म्याद थपेको थप्यै, काम सकिने टुँगो छैन

पछिल्लो पटक २०८३ असारसम्मका लागि म्याद थपिएको थियो । उक्त थपिएको म्यादमा पनि काम हुन सकेन अहिले पुनः म्याद थपका लागि फाइल पेस गरिएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतले जनाएको छ ।

सुर्खेत: सम्झौताअनुसार बड्डीचौर–खम्बागाडे खण्डको साढे १२ किलोमिटर सडक २०८१ असार १५ मा निर्माण सकिनुपर्ने हो । तर पश्चिम सुर्खेतमा निर्माणाधीन मदन भण्डारी राजमार्गअन्तर्गतको यो खण्ड निर्माणको काम निकै सुस्त गतिमा भइरहेको छ ।

हालसम्म ४० प्रतिशत भौतिक प्रगति भएको छ । उक्त सडक खण्डको साढे १२ किलोमिटरमा सडक निर्माणको काम भइरहेको हो । यो सडक खण्डका लागि प्रदेश सरकारले ४२ करोड बजेट विनियोजन गरेको छ । उक्त खण्डमा अनक जयदेवी जेभी बाँकेले ४२ करोड ४७ लाख ६१ हजार रूपैयाँमा प्रदेश सरकारको पूर्वाधार विकास निर्देशनालयसँग सम्झौता गरेको हो । २०७९ देखि काम सुरु भएको उक्त खण्डमा २०८१ असार १५ गतेसम्म काम सम्पन्न गर्नुपर्ने भएपनि काम अझै अधुरै छ । अहिले म्याद थपका लागि फाइल भौतिक मन्त्रालयमा पेस गरिएको छ ।

पछिल्लो पटक २०८३ असारसम्मका लागि म्याद थपिएको थियो । उक्त थपिएको म्यादमा पनि काम हुन सकेन अहिले पुनः म्याद थपका लागि फाइल पेस गरिएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतले जनाएको छ । २०८४ जेठसम्मका लागि म्याद थपको फाइल भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा पेस गरिएको निर्देशनालयका सूचना अधिकारी इन्जिनियर वीरेन्द्रजंग शाहीले बताए । प्रक्रियागत ढिलाइसँगै ठेकदार कम्पनीको गम्भीर लापरबाहीका कारण काम लक्ष्य अनुरूप हुन नसकेको हो । अहिले भने काम धमाधम भइरहेको जनाइएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत पश्चिम सुर्खेतका चार खण्डमा काम भइरहेको छ । ६० किलोमिटरको सडकलाई चार खण्डमा विभाजन गरेर निर्माण थालिएको छ । यसअघि ४५ किलोमिटर सडकलाई तीन खण्डमा विभाजन गरेर काम भइरहेको थियो । हालै १६ किलोमिटर खण्डमा काम गर्नेगरी ठेक्का सम्झौता गरिएको छ ।

यस्तै, विद्यापुर–बल्दे सडक खण्डको काम अन्तिम चरणमा पुगेको छ । पश्चिम क्षेत्रका चार खण्डमध्ये यो तेस्रो खण्ड हो । २२ किलोमिटर सडक खण्ड निर्माणका लागि एक अर्ब २१ करोड रूपैयाँमा काम सम्पन्न गर्नेगरी बानियाँ मोतिदान डि.एस. जेभी काठमाडौंले ठेक्का सम्झौता गरेको छ । सम्झौताअनुसार २०७९ फागुन १७ गतेदेखि सुरु भएको काम २०८२ फागुन १६ गतेसम्म सम्पन्न गरिसक्नुपर्नेभए पनि अहिले म्याद थप गरेर काम भइरहेको छ । उक्त खण्डको काम ९० प्रतिशत सकिएको मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतका प्रमुख शंकर पौडेलले बताए । पछिल्लो पटक २०८३ फागुनसम्म काम सक्नेगरी म्याद थपिएको छ । थपिएको म्याद अगावै काम सम्पन्न हुने पौडेलले बताए । अब १० प्रतिशत मात्र काम बाँकी छ । राजमार्गअन्तर्गत बल्दे–लगामसम्मको काम पनि भइरहेको छ । उक्त खण्डमा विवाद हुँदा सुस्त गतिमा मात्र काम भइरहेको हो । २०८१ भदौमा ठेक्का सम्झौता गरेर काम सुरु गरिएको थियो । सम्झौताअनुसार २०८४ भदौसम्ममा काम सक्नुपर्नेछ । अहिले उक्त खण्डको ४५ प्रतिशत मात्र काम भएको योजना कार्यालय सुर्खेतका प्रमुख शंकर पौडेलले जानकारी दिए । एक अर्बमा ठेक्का सम्झौता भइ काम अघि बढेको छ । उक्त खण्डको दश किलोमिटरमा काम हुनेछ ।

मदन भण्डारी राजमार्ग खण्डअन्तर्गत लगाम– धनरास–धामिसैन खण्डको कामका लागि नयाँ ठेक्का सम्झौता भएको छ । मदन भण्डारी आयोजना निर्देशनालय र महालक्ष्मी÷ब्राइट मल्टि जेभीबीच ठेक्का सम्झौता गरिएको हो । १६.५२ किलोमिटर सडक कालोपत्रेका लागि एक अर्ब ३० करोडमा ठेक्का सम्झौता भएको हो । २०८३ कार्तिकदेखि २०८६ कार्तिकसम्म काम सक्नेगरी सम्झौता भएको मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतले जनाएको छ । ठेक्का सम्झौता भइ केही दिनमा काम सुरु हुने प्रमुख शंकर पौडेलले बताए । मदन भण्डारी राजमार्ग पश्चिम खण्डमा पाँच वटा मोटरेवल पुलका लागि नयाँ ठेक्का सम्झौता गरिएको छ ।

प्रकाशित मितिः   ३ मंसिर २०८३, बिहीबार १७:२९