खेलाडीमा लगानी गर

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशका लागि खेलकुदको उत्सव मात्रै होइन, आफ्नो क्षमता, पूर्वाधार र खेलकुद विकासको अवस्था देखाउने महङ्खवपूर्ण अवसर पनि हो । तर प्रतियोगिता सुरु भएको दोस्रो दिनसम्म घरेलु टोली कर्णाली प्रदेश पदकविहीन रहनुले प्रदेशको खेलकुद तयारी र प्रतिस्पर्धात्मक क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ । आफ्नै भूमिमा आयोजित राष्ट्रिय प्रतियोगितामा अपेक्षित प्रदर्शन गर्न नसक्नु निराशाजनक विषय हो । प्रतियोगिताको प्रारम्भिक पदक तालिकाले नेपाली खेलकुदमा प्रदेश र विभागीय टोलीबीचको प्रतिस्पर्धात्मक अवस्थालाई पनि स्पष्ट पारेको छ । बागमती प्रदेशले अग्रता कायम गरिरहँदा एनआरएनएले विभागीय टोलीलाई समेत पछि पार्दै दोस्रो स्थानमा उक्लिनु उल्लेखनीय छ ।

कर्णाली प्रदेशको पदकविहीन अवस्थालाई केवल खेलाडीको कमजोरीका रूपमा हेर्नु उचित हुँदैन । खेलाडी उत्पादन, प्रशिक्षण, खेल सामग्री, खेल मैदान, पोषण, स्वास्थ्य सेवा र प्रतियोगितामा सहभागिताका अवसरजस्ता आधारभूत पक्षमा प्रदेशले कति लगानी र तयारी गरेको छ भन्ने प्रश्न पनि उत्तिकै महङ्खवपूर्ण छ । राष्ट्रिय प्रतियोगितामा पदक जित्ने लक्ष्य राख्ने हो भने खेलाडीलाई प्रतियोगिताको मुखमा मात्रै तयारी गराएर पुग्दैन । दीर्घकालीन प्रशिक्षण प्रणाली, दक्ष प्रशिक्षक, नियमित प्रतियोगिता र खेलाडीलाई प्रोत्साहन गर्ने वातावरण निर्माण आवश्यक हुन्छ । कर्णालीमा प्रतिभाको अभाव छैन । भौगोलिक कठिनाइ, आर्थिक अभाव र अवसरको कमीबीच पनि यस प्रदेशबाट प्रतिभाशाली खेलाडी जन्मिन सक्छन् । तर प्रतिभालाई पहिचान गर्ने, निखार्ने र राष्ट्रिय स्तरसम्म पु¥याउने संयन्त्र प्रभावकारी हुन सकेको छैन भने त्यसको जिम्मेवारी राज्यका खेलकुद निकाय र प्रदेश सरकार दुवैले लिनुपर्छ । घरेलु प्रतियोगिताको अवसरलाई उपलब्धि बनाउन नसक्नुले तयारीको कमजोरी र व्यवस्थापकीय चुनौती उजागर गरेको छ ।

अब कर्णाली प्रदेशले प्रतियोगिताको बाँकी खेलमा उत्कृष्ट प्रदर्शन गर्ने प्रयाससँगै भविष्यको खेलकुद विकासका लागि स्पष्ट योजना बनाउनुपर्छ । खेलकुद बजेटको प्रभावकारी उपयोग, प्रतिभा छनोट, जिल्लास्तरमा प्रशिक्षण केन्द्र, विद्यालय खेलकुदको विकास र खेलाडीलाई निरन्तर सहयोग गर्ने कार्यक्रम प्राथमिकतामा पर्नुपर्छ । प्रतियोगिता सकिएपछि उपलब्धि र कमजोरीको निष्पक्ष समीक्षा गरी आगामी राष्ट्रिय प्रतियोगिताका लागि अहिलेबाटै तयारी सुरु गर्नुपर्छ । दशौँ राष्ट्रिय खेलकुद कर्णालीका लागि परीक्षा पनि हो र अवसर पनि । पदकविहीन अवस्थाले निराशा जन्माए पनि यसलाई सुधारको आधार बनाउन सकिन्छ । घरेलु मैदानमा कमजोर प्रदर्शनको पीडालाई खेलकुद विकासको संकल्पमा बदल्न सके मात्रै कर्णालीले आगामी दिनमा राष्ट्रिय खेलकुदमा आफ्नो पहिचान स्थापित गर्न सक्नेछ । पदक जित्ने लक्ष्यभन्दा पहिले सक्षम खेलाडी तयार पार्ने प्रणाली निर्माण गर्नु नै प्रदेशको प्राथमिकता हुनुपर्छ ।

प्रकाशित मितिः   ११ मंसिर २०८३, शुक्रबार १२:१३