सम्भावनाको देश, अवसर खोजिरहेको पर्यटन
आज सेप्टेम्बर २७, अर्थात् विश्व पर्यटन दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरेर यो दिवस मनाइँदैछ । पर्यटनको सम्भावना, यसको आर्थिक तथा सामाजिक महत्त्व र पर्यटनमार्फत् समृद्धिको बहस गर्ने दिनका रूपमा विश्व पर्यटन दिवसलाई लिइन्छ । तर पर्यटनको अपार सम्भावना बोकेको नेपालमा यो दिवस मनाइरहँदा पर्यटन क्षेत्र भने अपेक्षित रूपमा उल्लासमय देखिँदैन । पर्यटनका दृष्टिले नेपालसँग संसारलाई आकर्षित गर्न सक्ने प्राकृतिक, साँस्कृतिक, धार्मिक र ऐतिहासिक सम्पदा प्रशस्त छन् तर ती सम्भावनालाई व्यवस्थित पर्यटन उत्पादनमा रूपान्तरण गर्न भने हामी अझै संघर्षरत छौँ ।
पर्यटन केवल घुमफिरको विषय होइन । यसले रोजगारी सिर्जना गर्छ, स्थानीय उत्पादनको बजार विस्तार गर्छ, संस्कृति र सम्पदाको संरक्षणमा योगदान पुर्याउँछ र विभिन्न समुदाय तथा मुलुकबीच सम्बन्ध स्थापित गर्छ । त्यसैले पर्यटनलाई आर्थिक विकाससँगै सामाजिक तथा सांस्कृतिक विकासको माध्यमका रूपमा पनि हेरिन्छ ।
नेपाल पर्यटन बोर्डको भूमिका
विश्व पर्यटन दिवस मनाइरहँदा नेपालको पर्यटन प्रर्वद्धनको जिम्मेवारी बोकेको नेपाल पर्यटन बोर्डको भूमिकामाथि पनि गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको छ । नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा चिनाउने, पर्यटक आकर्षित गर्ने तथा पर्यटन क्षेत्रको विकासमा सरकार र निजी क्षेत्रबीच समन्वय गर्ने उद्देश्यले स्थापना भएको बोर्ड अहिले आफ्नो मूल उद्देश्यअनुसार कति प्रभावकारी ढंगले अघि बढिरहेको छ भन्ने प्रश्न उठ्न थालेको छ ।
नेपालसँग पर्यटनका लागि आवश्यक प्राकृतिक, साँस्कृतिक, धार्मिक र ऐतिहासिक सम्पदाको कमी छैन । कन्चनजङ्घादेखी हुम्ला, सगरमाथादेखि लुम्बिनी, मुस्ताङदेखि फोक्सुण्डो, रारादेखि खप्तडसम्म नेपालका गन्तव्यको सूची लामो छ । तर यी सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा पुर्याउने, नयाँ बजार पहिचान गर्ने र पर्यटकको बसाइ तथा खर्च बढाउने रणनीतिमा अझै सुधार आवश्यक देखिन्छ ।
नेपाल पर्यटन बोर्डको सबैभन्दा बढी आलोचना विदेशमा हुने पर्यटन मेला तथा प्रर्वद्धनात्मक कार्यक्रममा देखिने सहभागितालाई लिएर हुने गरेको छ । यस्ता अन्तर्राष्ट्रिय कार्यक्रममा नेपालको पर्यटन प्रवद्र्धन गर्नु स्वभाविक र आवश्यक हो । तर त्यस्ता कार्यक्रममा सहभागिताको उपलब्धि कति भयो, कति सम्भावित पर्यटक वा व्यावसायिक साझेदारसँग सम्पर्क स्थापित भयो, त्यसको प्रतिफल के आयो भन्ने विषयमा स्पष्ट मूल्यांकन र सार्वजनिक जवाफदेहिता आवश्यक छ ।
