दशौँ राष्ट्रिय खेलकुद: पाँच टिम पदकविहीन
सुर्खेत: दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तेस्रो दिनका खेलहरू सकिँदा पनि कर्णालीले अपेक्षाकृत प्रदर्शन गर्न सकेको छैन । कर्णाली प्रदेशसहित पाँच टिम अहिलेसम्म प्रतियोगितामा पदकविहीन छन् ।
बागमती प्रदेश १६ वटा स्वर्णपदकसहित शीर्ष स्थानमा छ भने नौ स्वर्ण जितेको एनआरएनए दोस्रो स्थानमा छ । नेपाल आर्मी ६ स्वर्णसहित तेस्रो हुँदा नेपाल पुलिस चार स्वर्ण जितेर चौथो स्थानमा छ । त्यसबाहेक कोशी प्रदेशले दुई र सुदूरपश्चिम प्रदेशले एक स्वर्णपदक जितेका छन् । एपीएफ क्लब, गण्डकी प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र मधेस प्रदेश भने तेस्रो दिनसम्म पनि पदकविहीन नै छन् ।
अन्य खेलहरूमा निराशाजनक प्रदर्शन गरेको कर्णालीले क्रिकेटमा जित निकालेको छ । पुरुषतर्फको क्रिकेटमा पहिलो जित हात पारेको हो । बिहीवार कालुन्चोक मैदानमा कर्णालीका विपिन रावल चम्किदा सुदूरपश्चिमलाई ६ विकेटको फराकिलो अन्तरले पराजित गर्दै कर्णालीले घरेलु दर्शकलाई पहिलो खुशी दिएको हो ।
अन्य खेलहरूमा निराशाजनक प्रदर्शन गरेको कर्णालीले क्रिकेटमा जित निकालेको छ । पुरुषतर्फको क्रिकेटमा पहिलो जित हात पारेको हो । बिहीवार कालुन्चोक मैदानमा कर्णालीका विपिन रावल चम्किदा सुदूरपश्चिमलाई ६ विकेटको फराकिलो अन्तरले पराजित गर्दै कर्णालीले घरेलु दर्शकलाई पहिलो खुसी दिएको हो । एक सय २८ रनको लक्ष्य पछ्याएको कर्णालीलाई जिताउन विपिनले ३५ बलमा ६० रनको योगदान दिए । कर्णालीले १३ ओभर ३ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । ओपनर दिनेश रावत गोल्डेन डक भएपछि केही धर्मराएको कर्णालीका लागि दिनेश अधिकारीले १५ र मनिष थापा तथा कप्तान रविन्द्रजंग शाहीले समान १३–१३ रन जोडेका थिए ।
महिला बास्केटबलतर्फका ८ टिम क्वाटरफाइनलमा प्रवेश गरेका छन् । फूल कोर्ट (५×५) तर्फ ४ तथा (३×३) विधाका ४ गरी ८ टिम क्वाटरफाइनलमा प्रवेश गरेको राष्ट्रिय बास्केटबलका सिनियर रेफ्रि राजेश महर्जनले बताए । उनका अनुसार फूलकोट (५×५) तर्फ सशस्त्र प्रहरी बल (एपिएफ) र गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश र लुम्बीनी प्रदेश, कोशी प्रदेश र नेपाल पुलिस र नेपाल आर्मी र बागमति प्रदेश रहेका छन् । यस्तै, (३×३) विधातर्फ नेपाल आर्मी र गण्डकी प्रदेश, बागमति प्रदेश र लुम्बीनी प्रदेश, सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरी बल (एपिएफ) क्लब र नेपाल पुलिस र कर्णाली प्रदेश रहेका छन् । दुई टिम भने प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएका छन् । फूल कोर्ट (५×५) बाट कर्णाली प्रदेश र मधेश प्रदेश तथा (३×३) विधामा कोशी प्रदेश र मधेश प्रदेश बाहिरिएको रेफ्रि महर्जनले जानकारी दिए ।
महिला क्रिकेटतर्फ लुम्बिनी प्रदेश समूह चरणबाटै बाहिरिएको छ । आफ्नो दोस्रो खेलमा मधेश प्रदेशसँग पराजित हुँदै लुम्बिनी प्रतियोगीताबाट बाहिरिएको हो ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जिम्न्यास्टिक खेलका प्रारम्भिक चरणका प्रतिस्पर्धा बिहीवारदेखि सुरु भएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरको मिनी कभर्ड हलमा जिम्न्यास्टिकका विभिन्न विधामा प्रारम्भिक चरणका प्रतिस्पर्धा सुरु भएका हुन् ।
प्रतियोगितामा महिला तथा पुरुष खेलाडीहरूले आफ्नो सन्तुलन, लचकता र शारीरिक क्षमताको प्रदर्शन गर्दै फ्लोर एक्सरसाइज, भल्ट र बार्सलगायतका विधामा प्रतिस्पर्धा गरिरहेका छन् । जिम्न्यास्टिकका मुख्य प्रशिक्षक सुदेशसागर जोशीका अनुसार प्रारम्भिक चरणमा महिलातर्फ ४२ जना र पुरुषतर्फ ४८ जना गरी कुल ९० जना खेलाडी सहभागी छन् । उनका अनुसार प्रतियोगिता तीन चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा कम्पिटिसन–१, दोस्रो चरणमा कम्पिटिसन–२ (अलराउन्ड) र अन्तिम चरणमा कम्पिटिसन–३ (एपरेटस फाइनल) प्रतियोगिता सञ्चालन गरिनेछ । प्रतियोगितामा सुदूरपश्चिम, कर्णाली, बागमती, लुम्बिनी, गण्डकी, कोशी प्रदेशका साथै विभागीय टोली नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाली सेनाले सहभागी छन् । कर्णाली प्रदेशका तर्फबाट भने एक जना पुरुष खेलाडीले मात्र व्यक्तिगत विधामा प्रतिस्पर्धा गरिरहेको जनाइएको छ ।
प्रकाशित मितिः ११ मंसिर २०८३, शुक्रबार १२:१२

साझा बिसौनी ।