अवसरसँगै चुनौती
दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नजिकिँदै जाँदा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा चहलपहल बढेको छ । प्रतियोगिताको तयारीसँगै प्रदेशभर खेलकुदको माहोल सिर्जना हुन थालेको छ । लामो समयदेखि प्रतिक्षामा रहेको राष्ट्रिय खेलकुद प्रतियोगिता यसपटक कर्णालीमा आयोजना हुनु आफैंमा महङ्खवपूर्ण अवसर हो । यो केवल खेलाडीको प्रतिस्पर्धा र पदक प्राप्तिको विषय मात्र होइन, कर्णालीको पहिचान, पूर्वाधार, पर्यटन, आतिथ्य सत्कार र व्यवस्थापकीय क्षमताको परीक्षणसमेत हो । त्यसैले प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्नु कर्णालीका लागि प्रतिष्ठाको विषय बनेको छ ।
राष्ट्रिय खेलकुद परिषद्ले यसअघि पटक–पटक प्रतियोगिताको मिति सारेको पृष्ठभूमिमा यसपटक निर्धारित मिति मंसिर १६ देखि २७ गतेसम्म प्रतियोगिता सञ्चालन हुने तयारी भइरहेको छ । प्रदेश खेलकुद विकास परिषद्ले आवास, यातायात, सुरक्षा, स्वास्थ्य र खेलस्थल व्यवस्थापनका काम अघि बढाएको जनाएको छ । सुर्खेतमा रहेका होटल तथा अन्य जिल्लाका आवास सुविधालाई समेत उपयोग गर्ने योजना बनाइएको छ । विभिन्न जिल्लामा खेल सञ्चालन गर्ने तयारी पनि भइरहेको छ । यी प्रयास सकारात्मक छन् । तर तयारी पूरा भएको दाबी गर्नु र व्यवहारमा हजारौं खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा दर्शकलाई सहज रूपमा सेवा दिन सक्नु फरक विषय हुन् । त्यसैले अन्तिम समयसम्म पनि तयारीको सूक्ष्म अनुगमन र समन्वय आवश्यक छ । प्रतियोगिताको उद्घाटनका क्रममा मात्रै करिब ६ हजारदेखि १० हजार जनासम्मको व्यवस्थापन गर्नुपर्ने अनुमान गरिएको छ । सुर्खेत उपत्यकामा पाँचदेखि छ हजार व्यक्तिसम्मका लागि आवास व्यवस्थापन गर्न सकिने दाबी गरिएको छ । यस्तो अवस्थामा होटलको संख्या गनेर मात्रै आवास व्यवस्थापन पर्याप्त भएको निष्कर्ष निकाल्न मिल्दैन । होटलको वास्तविक क्षमता, कोठाको उपलब्धता, सरसफाइ, खानेपानी, शौचालय, खानाको गुणस्तर र सेवाको मूल्यसमेत सुनिश्चित गर्नुपर्छ । प्रतियोगिताको अवसरमा होटल तथा अन्य व्यवसायले अस्वाभाविक मूल्य वृद्धि गर्ने अवस्था आउन नदिन पनि सम्बन्धित निकायले ध्यान दिनुपर्छ । खेलाडी र आगन्तुकले कर्णालीमा पाउने व्यवहारले नै यस क्षेत्रको आतिथ्य संस्कृतिको छवि निर्माण गर्नेछ ।
प्रतियोगिता सुर्खेतमा मात्र सीमित नराखी दैलेख, कालीकोट, जुम्ला, हुम्ला, मुगु, रुकुम पश्चिमलगायतका जिल्लामा पनि विभिन्न खेल सञ्चालन गर्ने तयारी हुनु सकारात्मक पक्ष हो । यसले राष्ट्रिय खेलकुदको अवसरलाई प्रदेशका अन्य जिल्लासम्म विस्तार गर्नेछ । खेलकुदका माध्यमबाट स्थानीय अर्थतन्त्र चलायमान बनाउने, होटल तथा पर्यटन व्यवसायलाई प्रोत्साहन गर्ने र सम्बन्धित जिल्लाको पहिचान राष्ट्रियस्तरमा पु¥याउने सम्भावना छ । तर हिमाली जिल्लाको भौगोलिक अवस्था, मौसम, सडक पहुँच र उचाइका कारण प्रतियोगिता सञ्चालनमा चुनौती आउन सक्छ । त्यसैले निर्धारित खेलस्थलमा समस्या देखिए वैकल्पिक स्थलको व्यवस्था, खेलाडीको स्वास्थ्य सुरक्षा र समयमै यातायातको प्रबन्ध अनिवार्य छ ।
प्रकाशित मितिः ३ मंसिर २०८३, बिहीबार १७:३०
सम्पादकीय ।