पिरोलिरहने बाढी–पहिरो
सुर्खेत: आइतवार रातिको वर्षाले जाजरकोटको नलगाड नगरपालिका–१ र २ को बिचमा पर्ने खोलामा ठूलो बाढी आयो । बाढीले बैरीतालका केही भौतिक संरचनामा क्षति पु¥याएको छ । आधा दर्जन बढी घर तथा अस्थायी टहरा बगाएको छ । यसका साथै बाढीकै कारण भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
वर्षातको समयमा साना तथा ठूला खोला र नदीहरूमा बाढी आइरहन्छन् । कहिले बाढी त कहिले पहिरोले कर्णालीमा भौतिक संरचनाका साथसाथै मानवीय क्षति समेत हुने गरेको छ । यो वर्ष पनि वर्षातको समयमा कर्णालीका विभिन्न जिल्लाहरूमा आएको बाढी र पहिरोले क्षति निम्त्याएको छ । त्यसो त यो विपद् बर्सेनि दोहोरिने गरेको छ ।
केही दिनअघि मात्रै जाजरकोटकै भेरी नगरपालिका–२ स्थित रिसाङ क्षेत्रमा आएको लेदोसहितको पहिरोमा परी तीन जनाको मृत्यु भएको थियो । उक्त पहिरोले दर्जन बढी घरमा क्षति पु¥याएको छ । केही घाइते भए भने कैयौँ परिवार विस्थापित भएका छन् ।
कर्णालीमा बर्सेनि बाढी र पहिरोसहितका विपद्ले क्षति निम्त्याउँछ । यो वर्ष कर्णालीमा सात सय चार वटा विपद्का घटना भएका छन् । प्रदेशभर विपद्का घटनामा २२ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन् । ८५ जना घाइते भएका छन् । यसैगरी प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांक हेर्दा पछिल्ला चार आर्थिक वर्षमा विपद्का घटनाबाट चार सय १९ जनाले ज्यान गुमाएका छन् । यो अवधिमा चार हजार पाँच सय ७९ विपद्का घटना भएका थिए । यरी बर्सेनि विपद्मा पर्ने गरेको कर्णालीलाई वर्षायाममा हुनसक्ने थप विपद् र क्षतिबाट जोगाउन पूर्वतयारी भने पर्याप्त छैन ।
कर्णालीमा छरिएर रहेका बस्ती छन् । सुर्खेत बाहेकका अधिकांश जिल्लाका धेरैजसो बस्ती पहिरोको उच्च जोखिममा छन् । सरकारले प्रत्येक वर्षको नीति तथा कार्यक्रममा विपद्लाई मध्यनजर गर्दै छरिएर रहेका हिमाली क्षेत्र, दुर्गम क्षेत्र र संकटग्रस्त घोषणा भएका कालीकोट, मुगु, जुम्ला र हुम्लाका असुरक्षित तथा जोखिमयुक्त बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने कार्यक्रम गर्ने योजना बनाएको भएपनि प्रभावकारी बन्न सकेको छैन । संघ र प्रदेश सरकारले एकीकृत बस्ती विकास कार्यक्रम कार्यान्वयन गरिरहेका हुन् । यद्यपि, प्राकृतिक विपद्को जोखिमबाट बच्ने पूर्वतयारीमा पर्याप्त ध्यान पुग्न सकेको छैन । जसले बर्सेनि क्षति बेहोर्नुपर्ने बाध्यता छ ।
कर्णालीको भूगोल भिरालो छ । भू–वनोटका कारण बर्सेनि खेतीयोग्य जमिन मासिँदै गएको छ । जथाभावी रूपमा सडक निर्माण गरिँदा अहिले अधिकांश बस्ती जोखिममा परेका छन् । जसलाई नियन्त्रण गर्न प्रदेश सरकारले जल उत्पन्न प्रकोप नियन्त्रण गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । चालु आर्थिक वर्षमा तटबन्धनको कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । जोखिमयुक्त बस्तीहरू संरक्षणका लागि कर्णाली प्रदेश जनता तटबन्धन कार्यक्रमलाई निरन्तरता दिइएको छ । दश वटै जिल्लामा कार्यक्रम कार्यान्वयन गरिने जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले जनाएको छ ।
चालु आर्थिक वर्षमा कार्यक्रम कार्यान्वयनका लागि आठ करोड ८० लाख बजेट विनियोजन गरिएको छ । अति आवश्यक रहेका बस्ती संरक्षणको योजना कार्यान्वयन गरिने मन्त्रालयका सूचना अधिकारी सागर आचार्यले बताए । बर्सेनि रूपमा प्रदेश सरकारले उक्त कार्यक्रम कार्यान्वयन गरिरहेको छ । यो वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिएको हो ।
कर्णाली विपद् जोखिमको हिसाबले उच्च जोखिममा रहेको प्रदेश हो । विशेषगरी सुर्खेत बाहेकका जिल्लाहरू पहिरोको उच्च जोखिममा पर्दछन् भने सुर्खेतमा बाढीको जोखिम हुन्छ । यद्यपि, कर्णाली, भेरी नदी तथा दर्जनौँ खोलानालाहरू भएको हुँदा अन्य जिल्लाहरूमा पनि बाढीको जोखिम पनि उत्तिकै रहन्छ । सरकारले बर्सेनि रूपमा जोखिम न्यूनिकरणका कार्यक्रम कार्यान्वयन गर्दै आएको छ । पर्याप्त बजेट नहुँदा ती कार्यक्रमको प्रभावकारिता न्यून देखिएको छ । सरकारले कम मात्र बजेट विनियोजन गर्ने गरेको छ जसले गर्दा सबै ठाउँमा कार्यक्रमको पहुँच पुग्न सकेको छैन ।
प्रकाशित मितिः ३० भाद्र २०८३, मंगलवार १६:२८

साझा बिसौनी ।