न सास भेटियो न लास

आश मरेपछि अन्तिम संस्कार गर्दै परिवार

सुर्खेत: सशस्त्र प्रहरी बलका वरिष्ठ हवल्दार मोहननाथ योगीका परिवारमा नसोचेको बज्रपात आइप¥यो । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका क्रममा योगी बेपत्ता भए । परिवारले उनको खोजी गरिदिन सबै ठाउँमा आग्रह गरे । तर उनको कुनै पत्तो लागेको छैन ।

दैलेखको दुल्लू नगरपालिका वडा नं. १० निवासी योगी रसुवाको टिमुरे बीओपीअन्तर्गत चीनतर्फको भन्सार नाका जोड्ने मितेरी पुलमा कार्यरत थिए । उनी करिब एक महिनाअघि मात्रै रसुवा पुगेका थिए । ६ महिनाका लागि कार्यक्षेत्रमा खटिएका योगी भदौ १० गते रसुवामा आएको बाढीमा बिलाए । परिवारका अनुसार भदौ १० गते बिहान करिब ९ बजेसम्म योगी श्रीमती सुशीला योगीसँग सम्पर्कमा थिए । त्यसपछि भने उनीसँग कुनै सम्पर्क हुन सकेन । मोबाइल सम्पर्कसमेत हुन नसकेपछि परिवारजनमा थप चिन्ता थपियो । श्रीमती सुशीलाले आफ्नो श्रीमान्को अवस्था तत्काल पत्ता लगाई खोजी गरिदिन सम्बन्धित निकायसँग आग्रह गरिन् । तर पत्ता लागेन । ‘अब त सास र लास भेटिने आश मरिसकेको छ, घरको खम्बा नै ढलेपछि अब हामीले के गर्ने ?’ उनले भनिन्, ‘बेपत्ता श्रीमान् नभेटिएपछि अन्तिम संस्कारको थालेका छौँ ।’

बेपत्ता भएका योगीका परिवारले शव फेला नपरेपछि हिन्दु परम्पराअनुसार अन्तिम संस्कार गर्ने मनसाय बनाएका हुन् । दैलेखको दुल्लू नगरपालिका स्थित घरमा परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गरिरहेका छन् । परिवारले योगीको शव फेला पर्ने आशा विस्तारै गुमाउँदै गएपछि ११आँै दिनमा अन्तिम संस्कार सुरु गरिएको श्रीमती सुशीलाले बताइन् । लामो समयसम्म खोजी गर्दा पनि शव फेला नपरेपछि उनको आत्माको शान्तिका लागि परम्पराअनुसार अन्तिम संस्कार गर्ने निर्णय गरेको उनले सुनाइन् । सरकारको खोज तथा उद्धार प्रक्रियाप्रति समेत योगीको परिवारले असन्तुष्टि व्यक्त गरेको छ । आफ्ना श्रीमान्को अवस्था र खोजीबारे सरकारले पर्याप्त रूपमा सम्बोधन नगरेको सुशीलाको गुनासो छ ।

रसुवाको भोटेकोशी किनारमा आएको भीषण बाढी र पहिरोपछि बेपत्ता भएकाहरूको परिवार यतिबेला गहिरो चिन्ता र आशाका बिच बाँचिरहेका छन् । कोही आफ्ना मान्छे सकुशल भेटिएको खबरले राहतको सास फेरिरहेका छन् भने कोही लगातारको खोजीपछि पनि खबर नपाउँदा निराशाका बिच भौतारि रहेका छन् । बेपत्ता आफन्तका परिवारले सरकारको खोज तथा उद्धार प्रक्रियाप्रति समेत असन्तुष्टि व्यक्त गरेका छन् । आफ्ना आफन्तको अवस्था र खोजीबारे सरकारले पर्याप्त रूपमा सम्बोधन नगरेको उनीहरूको गुनासो छ ।

बाढीमा परेर कर्णाली प्रदेशका दुई जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जयराज सापकोटाले रसुवा बाढीमा दुई जनाको मृत्यु भएको पुष्टी भएको बताए । मृत्यु हुनेमा सल्यानको बागचौर नगरपालिका १०, पिपलनेटाका २० वर्षीया आयुष खड्का र हुम्लाको ताँजाकोट गाउँपालिका २ का ३५ वर्षीया नहकुल शर्मा रहेका छन् । अन्य धेरै बेपत्ता भएको र खोजी जारी रहेको सापकोटाको भनाइ छ ।

भदौ १४ गते शव फेला परेका सल्यानका खड्काको १५ गते सनाखत भएर देवघाटमा दाहसंस्कार गरिएको छ । उनी टिमुरेको प्लान्ट क्वारेन्टाइनमा खरिदार पदमा कार्यरत थिए । उनको शव चितवनको देवघाटमा फेला परेको थियो । हुम्लाका शर्मा रसुवाको भन्सार अधिकृत थिए । भदौ १५ गते गोरखामा शव फेला परेका उनको १६ गते पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो ।

कतिपयले आफन्तको शव फेला नपरेपछि कुशको शव बनाएर दाहसंस्कार गरिसकेका छन् । शनिवार सल्यानमा कुशकै शव बनाएर प्रमिला बुढाथोकीको दाहसंस्कार गरिएको छ । अझै एक सय ६८ जनाको अवस्था अज्ञात रहेको छ । सुरुमा कर्णालीका १० जिल्लाका दुई सय ४८ जना नागरिक बाढीमा परी सम्पर्कविहीन बनेका थिए । पछिल्लो विवरण अनुसार तीमध्ये ७८ जना सम्पर्कका आए । अझै एक सय ६८ जनाको अवस्था अज्ञात रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बेपत्ता हुनेमा एक सय ३४ जना पुरुष, २६ जना महिला र आठ जना बालबालिका छन् ।

प्रहरीकाअनुसार सबैभन्दा धेरै जुम्लाका ६३ जना अझै सम्पर्क बाहिर छन्, जसमा ६१ पुरुष, एक महिला र एक बालक छन् । सल्यानका ३७ पुरुष, ११ महिला र तीन जना बालबालिकाको अवस्था अज्ञात छ । मुगुका ६ जना पुरुष, चार महिला एक बालक, सुर्खेतका १४ पुरुष, एक महिला, दैलेखका चार पुरुष एक महिला, जाजरकोटका दुई पुरुष, रुकुमपश्चिमका तीन पुरुष, तीन महिला र एक बालिकाको अवस्था पनि अज्ञात छ । यस्तै, कालीकोटका तीन पुरुष, दुई महिला, एक बालक, डोल्पाका एक÷एक जना पुरुष, महिला र हुम्लाका तीन जना पुरुष, दुई जना महिला र एक जना बालिका छन् ।

 

प्रकाशित मितिः   २३ भाद्र २०८३, मंगलवार ११:०८