कर्णालीमा ५२ जना चिकित्सक थपिने
सुर्खेत: कर्णालीमा ५२ जना विशेषज्ञ चिकित्सक आउने भएका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले एमडी, एमएस र एमडिएस उत्तीर्ण आठ सय ३८ जना विशेषज्ञ चिकित्सकलाई सातै प्रदेशमा खटाएको छ । जसअन्तर्गत कर्णालीमा ५२ जना खटाइएको हो ।
यससँगै विशेषज्ञ उपचारका लागि काठमाडौं तथा ठूला सहर धाउनुपर्ने बाध्यता क्रमशः घट्दै जाने अपेक्षा गरिएको छ । मन्त्रालयको विवरणअनुसार बागमती प्रदेशमा सबैभन्दा बढी दुई सय आठ जना, कोशीमा एक सय ५४ जना, लुम्बिनीमा एक सय ३३ जना र गण्डकीमा एक सय २९ जना विशेषज्ञ चिकित्सक खटाइएका छन् ।
त्यसैगरी मधेस प्रदेशमा ८६, सुदूरपश्चिममा ७६ र कर्णालीमा ५२ जना चिकित्सक खटाइएका छन् । खटाइएकामध्ये पाँच सय ११ जना चिकित्सक प्रदेश स्वास्थ्य मन्त्रालयमा खटिएका छन् भने बाँकी तीन सय २७ जना संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खटाइएका छन् । संघीय सरकारबाट प्रदेशमा खटाइएका चिकित्सकलाई प्रदेश सरकारले आफ्नो आवश्यकता, प्राथमिकता र कार्यक्षेत्रअनुसार स्थानीय तहका स्वास्थ्य संस्थामा परिचालन गरी सेवा प्रवाहलाई थप प्रभावकारी र सहज बनाउन सक्ने व्यवस्था छ ।
यसबाट एनेस्थेसिया, स्त्री तथा प्रसूति रोग, जनरल सर्जरी, हाडजोर्नी, मेडिसिन, आकस्मिक सेवा, आँखा, बाल रोग, दन्त तथा मानसिक स्वास्थ्यलगायतका सेवा सुदृढ भइ सुरक्षित सुत्केरी सेवा, शल्यक्रिया तथा आकस्मिक उपचारमा महŒवपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ ।
प्रकाशित मितिः १२ मंसिर २०८३, शनिबार १४:०४
साझा बिसौनी ।