विदेशी कार्यक्रमलाई केवल कर्मचारी तथा सरोकारवालाको विदेश भ्रमणको अवसरका रूपमा बुझिने अवस्था सिर्जना हुनु संस्थाकै विश्वसनीयताका लागि चुनौती हो । प्रवद्र्धनका नाममा हुने खर्चको प्रतिफल मापन गर्ने स्पष्ट प्रणाली आवश्यक छ ।
त्यस्तै, पर्यटन बोर्डको भूमिका विदेशमा मात्र सीमित हुनु हुँदैन । नेपालभित्रै नयाँ गन्तव्यको पहिचान, पर्यटन सर्किट निर्माण, आन्तरिक पर्यटन प्रर्वद्धन, डिजिटल प्रचार, स्थानीय तहसँग सहकार्य तथा पर्यटनसम्बन्धी सूचना प्रणाली विकासमा पनि बोर्डले प्रभावकारी भूमिका खेल्न आवश्यक छ । अब नेपाल पर्यटन बोर्डको पुनर्संरचना र कार्यशैलीमा सुधारबारे गम्भीर बहस आवश्यक छ । संस्थाको संरचना, जिम्मेवारी, विज्ञता, खर्च प्रणाली र उपलब्धि मापन गर्ने पद्धतिको पुनरावलोकन गर्नुपर्छ ।
विश्व पर्यटन दिवस केवल पर्यटनको सम्भावनाबारे भाषण गर्ने दिन होइन, पर्यटन प्रवद्र्धन गर्ने संस्थाहरूले आफ्नो कामको समीक्षा गर्ने दिन पनि हो । नेपाल पर्यटन बोर्डले पनि यही अवसरलाई आत्मसमीक्षाको रूपमा लिएर विदेश भ्रमणभन्दा पर्यटन प्रवद्र्धनको परिणामलाई केन्द्रमा राख्ने संस्थाका रूपमा आफूलाई पुनःस्र्थापित गर्नुपर्ने समय आएको छ ।
क्यामरा बोकेर मुलुक छिचोल्दा देखिएको नेपाल
मैले पहिलो पटक तस्विर खिच्ने अवसर २०५३/०५४ सालमा पाएँ । २०५६ सालदेखि निरन्तर क्यामेरासँगको यात्रा अगाडि बढ्यो । त्यसपछि क्यामरा मेरो पेसा मात्र रहेन, देश बुझ्ने माध्यम पनि बन्यो ।
क्यामरा बोकेर नेपालको ७७ जिल्लाको भूगोलमा हिँड्दा मैले एउटा कुरा बारम्बार महशुस गरेको छु, नेपालमा पर्यटनको सम्भावनाको कमी छैन, कमी छ त त्यसलाई चिनाउने, जोड्ने र व्यवस्थित गर्ने प्रयासको ।
हिमालदेखि तराईसम्म, पूर्वदेखि पश्चिमसम्म पुग्दा नेपालको भूगोल मात्र होइन, मानिसको जीवनशैली, संस्कृति, परम्परा र प्रकृतिको विविधता पनि नजिकबाट देख्ने अवसर मिलेको छ । पूर्वको पाथीभार हुँदै सगरमाथाको आधार शिविरदेखि मुस्ताङ, डोल्पा, हुम्ला, रारा, फोक्सुन्डो, खप्तड, बडिमालिका, रामारोशन, कर्णालीका दुर्गम बस्ती हुँदै तराईका साँस्कृतिक तथा धार्मिक क्षेत्रसम्म पुग्दा नेपाल आफैंमा एउटा खुला पर्यटन संग्रहालयजस्तो लाग्छ । यही यात्राले मलाई एउटा कुरा सिकाएको छ, नेपाललाई बुझ्न एउटा सहर वा एउटा गन्तव्य पर्याप्त छैन । नेपाल बुझ्न नेपालभित्रै यात्रा गर्नुपर्छ ।
