उपचारले सजिलै निको हुन्छ क्षयरोग

सुर्खेत: गौरी विकलाई केही महिनाअघि क्षयरोग लाग्यो । उनी मात्र होइन, उनकी देउरानी बहिनी पनि क्षयरोगी भइन् । सुरुमा उनलाई खोकी लागेको थियो । खोकी लामो समयसम्म निको नभएपछि सामान्य मेडिकलमा उपचार गरिन् । केही पत्ता लागेन । पछि देउरानीको उपचारमा आएको क्षयरोग नियन्त्रण तथा अनुसन्धानका क्षेत्रमा काम गर्ने संस्था (बीएनएमटी) का कर्मचारीको परामर्श पछि उनलाई शंका लाग्यो । त्यसपछि त्यहाँका कर्मचारीको सहयोगमा उपचार सुरु गर्दा उनलाई क्षयरोग लागिसकेको रहेछ ।

अहिले क्षयरोगको औषधि सेवन गरिरहेको उनले सुनाइन् । उनीहरूलाई क्षयरोग भएको कुरा समाजका सबैलाई थाहा छ । उनले भनिन्, ‘पहिला त मलाई क्षयरोग लाग्यो भनेर परिवारका सदस्यबाहेक अरूलाई भन्न सकेको थिएन, क्षयरोग लागेको भनेर गाउँ कसरी जानु, फेरि गाउँका मानिसले क्षयरोग लिएर आयो भन्ने सोच्लान् भन्ने थियो, अहिले त सबै कुरा सामान्य भइसकेको छ ।’ क्षयरोगलाई कसरी निको गर्ने भनेर स्वास्थ्यकर्मीको सल्लाहमा निरन्तर औषधि सेवन गरिरहेको उनले बताइन् ।

यस्तै, वीरेन्द्रनगरकी नेहा महातरालाई पनि क्षयरोग भएको छ । नियमित औषधि सेवन र स्वास्थ्यकर्मीको परामर्शमा क्षयरोग निको भएको उनले सुनाइन् । सुरुमा उनलाई रोग लाग्नेबित्तिकै धामी झाक्री कहाँ पु¥याइएको थियो । केही वर्षसम्म रोगकै पहिचान नहुँदा निकै सास्ती पाएको उनको भनाइ छ । उनले भनिन्, ‘मलाई क्षयरोग भएको रहेछ, गाउँघरमा धामीझाँक्रीमा विश्वास गर्दा ज्यान नै जाने अवस्था भएको थियो, क्षयरोग नियन्त्रण तथा अनुसन्धानका क्षेत्रमा काम गर्ने संस्था (बीएनएमटी) को परामर्श र सहयोगमा नियमित चेकजाँच गर्दा निको भएको छु ।’ क्षयरोग कुनै पाप नभएर रोग भएको र उपचारपछि निको हुने उनको विश्वास रहेको छ ।

गौरी र नेहा त प्रतिनिधि पात्र मात्र हुन् । समाजमा धेरै क्षयरोगी लुकेर बस्न बाध्य छन् । समाजको डरले रोग पहिचान भएपनि लुकाउने तथा रोग पहिचान हुनै हम्मेहम्मे हुने गरेको छ । नेपालमा वार्षिक नयाँ–नयाँ क्षयरोगी भेटिने गर्छन् । यति धेरै संख्यामा क्षयरोगी थपिँदा समेत क्षयरोगी चिन्न गाह्रो हुन्छ । समाजको डरले रोग लुकाएर राख्ने गरेको पाइएको छ ।

 

फोक्सोमा लाग्ने टिबी बिरामीको सामाजिक सुरक्षाको सवाल

फोक्सोमा लाग्ने टिबी बिरामीको सामाजिक सुरक्षाको सवाल जटिल बन्दै गएको नेपालमा क्षयरोग नियन्त्रण तथा अनुसन्धानका क्षेत्रमा काम गर्ने संस्था बीएनएमटीका अनुसन्धान प्रबन्धक डा. कृतिका दिक्षितले बताइन् । क्षयरोगको औषधि सेवन तथा खानपानमा ध्यान दिए निको हुने उनको सुझाव छ । उनले भनिन्, ‘क्षयरोग पत्ता लागेका बिरामी माया स्याहार आवश्यक हुन्छ तर समाज र परिवारबाट लाञ्छना भोग्नुपरेको छ, हामीले यी कुरामा सकारात्मक सन्देश पठाउन जरुरी छ, सकेसम्म बिरामी उनका परिवार र समाजलाई नै सुशुचित पारे रोगको उपचार हुन्छ ।’ स्वास्थ्य संस्थाबाट औषधिसँगै मानसिक रूपमा परामर्श आवश्यक रहेको भन्दै उनले प्रत्येक स्थानीय तह र स्वास्थ्यकर्मीलाई यसमा विषयमा जानकारी गराउनुपर्ने बताइन् । बिएनएमटीबाट सञ्चालन गरिएको क्षयरोगका बिरामीका लागि सञ्चालन गरिएको सामाजिक सुरक्षा अन्तर्गतको परियोजनामा बिरामीको घरमा गएर स्थानीय स्वयम्सेवकहरूले काउन्सिलिङ गर्ने गरेका छन् । कर्णालीका परियोजना लागू भएका स्थानमा टिबी क्लव गठन गरिएको छ । क्लबमार्फत पैरवी गर्ने, सकारात्मक सूचना प्रवाह गर्ने काम भइरहेको छ ।

परियोजनाले टिबी लागेका बिरामीहरूले व्यहोर्नु परेको आर्थिक भार कम गर्न पोषण र यातायातका लागि प्रति महिना बिरामीलाई तीन हजार दिने गरिएको छ । क्षय रोग अन्त्यका लागि सरकारले औषधि र उपचार मात्र निःशुल्क भएर सम्भव नहुने, उनीहरूलाई मानसिक सामाजिक र आर्थिक सहयोग आवश्यक पर्ने उनको भनाइ छ । बिएनएमटीले २६ जिल्लामा क्षयरोग न्यूनीकरणमा काम गरिरहेको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्यांक अनुसार क्षयरोग लागेका ५१ प्रतिशत बिरामीहरूले ठूलो आर्थिक भार खेप्नु परेको छ । जसले गर्दा उनीहरू अझै गरिबीको रेखामुनी गएका छन् । बिएनएमटीले गरेको अध्ययनले ५० प्रतिशत व्यक्तिहरूमा टिबीसँग सम्बन्धित भेदभाव र लाञ्छना भोग्नु परेको छ । उपचारको अन्तिम चरणमा पुग्दा पनि एक तिहाइ बिरामीले डिप्रेसनको समस्याबाट गुज्रिएको उनले जानकारी दिइन् । अझै पनि समाजले क्षयरोगीलाई हेर्ने दृष्टिकोण पुरानै रहेको तथा समाजमा तिरस्कृत हुने डरले क्षयरोगी खुल्न नसकेकाले रोगीलाई हेर्ने समाजको दृष्टिकोणमा परिवर्तन गर्नुपर्नेमा उनको जोड छ । नेपालमा प्रत्येक वर्ष करिब ६९ हजार जना नयाँ क्षयरोगी थपिने गरेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जानकारी दिएको छ ।

प्रकाशित मितिः   १२ मंसिर २०८३, शनिबार १४:०३