‘चिनजान भएको पाँच महिनामा भाग्यौं’
अरु भन्दा बेग्लै । सयौं मान्छेको भीडमा पनि ‘सिम्पल’ देखिएकी थिइन् उनी । सरल, लजालु स्वभावकी । उनलाई देख्ने जो कोही पनि मोहित हुन्थे । गुलावी रङ्गको कुर्तासुरुवाल लगाएकी युवतीले मिथिलेस महतरा (एम सी) को मन लोभ्यायो । बाटोमा हिँडिरहेका मानिसको भीडमा पनि ती युवतीमाथि एमसीको नजर पर्न गयो । एकै नजरमा मन परेकी ती युवती अरु कोही नभएर जानकी रावत थिइन् ।
बाटोमा हिँडिरहेका बेला एमसीले उनलाई पिपल चौतारामा देखेका थिए । जानकीको बुबाको फेन्सी पसल पिपलचौतारा नजिकै भएकाले उनी कहिले काही पसलमा बस्थिन् । एमसीलाई अब उनलाई दिनदिनै देख्नुपर्ने भएको थियो । किनकी उनले जानकीलाई मन पराइसकेका थिए । एमसीले ट्युसन पढाउँथे, जानकी पढ्न जान्थिन् । तर, एमसीसँग भने जानकीले ट्युसन पढ्न गइनन् । नजिकै भएकाले दिनहुँ जसो भेट भइरहन्थ्यो । एक दिन आचार्य होटलमा नास्ता खान जानकी र उनका साथी गएका थिए एमसी पनि टुप्लुक्क त्यही पुगे । त्यहि दिन उनीहरू बीचमा पहिलो पटक कुराकानी भएको थियो ।
विस्तारै उनीहरूको भेटघाट बाक्लिदै गयो । दुवैले एकअर्काेलाई मन पनि पराउन थाले । तर दुवैले एकअर्काेलाई मन पराएको कुरा मुख खोलेर भन्न सकेनन् । दुवैको आँखाले थाहा पाइसकेको थियो एकअर्कोले मन पराएको कुरा । त्यस समयमा एमसीले जानकीलाई एउटा कुरा भनेका थिए, ‘कतिपय कुरा भन्न सकिदैन कतिपय कुराहरू मनले नै भन्छ र मनले नै बुझ्छ ।’ यी शब्दले जानकीले थाहा पाइसकेकी थिइन् की मन पराउँछु भन्न नसके पनि एमसीले आफूलाई मन पराउँछन् भन्ने । उनीहरू एकअर्काेसँग चिनजान भएको पाँच महिनामा नै भागी विवाह गरे । दुवैले एकअर्काेको भावना बुझे अनि २०६३ सालमा भागी विवाह गरे ।
…
पिता डा. तानसेन महतरा र माता कमला महतराको कोखबाट २०४२ सालमा प्युठानमा जन्मिएका मिथिलेस महतरा
(एमसी) को बाल्यकाल रमाइलोसँग बित्यो । बाल्यकालदेखि नै अलि बढी चञ्चले स्वभावका एमसी पाँच वर्षको हुँदादेखि नै होस्टेलमा बसेर पढे । एसएलसी पास गरेपछि उनी उच्च शिक्षा पढ्न काठमाडौं गए । काठमाडौंबाट कक्षा १२ पास गरेका एमसीले स्नातक पनि त्रिचन्द्र कलेजबाट पास गरे । स्नातक पास गरेर सुर्खेत फर्केका एमसीले इगरब्रिजबाट शिक्षण पेसा सुरु गरे । शिक्षण पेसाकै शिलशिलामा उनी सुर्खेत, दैलेख प्युठान, मुगुसम्म पुगे । शिक्षण पेसामा १४ वर्षको अनुभव संगालेका एमसीले अहिले भने इन्टरनेशनल को–अपरेटिप एकेडेमी र सिद्धपाइला मल्टीपल एकेडेमीमा अध्यापन गराइरहेका छन् ।
…
पिता शेरबहादुर रावत र माता सुमित्रा रावतको कोखबाट २०४४ सालमा दैलेखमा जन्मिएकी जानकीको बाल्यकाल रमाइलो र सुखमयसँगै बित्यो । तीन भाईकी एक्ली घरकी जेठी छोरी भएका कारण पनि सबैको माया ममतामा हुर्किएकी जानकीले दैलेखमा जन्मिए पनि सुर्खेतमा नै बाल्यकाल बिताइन् । बाल्यकालमा लजालु स्वभावकी जानकी हत्तपत्त अरुसँग धेरै बोल्थिनन् । अरनिको बोर्डिङ्गमा कक्षा ८ सम्म पढेकी जानकीले माओवादीले बोडिङ्ग स्कुलहरू बन्द गरिदिएपछि भने जन माविबाट एसएलसी पास गरिन् । सुर्खेत शिक्षा क्यापसमा कक्षा १२ पास गरेकी जानकीले पढाइ थाती राख्दै घरधन्दामा व्यस्त भइन् ।
…