सगरमाथा मात्रै नेपाल होइन
विश्व पर्यटन बजारमा नेपालको पहिचान बनाउने सबैभन्दा ठूलो आधारमध्ये सगरमाथा हो । सर्वोच्च शिखर सगरमाथाले नेपालको नाम संसारभर पुर्याएको छ । तर नेपालको पर्यटन सगरमाथामा मात्र सीमित छैन ।
रारा पुग्दा नेपालको प्राकृतिक सौन्दर्यको अर्को रूप देखिन्छ । शे–फोक्सुन्डोले हिमाली भूगोलको भव्यता देखाउँछ । मुस्ताङले हिमाली मरुभूमिसँगै प्राचिन संस्कृति र सभ्यताको कथा सुनाउँछ । लिमीले अझै मौलिक जीवनशैलीसँग साक्षात्कार गराउँछ । खप्तड, बडिमालिका र रामारोशनले सुदूरपश्चिमको प्रकृति र आध्यात्मिक पर्यटनको सम्भावना देखाउँछन् ।
सुदूरपश्चिमका खप्तड, बडीमालिका, अपी हिमाल, शुक्लाफाँट, कर्णालीका सिंजा, जुम्ला, रारा, डोल्पा, लुम्बीनका लुम्बिनी, स्वर्गद्वारी, गण्डकीका मनाङ र मुस्ताङ, बागमतीका लाङटाङ तथा जुगल क्षेत्र, मधेशका जनकपुरधाम, कोशीका कञ्चनजंघा र मकालु क्षेत्र, यी सबै गन्तव्यले नेपालको पर्यटनको दायरा कति फराकिलो छ भन्ने देखाउँछन् । तर प्रश्न फेरि उही हो, यी गन्तव्यलाई हामीले पर्यटकका लागि कति सहज, सुरक्षित र आकर्षक बनाएका छौँ ?
पर्यटक भित्र्याउने मात्र होइन, व्यवस्थापनको चुनौती
नेपालमा पर्यटक आए भन्ने तथ्यांक मात्र पर्यटन विकासको पर्याप्त सूचक होइन । पर्यटक कति दिन बसे ? कहाँ पुगे ? कति खर्च गरे ? स्थानीय उत्पादन र सेवामा कति खर्च भयो ? स्थानीय समुदायले कति लाभ पाए ? यस्ता प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छन् ।
काठमाडौं आएर पोखरा, चितवन र सगरमाथा क्षेत्रसम्म पुग्ने पर्यटकको संख्या बढ्नु सकारात्मक पक्ष हो । तर नेपालको पर्यटनको लाभ देशका अन्य भूभाग र समुदायसम्म पनि पुग्न आवश्यक छ । यसका लागि राज्यले के गरिरहेको छ ? त्यो पनि मूल्यांकन गर्न जरुरी छ । एक पटक नेपाल आइसकेको पर्यटक फेरी पनि आउनलाई कस्तो वातावरण बनाइरहेका छौँ, त्यसमा पनि ध्यान दिन जरुरी छ ।
पर्यटनसँग सरोकार राख्ने निकायहरूले पर्यटनको नयाँ गन्तव्य घोषणा गरेर मात्र हुँदैन । त्यहाँ पुग्ने सडक वा हवाई पहुँच, खाने–बस्ने सुविधा, सूचना, सञ्चार, स्वास्थ्य, सुरक्षा, उद्धार, सरसफाइ र स्थानीय गाइडको व्यवस्था पनि आवश्यक हुन्छ । यसतर्फ राज्यले त्यति ध्यान दिएको देखिँदैन । देशका विभिन्न क्षेत्रमा मैले धेरैपटक यात्रा गर्दा यसको प्रत्यक्ष अनुभव गरेको छु । प्रकृतिले दिएको सम्पदा अद्भूत छ तर पूर्वाधार र पहुँचको अभावमा ती गन्तव्य अझै सीमित पर्यटकको पहुँचमा छन् ।
