रस्थानमा आएका विवेकशील र साझा पार्टी अब एकीकृत भइसकेका छन् । त्यसैले पनि अब साझा पार्टी मजबुद बन्दै गएको छ । चुनाव सँगसँगै पार्टी विस्तारको काम पनि हुन्छ । सबैलाई गोलबन्द गर्दै परिवर्तन चाहनेहरूसँग हातेमालो गर्दै हामी संगठनलाई मजबुद बनाउनेछौं । आफ्ना योजना, कार्यदिशा र रणनीति जनताको बीचमा गएर बुझाउनेछौं ।
सुर्खेतमा साझा पार्टीलाई कस्तो बनाउने परिकल्पना गर्नुभएको छ ?
साझा पार्टी भर्खरै स्थापना भएको पार्टी हो । तर पनि यस पार्टीतर्फ युवाहरूको आकर्षण बढ्दो छ । केन्द्रमा मात्र नभएर सुर्खेतमा पनि साझा पार्टीको सदस्यता लिनेक्रम बढ्दो छ । हामी अहिले पार्टी सदस्यता वितरणमा नै बढी व्यस्त छौं । युवाहरूको पूर्णरूपमा समर्थन बढ्दै गएको छ । सुरुवाती अवस्था हो, भविष्यमा साझा पार्टी बलियो पार्टी बन्छ । केही वर्षभित्र नै हाम्रो पार्टी जिल्लामा रहरलाग्दो र सबैको आकर्षणको केन्द्र बन्नेछ । त्यसका लागि हामी निरन्तर प्रयासरत छौं ।
आवद्ध हुन चाहने सबैलाई पार्टीमा राख्नुहुन्छ ?
पार्टीको विद्यान पास हुँदैछ । विद्यान अनुसार हामीले सदस्यता वितरण गर्नेछौं । विद्यालयमा हाम्रो विद्यार्थी संगठन हुनेछैन । सरकारी सेवामा प्रवेश गरेका व्यक्ति, शिक्षक र अदालतले दोषी मानिएका व्यक्तिलाई हामीले पार्टीको सदस्यता दिदैनौं । हाम्रो पार्टीको विचारलाई राम्रो मान्ने र पार्टीमा प्रवेश गर्न आउने अरु सबैलाई हामी स्वागत गर्न तयार छौं ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
अन्त्यमा, म के भन्न चाहन्छु भने समाज र देशलाई सकारात्मक परिवर्तनका लागि सकारात्मक सोच भएका नेपालीहरू एकजुट हुन जरुरी छ । यसकै लागि विवेकशील साझा पार्टी स्थापना भएको हो । म सबै आम नेपाली दाजुभाइ दिदीबहिनीलाई विवेकशील बनेर पार्टीको छनौट गर्नुहुन आग्रह गर्न चाहन्छु ।

प्रकाशित मितिः   १५ भाद्र २०७४, बिहीबार १६:१२