बाबुआमालाई थाहै नदिएर भागी विवाह गरेका एमसी र जानकीलाई माइतीले केही समय त रिसाए । हरेक बाबुआमाको सपना हुन्छ आफ्ना छोराछोरीले आफूले रोजेको केटाकेटीसँग विवाह गरिदियोस् भन्ने । छोराछोरीको सपना पूरा गर्नका लागि हरेक बाबुआमाले संघर्ष गरेका हुन्छन् । तीनै छोराछोरीले जीवन बिताउने जीवनसाथी रोज्दा भने जन्म दिने बाबुआमालाई नै झुट बोलेर भाग्दा सायद जो कसैको बाबुआमाको मन दुख्ने गर्छ । तर जानकीका बाबुआमा भने छोरीको रोजाइमा सुखी भए । विवाह गरेको एक हप्तामा नै माइतीले उनीहरूलाई बोलाइ हाले ।
विवाहपछि जानकीलाई छोरी र बुहारी हुनुको अनुभव त्यति भएन । एमसीसँगै बस्ने भएकाले पनि उनलाई बुहारी हुनुको अनुभव त्यति भएन । विवाह गरेको पाँच वर्षपछि उनीहरूले आफ्नै फेसन इरा पसल सञ्चालन गरे । जानकी फेन्सी पसलमा व्यस्त हुन्छिन् भने एमसी शिक्षण पेसा र गोर्खा आयुर्वेदिक डिर्लरमा व्यस्त हुने गर्छन् ।
विवाहपछि यो जोडीको एकआपसमा झगडा सुरुमा सामान्य भए पनि पछि भने दैनिकी झगडा हुन थाल्यो । सानो–सानो कुरामा पनि यो जोडी एकआपसमा झगडा गरिहाल्थे । उनीहरू जब जीवन जिउने कला सिक्न गए डा. कञ्चन घिमिरेले उनीहरूको जीवनमा नयाँ बहार ल्याइ दिए । एक आपसमा सानो–सानो कुरामा झगडा गर्ने यो जोडी जीवन जिउने कला सिकेपछि अहिले भने एकआपसमा माया बढेको बताउँछन् । सधैं केही न केही कुरामा भना भन भइरहने जोडीको अहिले भने व्यवहारिक कुरा हुन थालेको छ । दुवै जना आ–आफ्नो व्यापार व्यवसायमा व्यस्त रहन्छन् । उनीहरू भन्छन्, ‘झगडा भनेको एकआपसमा समझदारी र विश्वास नभएपछि हुने रै’छ ।’ जब एकले अर्कोप्रति शंका गर्न थाल्छ तब त्यो सम्बन्धमा खटपट भइरहन्छ । अहिले यो जोडी एकआपसमा सबै कुराहरू शेयर गर्ने गर्छन् । त्यसकारण पनि झगडा भएको छैन ।
यो जोडी फुर्सदको समयमा घुम्न पनि जाने गर्छन् । विशेष गरेर बिदा परेको समयमा घुम्न जाने गरेको उनीहरूले बताए । एमसी बाहिरको कामकाजमा बढी व्यस्त हुने भएकाले पनि जानकीलाई घरको काममा त्यति सघाउँदैनन् । जानकी भन्छिन्, ‘बाहिर काममा व्यस्त हुनुहुन्छ, त्यसैले पनि घरको काममा सघाउनु हुन्न म आफै गर्छु ।’
उनीहरू एकअर्काेको जन्मदिन मनाउँछन् । तर गिफ्ट भने दिँदैनन् । घरपरिवार र साथीभाइको माझमा रमाइलो गर्छन् । विवाह वर्ष पनि मनाउँछन् । दुवै जना एकअर्काेको प्रशंसा पनि खुलेरै गर्छन् । एमसीलाई जानकीको सबै बानी मनपर्ने गर्छ । एमसीलाई जानकीको अलि धेरै रिसाउने बानी हटाइ दिएको भए हुन्थ्यो जस्तो लाग्ने गर्छ । त्यस्तै जानकीलाई पनि एमसीको सबै बानी
मनपर्छ । अरुलाई छिटो विश्वास गर्ने बानी भने जानकीलाई अलि मन पर्दैन ।
यो जोडीका लागि जीवन भनेको बाबुआमाले दिएको उपहार हो । जीवन करकलाको पानी हो । उनीहरू जीवनलाई करकलाको पानी जस्तै सम्मालेर राख्नुपर्ने बताउँछन् । उनीहरू भन्छन्, ‘जीवनसाथी भनेका एक रथका दुई पांग्रा हुन्, एक विना अर्कोको अस्तित्व नै रहँदैन ।’ दाम्पत्य सम्बन्धलाई सधैं सफल बनाउनका लागि एकआपसमा सझदारी हुन जरुरी छ । एकअर्को बीचमा जो जहाँ भए पनि दिनभरको कुराको साझ दुवैमा कुरा शेयर भयो भने त्यो सम्बन्धमा कहिले फाटो
आउँदैन । उनीहरूका अनुसार विवाह र प्रेममा भिनन्ता छ । उनीहरू भन्छन्, ‘प्रेम पछि विवाह नहुन पनि सक्छ तर, विवाहपछि प्रेम हुन्छ ।’ सबै प्रेम गर्ने जोडीहरू सफल भएका पनि छैनन् । तर विवाहपछिको प्रेम सफल हुन्छ ।
साझा बिसौनी संवाददाता ।