कर्णालीका हिमतालबारे अध्ययन गरिने

सुर्खेत: कर्णाली प्रदेश सरकारले हिमतालबारे अध्ययन गर्ने भएको छ । अहिले हिमाली जिल्ला डोल्पा, मुगुलगायतका जिल्लाहरूमा नयाँ–नयाँ हिमताल फेला परेका छन् । पछिल्लो समय जलवायु परिवर्तनको असरले हिमताल पग्लिने क्रम बढ्दो छ । हिमतालबारे अध्ययन गर्ने योजना निर्माण गरिएको प्रदेश सरकारले जनाएको छ ।

सम्भावित हिमतालबाट हुन सक्ने जोखिम न्यूनीकरण गर्न हिमालमा पर्ने हिमतालको प्राविधिक टोली खटाएर अध्ययन गराउने योजना बनाएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । यस विषयमा संघीय सरकारसँग समेत पहल गरिनेछ । संघीय सरकारले समेत कर्णालीका हिमतालको बारेमा थप अध्ययन अघि बढाइने जनाएको छ । नेपाल र चीनको सीमाक्षेत्र अन्तर्गत चिनियाँ भूभागमा पर्ने पाँच वटा हिमतालबारे प्राविधिक टोलीद्वारा छलफल कार्यक्रममा समेत यस विषयले प्राथमिकता पाएको छ । त्यसमा हुम्ला जिल्लाको हिल्सा, किटलगायतका क्षेत्रमा हिमतालले क्षति पु¥याउन सक्ने कारणबारे छलफल भएको थियो । हिमतालबारे प्राविधिक अध्ययन गरिने प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । आवश्यक लगानी जुटाएर हिमतालको अध्ययन गरिने मन्त्रालयका सचिव अजित कुमार कर्णले बताए । कर्णाली प्रदेशमा हितालबाट हुनसक्ने जोखिम, जलवायु परिवर्तन पार्न सक्ने असरलगायतका विषयमा कार्ययोजना निर्माण गरेर काम अघि बढाइने उनले बताए । रसुवा बाढीबाट पाठ सिक्दै प्रदेश सरकारले हुनसक्ने विपत्तिको सामना गर्न योजना निर्माण गर्न लागेको हो । कर्णालीका हिमाली जिल्लाहरूमा पछिल्लो समय नयाँ–नयाँ हिमताल फेला परेका छन् । प्रदेश सरकारले नयाँ तथा पुराना हिमतालको अध्ययन गर्न लागेको छ ।

यस्तै, स्थानीय सरकारले समेत ताल संरक्षण योजनालाई प्राथमिकतामा राखेका छन् । डोल्पाका स्थानीय सरकारले ताल खोजीलाई तीव्रता दिएका हुन् । पर्यटन प्रवद्र्धन र आन्तरिक आयस्रोत वृद्धि गर्नका लागि पालिकाभित्र रहेका नयाँ ताल र प्राकृतिक सम्पदाको खोजीमा लागेका हुन् । डोल्पो बुद्ध गाउँपालिकाले अघिल्लो वर्ष मात्र नयाँ ताल फेला पारेको छ । पाँच हजार एक सय ९० मिटर उचाइमा नयाँ ताल फेला परेको गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले जनाए । समुद्र सतहदेखि चार हजार एक सय मिटर उचाइमा रहेको डोल्पो बुद्ध गाउँपालिका वडा नं. ६ फालगाउँको हिमालमा नयाँ तालको रूपमा स्थानीयले कुन्ख्येन फालक ताल पहिचान गरेका हुन् । स्थानीयले नै तालको नामाकरण गरेका छन् । विशेष खोज र अनुसन्धानको अभावमा धेरै ताल भएपनि पहिचान र संरक्षण हुन नसकेको पालिकाले जनाएको छ । आन्तरिक आम्दानीको स्रोत बढाउने उद्देश्यले डोल्पो बुद्धले हिमतालको खोजी गर्ने योजना अघि सारेको थियो । पर्यटकीय सम्पदाहरूको खोजी, पहिचान र प्रचारमार्फत पर्यटक भिœयाउने र पालिकाको आन्तरिक आम्दानी वृद्धि गर्ने लक्ष्य रहेको अध्यक्ष गुरुङले बताए । पहिचान हुन नसक्दा थुप्रै पर्यटकीय सम्पदाहरू आझेलमा परेको उनी बताउँछन् ।

डोल्पाकै छार्काताङसोङ गाउँपालिकामा पनि नयाँ ताल भेटिएको छ । सबैभन्दा अग्लो स्थानमा भेटिएको भनिएको नयाँ ताल छार्कताङसोङ गाउँपालिका वडा नं. १ स्थित उच्च मानव बसोवास भएको छार्कभोटमा युवाहरूले पहिचान गरेका हुन् । एकपछि अर्को गरेर ताल फेला पर्दै जानुले डोल्पा ताल तलैयाहरूको भण्डार मानिएको छ । छार्कभोटमा युवाहरूले चार दिन लगाएर तालको सर्वेक्षण गरेका थिए । सर्वेक्षणको क्रममा पङभोर नामले चिनिने तालको उचाई हालसम्मकै सबैभन्दा अग्लो रहेको दाबी गरिएको छ । पङभोर तालको उचाई समुन्द्र सतहदेखि पाँच हजार पाँच सय ५० दशमलव नौ मिटरको उच्चाईमा रहेको बताइएको छ ।

यसअघि नै डोल्पामा रहेको शे–फोक्सुण्डो तालले विश्व पहिचान कमाएको छ । डोल्पामा फेरि नयाँ ताल भेटिने क्रम जारी छ । शे–फोक्सुण्डो गाउँपालिका वडा नं. ८ मा पर्ने फोक्सुण्डो तालमा पर्यटकको संख्या दिनप्रतिदिन वृद्धि भइरहेको छ । गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङ भएका तालको संरक्षण र नयाँ तालको खोजीमा पालिका लागि परेको बताउँछन् । उनका अनुसार नामाकरण हुन बाँकी रहेका ५÷६ वटा ताल रहेका छन् । संघीय सरकारले यसको खोज अनुसन्धान र संरक्षण गर्नुपर्ने उनको भनाइ छ । जति धेरै तालहरू भेटिए पनि उच्च स्थानमा रहेको भन्ने प्रमाणित भने सरकारको आधिकारिक निकायले गर्नुपर्ने भएकोले तत्काल यस्ता तालको मापन तथा सर्वेक्षण गरी आधिकारिकता दिन सरकार गम्भीर हुनुपर्ने गाउँपालिकाले जनाएको छ ।

प्रदेश सरकारले हिमाली क्षेत्रमा पछिल्लो समय पत्ता लागेका नयाँ तालको प्रमाणित गर्ने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले नयाँ तालतलैया भेटिनु खुसीको कुरा भएको बताइन् । स्थानीय सरकारसँग समन्वय गरेर प्राविधिक टोलीले नयाँ तालको नापजाँच गर्नेगरी योजना बनाएको उनको भनाइ छ । नयाँ तालको खोजी र भेटिएका तालको संरक्षण गरिने खड्काले जनाइन् । उनले भनिन्, ‘पर्यटकीय क्षेत्रहरूको सम्भावनाको खोजीमा प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गर्नेछ ।’ आवश्यक बजेटको व्यवस्था गरेर ताल तलैया संरक्षणका कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ । अहिले तालहरूको अध्ययन र नयाँ तालको नामाकरण गर्नेगरी योजना निर्माण भइरहेको उनको भनाइ छ ।

प्रकाशित मितिः   ११ आश्विन २०८३, आईतवार ०५:०५