पर्यटनमा स्थानीय नागरिकको भूमिका
पर्यटन विकासको केन्द्रमा स्थानीय नागरिकको सहभागिता आवश्यक छ । जबसम्म स्थानीयले अपनत्व लिदैन, तबसम्म लामो समयसम्म टिक्न गाह्रो हुन्छ । पर्यटक कुनै ठाउँको हिमाल, ताल वा मन्दिर हेर्न मात्र जाँदैन । त्यहाँको संस्कृति, खानपान, जीवनशैली, कथा र मानिससँगको सम्बन्ध पनि यात्राको महत्त्वपूर्ण हिस्सा हुन्छ ।
स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्न सकियो भने यसको प्रत्यक्ष लाभ समुदायमा पुग्छ । स्थानीय खाना, कृषि उत्पादन, हस्तकला, होमस्टे, साँस्कृतिक कार्यक्रम र स्थानीय गाइड सेवा पर्यटनका महत्त्वपूर्ण आधार बन्न सक्छन् । जसले स्थानीयको अपनत्वका साथै दिगो पर्यटन बल पुग्छ । पर्यटन गन्तव्यमा पर्यटक पुग्नु मात्र उपलब्धि होइन, पर्यटकले स्थानीय उत्पादन किनेर फर्कनु पनि पर्यटनको सफलता हो । जसले स्थानीयसँग अपनत्व लिन मद्दत पुग्छ ।
प्रचारको शैली पनि बदलिनुपर्छ
पर्यटन प्रर्वद्धन गर्ने निकायहरूले स्वदेश तथा विदेशमा नेपालको पर्यटन प्रर्वद्धन गर्दा लामो समयदेखि एकै शैलीमा भनेर प्रचार गरिरहेको छ । अब प्रचारसँगै पर्यटकलाई अनुभव बेच्न सक्नुपछ ।
आजको पर्यटक सूचना खोज्छ, भिडियो हेर्छ गन्तव्यको अनुभव हेर्छ र त्यसपछि यात्रा तय गर्ने प्रचलन बढ्दै गएको छ । त्यसैले डिजिटल माध्यम, फोटोग्राफी, भिडियो, सामाजिक सञ्जाल तथा कथा–आधारित पर्यटन प्रचारलाई प्राथमिकता दिनुपर्ने समय आएको छ ।
नेपालका धेरै गन्तव्यको पहिलो परिचय तस्विर र भिडियोबाटै विश्वका पर्यटकसम्म पुग्न सक्छ । फोटोग्राफरका रूपमा देशका विभिन्न भूभागमा पुग्दा मैले यसको शक्ति प्रत्यक्ष अनुभव गरेको छु । एउटा राम्रो तस्विरले कहिलेकाहीँ लामो प्रचार सामग्रीभन्दा धेरै प्रभाव पार्न सक्छ । त्यसैले पर्यटन प्रवद्र्धनमा गुणस्तरीय दृश्य सामग्रीको भूमिका अझ बढाउन आवश्यक छ ।
देश घुम्ने संस्कार पनि पर्यटन हो
पर्यटनलाई विदेशी पर्यटकसँग मात्र जोडेर हेर्नु हुँदैन । नेपालका नागरिकले आफ्नै देशका गन्तव्य चिन्नु पनि पर्यटन विकासकै आधार हो । एउटा नेपालीले रारा नदेखेको हुन सक्छ, अर्कोले खप्तड नपुगेको हुन सक्छ, कसैले मुस्ताङ नदेखेको हुन सक्छ भने कसैले लुम्बिनी वा जनकपुर नपुगेको हुन सक्छ । आफ्नै देशको भूगोल, इतिहास, संस्कृति र मानिसलाई बुझ्ने यात्राले राष्ट्रिय एकताको भावना पनि बलियो बनाउन सक्छ । त्यसैले मैले लामो समयदेखि विभिन्न माध्यम तथा समाजीक सञ्जालमा भन्दै आएको छु,
देश घुमौँ, देश बुझौँ
बुझौँ देश र देशबासीलाई
यो केवल पर्यटनको नारा होइन, नेपाललाई बुझ्ने एउटा अभियान पनि हो ।
अब गन्तव्य होइन, पर्यटनको प्रणाली बनाउनुपर्छ
नेपालसँग नयाँ गन्तव्यको कमी छैन, कमी छ तिनलाई जोड्ने पर्यटन प्रणालीको, एउटा गन्तव्यबाट अर्को गन्तव्य जोड्ने पर्यटन सर्किट, सहज यातायात, सूचना केन्द्र, डिजिटल म्याप, संकेत चिन्ह, स्थानीय गाइड, गुणस्तरीय आवास, सरसफाइ, सुरक्षा र उद्धार प्रणाली विकास गर्न आवश्यक छ ।
हिमाल, पहाड र तराईलाई छुट्टाछुट्टै पर्यटन क्षेत्रका रूपमा होइन, एकीकृत पर्यटन सर्किटका रूपमा विकास गर्न सकियो भने नेपालमा पर्यटकको बसाइ लम्ब्याउने अवसर सिर्जना हुन सक्छ । त्यसका लागि सरकार मात्र होइन, निजी क्षेत्र, स्थानीय तह, पर्यटन व्यवसायी, सञ्चार क्षेत्र, फोटोग्राफर, लेखक र स्थानीय समुदायबीच सहकार्य आवश्यक छ ।
अब विश्व पर्यटन दिवसको अर्थ
विश्व पर्यटन दिवसमा कार्यक्रम आयोजना गर्ने, शुभकामना आदानप्रदान गर्ने र पर्यटनका सम्भावनाबारे भाषण गर्ने परम्परा पुरानो भइसक्यो । अब भने दिवसले हामीलाई प्रश्न गर्नुपर्छ, नेपालको पर्यटनले स्थानीय नागरिकको जीवनमा के परिवर्तन ल्यायो ? दुर्गम गन्तव्यमा पर्यटन किन पुग्न सकेन ? पर्यटकको बसाइ किन छोटो छ ? हाम्रो पर्यटन पूर्वाधार कति पर्यटकमैत्री छ ? र पर्यटनबाट प्राप्त लाभ कति व्यापक रूपमा वितरण भइरहेको छ ?
नेपालसँग विश्वलाई आकर्षित गर्ने सम्पदा छ, प्रकृतिले दिएको सौन्दर्य छ, संस्कृति छ, इतिहास छ, हिमाल छ, वन्यजन्तु छ, नदी, ताल, झरना र जैविक विविधता छ । सबैभन्दा ठूलो कुरा, विविधताबीच बाँचिरहेको नेपाली समाजको मौलिकता छ । अब आवश्यक छ, ती सम्भावनालाई योजनाबद्ध, दिगो र स्थानीय समुदायको सहभागितामा पर्यटन उत्पादनमा बदल्नु हो ।
विश्व पर्यटन दिवसको अवसरमा नेपालको पर्यटन क्षेत्रले केवल पर्यटकको संख्या गन्ने होइन, पर्यटनले नेपाली समाज र अर्थतन्त्रमा पु¥याएको वास्तविक योगदान मापन गर्ने संस्कार पनि विकास गर्नुपर्छ । आफ्नो देशलाई राम्रोसँग चिनेपछि मात्र त्यसको सम्भावनालाई संसारसामु सही ढंगले चिनाउन सकिन्छ, त्यही भएर,
देश घुमौँ, देश बुझौँ
बुझौँ देश र देशबासीलाई
(लेखक तथा फोटोग्राफर भरतबन्धु थापा पर्यटन प्रर्वद्धन समिति कर्णाली प्रदेश सरकारको विज्ञ सदस्य हुन् ।)
प्रकाशित मितिः ११ आश्विन २०८३, आईतवार ०९:३२




भरत बन्धु थापा ।